काठमाण्डौ – विकासमा फड्को मार्ने र ठूला आयोजना कार्यान्वयनका लागि शक्तिशाली विकास आयोजना प्राधिकरण गठन प्रस्तावसहित वाम गठबन्धन सरकारले नीति तथा कार्यक्रमसहित अनुमानित बजेट निर्धारण गरेको छ। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।

गठबन्धन सरकारको नीति तथा कार्यक्रम बनाउन गठित एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले चुनावी घोषणापत्र र जनताका आकांक्षा तथा आवश्यकताअनुरूप विकास र समृद्धिका लागि प्राथमिकता निर्धारण गरी कार्ययोजना बनाएको हो।

७ माघमा पार्टी एकता संयोजन समितिले एमाले नेता गौतमको नेतृत्वमा त्यस्तो कार्यदल बनाएको थियो। उक्त कार्यदलले वामपन्थी सरकारले गर्ने काम, अगाडि बढाउने योजना र त्यसको लागतसहितको कार्ययोजना निर्माण गरी पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएको छ।

प्रतिवेदन संयोजन समितिले पारित गरी नसके पनि प्रतिवेदनमा उल्लिखित कामलाई सरकारमा सहभागी मन्त्रीदेखि सरकारले अगाडि बढाउन भने थालिसकेको छ। कार्यदलमा रहेका ७ नेतामध्ये तीन जना अहिलेको सरकारमा आफंै मन्त्री छन्। युवराज खतिवडा अर्थ, वर्षमान पुन ऊर्जा जलस्रोत तथा सिँचाइ र गिरिराजमणि पोखरेल शिक्षा तथा प्रविधिमन्त्री छन्।

कार्यदलले विज्ञ समूहसँग छलफल गरी उनीहरूको राय सल्लाह लिएर प्रतिवेदन तयार पारेको हो। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अबको सरकारको नीति तथा कार्यक्रम कार्यदलको यही प्रतिवेदनलाई टेकेर आउने नेताहरूले बताएका छन्।

कार्यदलको प्रतिवेदन कार्यान्वयन भए ५ वर्षभित्र लाखौं संख्यामा रोजगारी सिर्जना हुने, निरपेक्ष गरिबी निवारण हुने, अधिकांश घरपरिवारका लागि गाँस, बास, शिक्षा स्वास्थ्य, स्वच्छ पिउने पानीको व्यवस्था हुने र मुलुकले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरी १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुग्ने दाबी गरिएको छ।

Previous articleमेलम्चीको पानी भदौसम्ममा काठमाडौंमा आइपुग्ने
Next articleपोखरामा १३ वर्षिय बालकले फोहोर संकलन गर्ने यन्त्र निर्माण गरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here