पोखरा – पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक बसन्त थकाली वसन्त रुविना फाउन्डेशनको आयोजनामा पहिलोपटक एकल साँझमा हुने भएको छ । वैशाख १५ गते शनिवारका दिन पोखरा उद्योग वाणिज्य संघको सभाहलमा थकालीको एकल साँझ आयोजना गर्न गईरहेको आयोजक समितिका प्रचारप्रसार संयोजक टंकराज अधिकारीले बताए ।

रत्न रेकर्डिङ संस्थानबाट प्रथमपटक रेकर्ड गरिएको गीत ‘घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ भन्ने गीतबाट आफ्नो साङ्गीतिक यात्रामा आफूलाई अगाडि बढाएका थकालीले उक्त एकल साँझमा आफ्ना करिब एक दर्जन गीत सुनाउने वसन्त रुविना फाउन्डेशनका अध्यक्ष कृष्ण सुवेदीले जानकारी दिए ।

एकल साँझमा थकालीको पहिलो गीत ‘घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ गीतसँगै सुनौली भन्सार, झल्को उही दिनको, कमल फूल फूल्यो हिलैमा, मलाई मेरो तलबले मलाई पुगेन, पहिले माया लाइएन अहिले खोज्दा पाइएन, गाउँघरको झिल्के म त, जोमसोम माथिको ठिनीको गाँउ, अँधेरीमा जुन तारा, बाँचुन्जेल जे छ हजुर लगायतका विभिन्न लोक तथा दोहोरी, रोइला तथा झ्याउरे गीत प्रस्तुत गरिने सुवेदीले बताए ।

कार्यक्रमबाट संकलित रकमले फाउण्डेशन मार्फत सङ्गीत एकेडेमी सञ्चालन गरी यस क्षेत्रमा रुचि भएर पनि आर्थिक अभावका कारण अवसरबाट वञ्चित असहाय बालबालिकालाई सहयोग लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
पोखराको चर्चित साहारा क्लबका संस्थापक अध्यक्ष रहेका थकाली खेल विधाका साथै विभिन्न सामाजिक सङ्घ संस्थामा क्रियाशील छन् ।

Previous articleवैदेशिक रोजगारीमा गएकाको मृत्युको पहिलो कारण आत्महत्या
Next articleनेपाल आइडलको सिजन टु को पोखरा अडिसन वैशाख १४ गते हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here