पुष्पा खनाल
गत शुक्रबार बंगलादेशको ढाका गएको नेपाली स्रष्टाहरुको साहित्यिक टोली नेपाल फर्किएको छ । ढाकामा आयोजित साहित्यिक तथा सांस्कृतिक अन्तरक्रिया कार्यक्रममा सहभागी भएर टोली नेपाल फर्किएको हो ।


नेपाल स्रष्टा समाजलाई बंगलादेश–नेपालफ्रेण्डसीप सोसाइटीले सो कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरेको थियो ।
बंगलादेशका उपसभामुख मो. फैजल रब्बीमियाको प्रमुख आतिथ्यता तथा बंगलादेशका लागि नेपाली राजदूत प्रा. डा. चोपलाल भुसालको विशेष आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।


कार्यक्रममा बंगलादेशका कविहरु मोहम्मद नुराल हुडा, हबिबुल्लाह सेराजी, प्रा. डा. दिलारा हाफिस, रविउल हुसेन, मुस्तफामजिद, अफ्रुजा सुल्तान तथा नेपालका साहित्यकारहरु नगेन्द्रराज शर्मा, मञ्जुुल, सुस्मिता नेपाल, प्रा. डा. कुसुमाकर न्यौपाने, पुष्पा खनाल, मोहन चापागाई, नवराज पुडासैनी तथा सरस्वती शर्मा जिज्ञासु र नेपाली दूतावासका उप–प्रमुख धनबहादुर ओलीले आ–आफ्ना रचनाहरु वाचन गर्नु भएको थियो ।
साहित्य र संस्कृतिको आदान प्रदान मार्फत् नेपाल र बंगलादेशबीच रहेको साहित्यिक, सांस्कृतिक सम्बन्धलाई अझ मजवुद बनाउन कार्यक्रमको आयोजना गरिएको हो । नेपाल र बंगलादेशका यी दुई संस्था बीच दशक लामो साहित्यिक, सांस्कृतिक सम्बन्ध रहि आएको छ ।
कार्यक्रममा नेपाल स्रष्टा समाजका कोषाध्यक्ष, गीतकार पुष्पा खनालको म्युजिक भिडियो “यो आँखाको पानीलाई” सार्वजनिक गरिएको थियो ।
म्युजिक भिडियो सार्वजनिकपछि बोल्दै प्रमुख अतिथि उपसभामुख मो. फैजल रब्बी मियाले सङ्गीत भनेको विश्वव्यापी भाषा भएको बताउँदै सार्वजनिक गरिएको म्युजिक भिडियो मार्फत् व्यक्त भावनाले आफ्नो मन छोएको बताउनु भयो । उहाँले नेपाल र बंगलादेश बीचको वर्षौँदेखिको अटुट सम्बन्धको जगलाई दुई देशको साहित्य र संस्कृतिले बलियो बनाएको पनि उल्लेख गर्नुभयो ।
आफ्ना रचनाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने आफ्नो सपना आज पूरा भएको बताउँदै स्रष्टा पुष्पा खनालले कुनै जात, जाति, भाषा र धर्म तथा राजनीतिक, सामाजिक, सांस्कृतिक आस्था भन्दा पर पनि एउटा सम्बन्ध हुन्छ जसलाई सङ्गीतले मात्र जोड्न सक्छ भन्नुभयो ।
कार्यक्रमका विशेष अतिथि राजदूत चोपलाल भुसालले आफू राजदूत भएर बंगलादेश आउँदा कुनै अनौठो अनुभूति नभएको र यो आफ्नै दोस्रो घर जस्तो लागेको बताउँदै यो सबै भनेको दुई देशबीचको सामाजिक, सांस्कृतिक समानता कारण भएको बताउनुभयो ।
बीसौँ वर्षअघिदेखि यहाँका मानिस र संस्कृतिसँग आफू जोडिएको भन्दै वरिष्ठ कवि मञ्जुलले बंगलादेशी साहित्यकार तथा यहाँका जनताहरु धेरै सहयोगी, मित्रवत् तथा हामीको भावना बोकेर हिँड्ने खालका भएको बताउनुभयो ।
शरीर, अभिव्यक्ति र कविताको बेग्लै भाषा हुने बताउँदै वरिष्ठ कवि, पत्रकार नगेन्द्रराज शर्माले सार्वजनिक गरिएको म्युजिक भिडियो तथा कार्यक्रममा वाचन गरिएका कविताहरु बेग्लै भाषाका भए पनि ती कुराहरु आपसमा बुझ्न कठीन नभएको बताउनुभयो ।
यस्तै नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले दुई देशका जनता बीचको न्यानोपनका कारण नेपाल स्रष्टा समाजको स्थापना अघिदेखि नै बंगलादेशका साहित्यिक संस्थाहरुसँग गाढा सम्बन्ध बनिसकेको बताउनुभयो । एक अर्काका विचार, भावना र अनुभवको आदान प्रदान गर्दै यो सम्बन्धलाई अझ दीगो र फलदायी बनाउन यस्ता कार्यक्रमहरुले सहयोग गरेको पनि बताउनु भयो ।
बंगलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष मो. इम्दादुलहकले कार्यक्रम सफल बनाउन हरतरहले प्रयासरत सोसाइटीका कार्यसमिति सदस्यहरु तथा अन्य सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यसियाटिक सोसाइटीको सभा हलमा बंगलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीले कार्यक्रमको आयोजना गरेको हो ।
चारदिनको भ्रमणको क्रममा टोलीले ढाका विश्वविद्यालय, जहाँगिर विश्वविद्यालय, शहिद मिनार, बंगलादेशको संसद, राष्ट्रिय कवि काजीन जरुल इस्लामको समाधि, ढाकेश्वरी मन्दिर, केन्द्रीय शहिद स्मारक लगायतका महत्वपूर्ण स्थानहरुको अवलोकन भ्रमण गरेको थियो ।
यसैबीच बंगलादेशका लागि नेपाली राजदूतावासले साहित्यिक टोलीको सम्मानमा विशेष साहित्यिक कार्यक्रम र रात्रीभोजको आयोजना गरेको थियो । सो कार्यक्रममा पनि बंगलादेश र नेपालका वरिष्ठ कविहरुले आफ्ना रचनाहरु सुनाउनु भएको थियो ।

Previous articleबिन्दु राईको “सत्य कुरा नभनेर” सार्वजनिक
Next articleमोदीको भ्रमण सफल बनाउन सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री पण्डित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here