काठमाण्डौ – विभिन्न विषयमा सहमति जुट्न नसक्दा कांग्रेस बैठक बस्न सकेन। पार्टी सभापतिको तर्फबाट महामन्त्री शशांक कोइरालाले बनाएको प्रतिवेदनमा पौडेलसहित अन्य पक्ष सहमत नहुँदा शनिबार बैठक बस्न नसकेको हो। शनिबार दिनभर सहमतिका लागि प्रयास भए पनि त्यसो हुन सकेन। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।

गत निर्वाचनमा भएको हारको जिम्मा सभापतिले लिनेबारे अधिकारिक निर्णय नै हुनुपर्ने अडानमा पौडेल पक्ष बसेपछि बैठक बस्न नसकेको कांग्रेस नेताहरूले बताएका छन्। निर्वाचनको हारबारे दुवै पक्षबीच मत बाझिएपछि शनिबार दिउँसोबाटै अनौपचारिक तहमा दुवै पक्षबीच संवाद थालिएको थियो। तर, शनिबार साँझसम्म अनौपचारिक कुराकानी मात्रै जारी रहेका कारण औपचारिक बैठक बस्न नसकेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेताबीच छलफल जारी रहेको र छलफलपछि बैठक बस्ने बताए। ९ चैतमा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार १३ औं बैठक बसी सकिने तयारी थियो। महामन्त्री कोइरालाले आफ्नो धारणा व्यक्त गर्दै निर्णय पेस गर्ने कार्यतालिका थियो। त्यसपछि सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै बैठक सकिने बताइएको थियो।

बैठकले महासमिति भेलाको मिति, त्यसअघि जिल्ला सभापतिहरूको भेलाको मिति, विधान मस्यौदा समिति र निर्वाचन हारको सम्बन्धनमा निर्णय ल्याउने तयारी छ। देउवा पक्ष साउन १५ भित्र महासमिति भेलाको मिति तय गर्ने मनस्थितिमा छन् भने पौडेल पक्षले वैशाखभित्र जिल्ला सभापतिको भेला गरी जेठभित्रै महासमिति भेला गर्न माग गरेको छ। निर्वाचनमा हारको जिम्मा कसले लिने भन्ने विषय पार्टीभित्र पेचिलो बनेको छ। देउवा पक्ष निर्वाचनको हारको कारण वाम एकता भएको भन्दै आइरहेको छ भने पौडेल पक्ष पार्टी सभापतिका रूपमा देउवाले हारको जिम्मा लिनुपर्ने बताइरहेको छ। शनिबारको अन्तिम भनिएको बैठक प्रभावित हुनुको कारण यही हो।

शनिबार दिउँसो पार्टी कार्यालयमै आयोजित मुस्लिम संघको अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले चाँडै पार्टीको महासमिति भेला बस्न लागेको बताएका थिए। कार्यक्रममा नेता पौडेलले कम्युनिस्टलाई देखाएर सभापति देउवाले आफ्नो कमजोरी लुकाउन खोजेको आरोप लगाएका थिए।

Previous articleआर्थिक विकास र सामाजिक एकीकरणको माध्यम पर्यटन : मन्त्रि लम्साल
Next articleअनुसन्धान विभाग कुन मन्त्रालय मातहत राख्नेमा एमाले-माओवादीभित्रै विवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here