काठमाण्डौ – राष्ट्रिय सभाका सांसदको पदावधिको टुंगो आगामी अधिवेशनमा गोलाप्रथाबाट लगाइने भएको छ। गोलाप्रथा गर्न संसद् सचिवालयले समिति गठन गरेर कार्यविधि तयार गर्दै छ। संविधानमै राष्ट्रिय सभा सदस्यको पदावधि गोलाप्रथाबाट टुंगो लगाउने व्यवस्था छ। कृष्ण कट्टेलले आजको नयाँ पत्रिकामा खबर लेखेका छन्।

संसद् सचिवालयका सचिव वीरेन्द्रबहादुर कार्कीको संयोजकत्वमा सात सदस्यीय समिति बनाइएको प्रवक्ता डा. भरतराज गौतमले बताए। ‘संसद्को आगामी अधिवेशनको सुरुमै पेस गर्ने गरी कार्यविधिको ढाँचा समितिले तयार गर्नेछ,’उनले भने।

राष्ट्रिय सभामा ५९ सांसद छन्। प्रत्येक प्रदेशबाट ८/८ जना निर्वाचित गरी ५६ र राष्ट्रपतिबाट मनोनीत तीनसहित ५९ सदस्यीय राष्ट्रिय सभाका सांसदको पदावधि तोकिन लागेको हो। ५९ सांसदमध्ये एकतिहाइको दुई वर्ष, अरू एकतिहाइको चार वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ।

अध्यक्षको पदावधि पनि गोलाप्रथाबाटै

राष्ट्रिय सभा अध्यक्षको पदावधि पनि गोलाप्रथाबाट टुंगो लगाइने भएको छ। अध्यक्षको पदावधिबारे संविधानमा केही उल्लेख नभएकाले अन्य सदस्यकै हैसियतमा गोला टिप्नुपर्ने हुन्छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना भन्छन्, ‘राष्ट्रिय सभा यस्तो सभा हो, जहाँ अध्यक्षको समेत पदावधि ६ वर्षसम्म रहन्छ वा रहन्न भन्न सकिन्न।’

Previous articleपैसाका तथा सेक्सका लागि सम्बन्ध, उद्देश्य मेल नखाए बार्गेनिङ
Next articleप्रधानमन्त्री ओलीलाई मोदीले विमानस्थलमा ‘सरप्राइज’ दिन सक्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here