लिमासोल। गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले  भिजिट नेपाल इयर २०२० मनाउने तयारी गरिरहेका बेला पर्यटकहरुको संधै घुइंचो हुने मुलुक साइप्रसबाट नेपालले सिक्नु पर्ने बताएका छन् । “नयाँ पर्यटकीय गन्तव्यहरुको विकास गरी पर्यटकहरुको बसाई लम्ब्याउने तथा उनीहरुले गरेको खर्चबाट स्थानीय समुदाय समेत लाभान्वित हुन सकुन् भन्नेतर्फ हामीले अलि बढी जोड दिनु पर्छ,” उनले भने।

एनआरएन साइप्रसद्वारा आइतबार आफ्नो सम्मानमा आयोजित कार्यक्रममा बोल्दै आचार्यले साइप्रसबाट हामीले सिक्नु पर्ने अर्को विषय भनेको यहांको गुणस्तरीय शिक्षा हो। “साइप्रसले कूल गार्हस्थ्य उत्पादनको ७ प्रतिशत विद्यालय शिक्षामा खर्च गर्दछ। नेपालमा त्यस्तो खर्च कूल गार्हस्थ्य उत्पादनको ५  प्रतिशत जति मात्रै छ। त्यसैले हामीले पनि विद्यालय शिक्षामा लगानी बढाउन जरुरी छ,“ उनले भने।

“साइप्रस अहिले युरोप आउन चाहने नेपालीहरुको आकर्षणको केन्द्र बन्न पुगेको भन्दै आचार्यले  झुठा आश्वासनको भरमा, लाखौं रकम खर्च गरेर यहां आएर अलपत्र परेका कैयौं नेपालीहरुलाई एनसीसीले उद्धार गरेर  फिर्ता पठाउन वा अन्य मुलुक पठाउन सहयोग गरेको छ। यसका लागि म गैर आवासीय नेपाली संघकोतर्फबाट तपाईंहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,” आचार्यले भने।

“तर एउटा एनसीसीलाई मात्रै यस्तो भार पार्नु उपयुक्त नहुने भएकाले विदेशी रोजगारमा जांदा दुख पाएका दाजुभाइ  दिदिबहिनीहरुलाई सहयोग गर्न संघले वैदेशिक रोजगार सहयोग कोष खडा गरेको छ। उक्त कोषलाई अरु व्यवस्थित र अरु ठूलो बनाउन मैले पहल गर्ने विश्वास दिलाउन चाहन्छु।“

कार्यक्रमको सभापतित्व एनआरएन साइप्रसका अध्यक्ष सुवाश मल्लले गरेका थिए। साईप्रस भ्रमणमा रहेका कतारका  आईसीसी सदस्य बिमल सुबेदी, साईप्रसका आईसीसी सदस्य रन्जित महतो लगायतले कार्यक्रममा बोलेका थिए।

एनआरएनको आगामी अधिवेशनमा केन्द्रिय अध्यक्षको लागि उम्मेदवारी दिने बताई सकेका आचार्य सोमबार साइप्रसबाट माल्टा प्रस्थान गरेका छन्। बुधबार न्युयोर्क, बिहिबार टेक्सास डल्लासमा तथा शुक्रबार क्यानाडाको टोरन्टो पुगेर गैर आबासीय नेपालीहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने आफ्नो कार्यक्रम रहेको उनले बताए।

Previous articleएनआरएनए, स्विट्जरल्याण्डकाे निर्वाचन हुँदै (सूचना सहित)
Next articleबैबाहिक जोडीको समर्पणमा सुन्दासले ल्याए “सुरुआत”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here