काठमाण्डौ – तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ ।उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका हुन् । बिजनेस भिसामा काम गर्नु गैरकानुनी हो । अध्यागमन नियमावली २०५१ को दफा २० उपदफा २ मा बिजनेस भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको निमित्त भिसा लिएको हो, त्यसबाहेक अन्य काम गर्न नपाउने उल्लेख छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

ने कोर्यो अस्पतालमा १० जना उत्तर कोरियालीले काम गर्दै आएका छन् । तीमध्ये ८ जना चिकित्सक हुन् । दुई जनाले प्रशासनिक काम गर्दै आएका छन् । उनीहरू कसैसँग पनि कामदार भिसा छैन । उनीहरू कसैले पनि मेडिकल काउन्सिल र श्रम विभागबाट समेत स्वीकृति लिएका छैनन् । सेफरमा कार्यरत डा. को पेक सानले मेडिकल काउन्सिलबाट अनुमति लिएका छन् तर श्रम स्वीकृति लिएका छैनन् ।

श्रम विभागका निर्देशक वरुणकुमार झाले श्रम स्वीकृतिबिना कुनै पनि विदेशी नागरिकले काम गर्न नपाउने बताए । ‘कुनै पनि उत्तर कोरियाली नागरिकले अहिलेसम्म श्रम स्वीकृति लिएका छैनन्,’ निर्देशक झाले अन्नपूर्णसँग भने, ‘वर्क पर्मिट नलिई कुनै विदेशीले काम गर्न पाउँदैनन् । उत्तर कोरियालीले श्रम स्वीकृति लिएको हाम्रो रेकर्डमा देखिँदैन ।’

सेफर अस्पतालका लागि उत्तर कोरियालीले नभई दक्षिण कोरियाली नागरिकले श्रम स्वीकृति लिएको उनले जानकारी दिए । सेफरका सञ्चालक धर्म चन्दले श्रम स्वीकृति लिएर मेडिकल काउन्सिलमा दर्ता भएपछि मात्र उत्तर कोरियाली चिकित्सकलाई काम लगाएको दाबी गरे ।

विदेशी चिकित्सकले नेपालमा काम गर्न चाहेमा अनुमति लिनुपर्ने बाध्यकारी प्रावधान छ तर उत्तर कोरियाली चिकित्सक सबैले अनुमति नलिएको मेडिकल काउन्सिलले जनाएको छ । काउन्सिलका रजिस्ट्रार दिलीप शर्माले विदेशी चिकित्सकले नेपालमा काम गर्न काउन्सिलमा दर्ता हुनुपर्ने बताए । ‘मेडिकल काउन्सिलमा दर्ता नभई विदेशी चिकित्सकले काम गर्नु गैरकानुनी हो’, उनले भने । कञ्चनपुरका लागि एक जना उत्तर कोरियालीले अनुमति लिएको उनले जानकारी दिए ।

‘ने कोर्यो’ को लगानीकर्ताका रूपमा बिजनेस भिसा लिएका उत्तर कोरियालीका डिपेन्डेन्टमा आएकाहरूसमेत त्यहीँ कार्यरत छन् तर डिपेन्डेन्टमा आउने कसैले पनि काम गर्न पाउँदैनन् । ‘उनीहरू वास्तविक श्रीमान्– श्रीमती हुन्÷होइनन् भन्ने नै शंकास्पद छ’, तनहुँ जिल्ला जनस्वास्थ्य कार्यालयका एक अधिकारीले भने, हामीले अनुगमन गरेपछि नवीकरण गरेका हौं तर उक्त अस्पतालको सेवाबाट सन्तुष्ट छैनौं ।’ जिल्ला जनस्वाथ्य कार्यालयले पछिल्लोपटक माघ १० गते एक वर्षका लागि ने कोर्यो अस्पताललाई नवीकरण गरेको थियो । ने कोर्योमा किम जोङ ग्वान म्यानेजिङ डाइरेक्टर छन् ।

Previous articleतीनवटै राप्रपा मिलाएर एउटै पार्टी बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
Next articleमानसिक अवस्था बिग्रेकालाई मात्रै स्वैच्छिक अवकाश : लालबाबु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here