काठमाडौं – प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रमा ‘मूल नेतृत्व’ शक्तिशाली देखिएको छ। पार्टीभित्रका प्रतिपक्षी नेता कमजोर देखिएका कारण अध्यक्ष/सभापति सर्वशक्तिमान देखिएका हुन्। आफूअनुकूल निर्णय लिन उनीहरूलाई अहिले पार्टीभित्रै चुनौती दिने कुनै नेता देखिएका छैनन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

वैचारिक/राजनीतिक पक्षमा प्रजातान्त्रिक, लोकतन्त्रवादी भनेर व्याख्या गरिए पनि पार्टीभित्रको वैचारिक बहसदेखि निर्णय क्षमतामा अन्य नेताको भूमिका करिब ‘शून्य’ कै स्थितिमा पुगेको पूर्वमन्त्री तथा एमाले नेता राधाकृष्ण मैनाली बताउँछन्। पार्टीभित्र अध्यक्ष/सभापति शक्तिशाली भएकै कारण अहिले तीनवटै पार्टीमा आन्तरिक प्रजातन्त्र कमजोर अवस्थामा रहेको उनको विश्लेषण छ।

‘कांग्रेस, एमाले र माओवादीमा मूल नेतृत्व शक्तिशाली भएका कारण आन्तरिक जनवाद छँदै छैन भन्दा पनि हुन्छ,’ मैनालीले अन्नपूर्णसँग भने, ‘जसरी मूल नेता पार्टीभित्र बलिया देखिएका छन्, त्यही आधारमा गुणद्रष्टा भएर पार्टी चलाए राम्रो हुन्छ, नत्र पार्टीलाई समस्यामा लैजान सक्छ।’

लोकतन्त्रमा पार्टीलाई सही बाटोमा लैजान प्रतिपक्षी धार उत्तिकै सशक्त हुनुपर्ने ठान्छन्, राजनीतिक विश्लेषक। त्यसो नहुँदा नेतृत्व निरंकुश हुने र आफूअनुकूल निर्णय लाद्दै जान सक्ने खतरा देख्छन् उनीहरू। यसले पार्टीलाई मात्र होइन, देशलाई नै जोखिममा लैजान सक्ने भएकाले आन्तरिक प्रतिपक्षी धार बलियो हुनुपर्ने ठान्छन्, माओवादी आन्दोलनलाई बुझेका विश्लेषक नरेन्द्रजंग पिटर।

तर, अहिले मूल तीनवटै पार्टीभित्र संस्थापनका अगाडि प्रतिपक्षी धार कमजोर देखिएको उनको तर्क छ। ‘मुख्य तीन पार्टीको मूल नेतृत्वमा सांस्कृतिक सामन्तवाद देखिएको छ,’ पिटर भन्छन्, ‘एक नेताले माथिबाट आदेश दिने, तलका कमिटी र नेताले त्यसैलाई ‘क्यारी’ मात्र गर्ने अवस्था कांग्रेस, एमाले र माओवादीमा छ। त्यसले पार्टीलाई नै कालान्तरमा गलत बाटोमा लैजान सक्छ।’

केपी ओली
एमालेमा माधव नेपाल, झलनाथ खनाललगायत नेताको प्रतिपक्षी धार छ तर अध्यक्ष ओलीविरुद्ध आवाज उठाउनै सक्दैनन्।

शेरबहादुर देउवा:
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवार सभापति देउवाका कार्यशैलीविरुद्ध असन्तुष्टि पोख्न सक्ने हैसियतमा छैनन्।

पुष्पकमल दाहाल:
माओवादीमा अध्यक्ष दाहालको विपक्षमा जान सक्ने सामथ्र्य कुनै नेतामा देखिँदैन। नारायणकाजी श्रेष्ठले बेला–बेला असन्तुष्टिसम्म पोख्ने गरेका छन्।

Previous articleओलीको भारत भ्रमणपछि सरकारमा सहभागी हुने फोरमको तयारी
Next articleश्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको निर्देशनमा नयाँ म्यानपावर दर्ता बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here