काठमाण्डौ – प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ । प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य भवनमा उपयुक्त स्थान खोजिरहेको छ । प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी मन्त्रिपरिषद्को १४ चैतको बैठकले ६ नयाँ महाशाखा थप्ने निर्णय गरेको थियो । शुरोजंग पाण्डेले आजको नयाँ पत्रिकामा खबर लेखेका छन्।

प्रधानमन्त्री कार्यालयमा ५ सचिव रहने गरी ११ वटा महाशाखाअन्तर्गत २ सय ३७ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ । यसअघि प्रधानमन्त्री कार्यालयमा १ सय ९८ जनाको दरबन्दी थियो । सामाजिक विकास तथा रूपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कुटनीति समन्वय महाशाखा, नतिजा व्यवस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा नयाँ थपिएका हुन् । सबै महाशाखाको नेतृत्व सहसचिवले गर्दै छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीकै रुचीमा कार्यालयअन्तर्गत नतिजा व्यवस्थापन महाशाखा बनेको छ । यो महाशाखाले सबै मन्त्रालयले बजेट खर्चअनुसार कस्तो परिणाम दिएका छन् अनुगमन गर्नेछ। शासकीय सुधार महाशाखाअन्तर्गत राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागलाई राख्ने गरी तयारी भइरहेको छ ।
कार्यकक्ष अभाव भएपछि सिंहदरबार पुनर्निर्माण सचिवालयलाई पत्राचार गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए । ‘सचिवालयलाई १६ वटासम्म कोठा उपलब्ध हुने गरी छिटो व्यवस्थापन गरिदिन पत्राचार गरेका छौँ, विभिन्न विकल्पमा छलफल चलिरहेको छ,’ कुँवरले भने, ‘कार्यालय व्यवस्थापन हुन नसकेका कारण सहसचिवज्यूहरूलाई जिम्मेवारी तोकिए पनि दैनिक कामकाज आरम्भ गर्न सक्नुभएको छैन ।’
महाशाखाहरू थपिएसँगै प्रधानमन्त्रीको कार्यकक्ष र क्याबिनेट बैठक हलको मर्मत–सम्भार भएकाले प्रधानमन्त्री केपी ओली दुई साताभन्दा बढी सिंहदरबारस्थित कार्यालय गएनन् । भारत भ्रमणअघिसम्म कार्यालय गएका ओली मर्मत–सम्भार सकिएपछि बिहीबार अपराह्न ३ बजेपछि कार्यालय पुगेका हुन् ।

Previous articleसरकारद्धारा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रमको तयारी
Next articleबिरेन्द्र बियरको स्विट्जरल्याण्डमा चर्चा, बियरको बिक्रीमा प्रतिबन्ध लगाउन नेपाली राजदूतको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here