पोखरा – पोखरामा नेपालमै पहिलो पटक महिला कुस्ती प्रतियोगिता हुने भएको छ । नेपाल कुस्ती संघको आयोजनामा बैशाखको तेश्रो साता पोखरामा प्रथम महिला राष्ट्रिय कुस्ती प्रतियोगिता २०७५ हुने भएको हो ।कुस्ती खेलको विकास, बिस्तार र खेलाडीको पहिचान गर्ने उद्धेश्यले आगामी बैशाख २१ र २२ गते पोखरा रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

खेललाई संस्कारको रुपमा विकास गर्ने र ब्यबसायीकतातर्फ उन्मुख गराउने प्रयास स्वरुप प्रतियोगिता आयोजना गर्न लागेको कुस्ती संघले जनाएको छ । विभिन्न ८ तौल समूहमा हुने प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र १६ कास्य गरी कुल ३२ पदका लागि ७० खेलाडीले प्रतिष्पर्धा गर्ने कुस्ती संघका केन्द्रीय अध्यक्ष नारायण राणाले जानकारी दिनुभयो ।

प्रतियोगितामा ५३ केजी, ५५ केजी, ५८ केजी, ६० केजी, ६३, ६५ केजी, ६९ केजी र ७५ केजी तौल समूहमा महिलाहरुबीच प्रतिष्पर्धा हुने उहाँले बताउनुभयो । प्रतियोगितामा २० जिल्लाले सहभागिता जनाउने आयोजकले जनाएको छ । आयोजक कुस्ती संघ नेपालका महासचिव विद्यासागर पोखरेलका अनुसार प्रतियोगितामा विभिन्न इभेन्ट समूहका महिला कुस्तीवाज शिवाङ्गी दुबे, माया लोहार, लक्ष्मी खत्री, कविता पुन, शान्ति चौधरी, ईश्वरी थापा, सुमित्रा राईलगायत पनि प्रतिष्पर्धामा सहभागी हुनुहुने छ ।

प्रतियोगिताले नयाँ खेलाडी जन्माउन भूमिका खेल्ने आयोजकको विश्वास छ । उहाँले तराईका यादब जातीले कुस्ती धानिरहेको भन्दै अब पहाडमा पनि कुस्तीको आकर्षण बढाउन पोखरामा प्रतियोगिता गर्न लागेको बताउनुभयो ।
संघका अध्यक्ष राणाले आगामी दक्षिण एसियाली खेलकुद (साफ)मा महिला कुस्तीवाजले पदक जित्ने दावी गर्नुभयो । २०३८ सालबाट कुस्तीको राष्ट्रिय प्रतियोगिता हुन थालेको भएपनि महिला कुस्ती प्रतियोगिता भने पहिलोपटक हुन लागेको हो ।

प्रतियोगिता सम्पन्न करिब १२ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताको सम्पूर्ण खर्च राष्ट्रिय खेलकुद परिषद, नेपाल कुस्ती संघ तथा विभिन्न सहयोगी संघसंस्थाबाट जुटाइने आयोजकले बताएको छ ।

Previous articleमन्त्री चुमानद्धारा प्रदेश ४ को यातायात कार्यालयको अनुगमन
Next articleएमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने पक्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here