नेपालको कूटनीतिक क्षेत्रका विज्ञ तथा अन्य विभिन्न क्षेत्रका विशेषज्ञहरुको पहलमा स्थापित कूटनीति र विकास केन्द्र नामक गैर सरकारी संस्थाको विधिवत उद्घाटन भएको छ ।


बुधबार लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित एक विशेष कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री माननीय प्रदिप ज्ञवालीले उक्त केन्द्रको उद्घाटन गरेका हुन् । गत फरबरीमा स्थापना भएको उक्त केन्द्रको उद्घाटन कार्यक्रममा संस्थाको उद्देश्यका बारेमा प्रकाश पार्दै संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत मोहनकृष्ण श्रेष्ठले नेपालको कूटनीतिक क्षेत्रको विकास एवं सर्वांगिण विकासमा केन्द्रले महत्वपूर्ण योगदान दिन सक्ने बताएका थिए ।


उद्घाटन पश्चात् शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले कूटनीतिक क्षेत्रमा तीन दशक भन्दा लामो अनुभव सँगालीसकेका फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको सक्रियतामा अन्य विशिष्ठ व्यक्तित्वहरुको सहभागितामा यस प्रकारको केन्द्र स्थापना हुनु राज्यको लागि राम्रो कार्यको थालनी हो भन्दै यस केन्द्रले देशका लागि थिंक ट्याँकको रुपमा काम गर्न सक्ने बताए । साथै मन्त्री ज्ञवालीले केन्द्रको गतिविधि अगाडि बढाउन मात्र होइन विकास र सम्वर्धन एवं राज्यसँगको केन्द्रको सम्बन्ध विस्तारमा समेत आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।


कार्यक्रममा विभिन्न देशका राजदूत, कूटनीतिक क्षेत्रमा आवद्ध कूटनीतिज्ञ, पूर्व नेपाली राजदूतहरु, राजनीतिज्ञ, व्यापारी व्यवासयी एवं अन्य उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नेपाली राष्ट्रिय गानबाट शुरु भएको उक्त कार्यक्रममा राष्ट्रिय भाव झल्किने खालका नेपाली गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने सोही कार्यक्रममा केन्द्रद्वारा प्रकाशित दि डिप्लोम्याट नामक पत्रिकाको समेत विमोचन गरिएको थियो ।


तोकिएको समयमा शुरु भई तोकिए कै समयमा सकिएको उक्त कार्यक्रम छोटो, मीठो र प्रभावकारी एवं मनोरञ्जनात्मक समेत भएको भन्दै सहभागीहरुले कार्यक्रमको प्रशंशा गरेका थिए ।

 

Previous articleनेपाली जनप्रगतिशील मञ्च यूरोपद्वारा शुभकामना व्यक्त
Next articleफेशन डिजाईनर प्रतियोगिताको फाईनल आज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here