रोम / कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गैरआवासीय नेपालीहरूको सम्पत्तिमाथिको अधिकारबारे ढुक्क हुन आग्रह गरेका छन् । एनआरएन युरोपेली बैठकमा गैरआवासीय नेपालीहरुको प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिंदै मन्त्री ढकालले यस्तो बताएका हुन्।

उनले पैत्रिक सम्पत्तिमाथि एनआरएनहरुको अधिकार बन्देज नरहेको बताउँदै गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ संशोधन विधेयक तयार गरिरहेको स्पष्टसमेत पारे। विदेश नीति तथा नागरिकता जस्ता विषयमा राष्ट्र एक मत भएर अगाडि बढ्नु पर्नेमा मन्त्री ढकालको जोड थियो।

एनआरएनले विदेशी नागरिकलाई धर्म पुत्र, धर्म पुत्री राख्न सक्ने, अंश र अपुताली प्राप्त गर्न सक्ने, भोग चलन र बिक्री वितरण गर्न सक्ने, बन्धकी दिन पाउने, विदेशी मुद्रामा मुनाफा/लगानी फिर्ता लैजान सकिने, विदेशी नागरिकता लिए पनि छोरा, छोरीले नेपाली नागरिकता लिन पाउने बताए । ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने भावना नमर्ने गरी हामीले कानून निर्माण गर्ने छौं। तपाईंको छोरा छोरी, नाती नातिनालाई कसरी जोड्ने भन्ने मुख्य प्रश्न हो,’ मन्त्री ढकालले भने।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गैरआवासीय नेपालीलाई नागरिकता दिनेबारे आफ्नो पार्टी र सत्तारुढ नेकपाबीच कुनै मतभिन्नता नरहेको बताए। उनले संविधानले तोकेको सीमा भित्रै बसेर गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने काम सहज बनाउन आफ्नो पार्टीले पहल गर्ने बताए ।

संघका  उपाध्यक्ष कुल आचार्यले संसदमा छलफल भै रहदा संसार भरिरहेका गैर आवासीय नेपालीले दुख गरेर नेपालमा जोडेको सम्पत्ति राख्न नपाइने हो कि भन्ने आशंका रहेको जनाए। उनले  तीन पुस्ताको सीमा हटाउन, नेपाली भाषा बोल्न जानु पर्ने भन्ने प्रावधान हटाउन, गृह मन्त्रालय मात्रै नभएर नियोगहरुबाट पनि आवेदन दिन पाउने व्यवस्था गर्न , रातो र निलो पुर्जाको विभेद हटाउन तथा गैर आवासीय नेपाली पासपोर्टको व्यवस्था गर्न माग गरेका थिए ।

‘नेपाली नागरिकताको निरन्तरता’ विषयक सत्रमा संघका प्रमुख संरक्षक रामप्रताप थापा, उपाध्यक्ष कुल आचार्य, डा हेमराज शर्मा, महेश श्रेष्ठ लगायतका वक्ताले बोलेका थिए। दुईदिनसम्म ईटालीमा रोममा चलेको एनआरएनको युरोपेली बैठक आइतबार १७ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

Previous article१७ बुंदे घोषणापत्र जारी गर्दै एनआरएनको युरोप क्षेत्रीय बैठक सम्पन्न
Next articleएनआरएन स्वीट्जरल्याण्डको अध्यक्षमा शिव कुमार सुब्बाले उम्मेदवारी दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here