काठमाण्डौ – प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बहुप्रतिक्षित अरुण तेश्रो जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्ने तय भएको छ। आजको नयाँ पत्रिकामा पर्शुराम काफ्लेले खबर लेखेका छन्।

प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा २४ चैतमा नयाँदिल्लीका हैदराबाद हाउसबाट दुवै प्रधानमन्त्रीले आयोजनाको संयुक्त उद्घाटन गर्ने छन्।

प्रधानमन्त्री ओली र मोदीबीच एकान्त वार्ता र औपचारिक वार्तापछि आयोजना हुने संयुक्त पत्रकार सम्मेलनअघि परियोजनाको उद्घाटन हुनेछ।

१ खर्ब १६ अर्ब रुपैयाँ लागतमा परियोजना बन्न लागेको हो।

परियोजनाबाट उत्पादित बिजुलीको २१ दशमलव ९ प्रतिशत नेपालले सित्तैमा पाउनेछ भने २५ वर्षपछि नेपाललाई परियोजना हस्तान्तरण गरिन्छ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा ०७१ साउन दोस्रो साता लगानी बोर्ड र प्रवद्र्धक भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच यसअघि नै परियोजना विकास सम्झौता (पिडिए) भइसकेको छ । सम्झौताअनुसार पाँच वर्षमा निर्माण सम्पन्न हुनेछ ।

यससँगै भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तत्काल नहुने संकेत देखिएको छ । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलद्यिुत् आयोजना उद्घाटनका लागि मोदीले नेपाल भ्रमण गर्ने तयारी थियो । दिल्लीस्थित कूटनीतिक स्रोतका अनुसार गत असोजमा मोदी यी प्रयोजनका लागि नेपाल भ्रमण गर्ने तयारी थियो ।

तर, १८ असोजमा एमाले र माओवादीबीच वाम गठबन्धन घोषणापछि नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमणको तयारी नै रोकिएको थियो । मोदीले त्यही प्रयोजनसहित जनकपुर, मुक्तिनाथ र लुम्बिनीसमेत जाने गरी चैत अन्तिम साता नेपाल भ्रमण गर्ने तयारी थियो ।

तर, ओलीको राजकीय भ्रमणकै वेला अरुण तेस्रोको उद्घाटन गर्ने तय भएसँगै मोदीको भ्रमण तत्काल नहुने कूटनीतिक स्रोतले बतायो । आगामी मंसिरभित्र नेपालमै आयोजना हुने बिमस्टेकको सम्मेलनमा भने मोदी सहभागी हुनेछन् ।

Previous articleसांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया अड्कियाे
Next articleनेपाल प्रहरीको २२ हजार थप दरबन्दीको फाइल गृह मन्त्रालयमा अड्कियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here