काठमाण्डौ – सरकारले निजामती कर्मचारीलाई प्रदेश र स्थानीय तहमा जान कडाइ गरेसँगै गत असोज–कात्तिकमा हाकिमलाई ‘अतिरिक्त रकम’ दिएर काज फिर्ता गर्न सफल कर्मचारीको हकमा के हुने भन्ने प्रश्न उब्जिएको छ।

तत्कालीन सामान्य प्रशासन मन्त्रालयले गत भदौ अन्तिम साता एक हजार ६०० जनाभन्दा बढी विभिन्न श्रेणीका कर्मचारीलाई स्थानीय तहमा काज सरुवा गरेको थियो।

तर, तत्कालीन सचिव मोहनकृष्ण सापकोटा, मन्त्रालयका केही सहसचिव र कांग्रेस निकट कर्मचारी युनियनका केही उच्च पदस्थ पदाधिकारीलाई खुसी पारेर करिब ५०० कर्मचारी आफ्नै कार्यालयमा काज फिर्ता गर्न सफल भएका थिए।

सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मालपोत, यातायात, वैदेशिक रोजगार र यस्तै अन्य कमाउ अड्डाका कर्मचारीले १० लाख रुपैयाँसम्म घुस दिएर काज फिर्ता गराएका थिए। ती अधिकारीका अनुसार मन्त्रालयको प्रशासन शाखामा कार्यरत कर्मचारीको एउटा समूहले जथाभाबीरुपमा काज सरुवाको निर्णय गराएको थियो।

यस्तो निर्णयप्रति दीर्घरोगी, अशक्तलगायत कर्मचारीले गुनासो गरेपछि उनीहरुलाई काज फिर्ता गर्ने भन्दै निवेदन माग गरिएको थियो। तर, काज फिर्तामा घुस खुवाउने अड्डाका कर्मचारी परेको ती अधिकारीले जानकारी दिए। आजको नागरिक दैनिकमा खबर छ ।

Previous articleसरकारको खर्च खातामा बजेटरी प्रणालीभित्रको रकम सकियो
Next articleरेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here