राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मंगलबार राजधानीमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले वर्तमान सरकार
मधेशको समस्या समाधानमा उदासिन बनेको तथा राप्रपाको पार्टी बिभाजनमा समेत अप्रत्यक्ष रुपमा सहयोग गरेको भन्दै सरकारलाई आफ्नो पार्टीले दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।
त्यसैगरी पार्टीको बैठकले सरकारले आफ्नो पार्टीले गरेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्न राष्ट्रिय एकता दिवस मनाउने आग्रहलाई उपेक्षा गरेको ठहर समेत गरेको छ ।
पार्टीको बैठक पश्चात् आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कमल थापाले राष्ट्रवादी एवं हिन्दू राष्ट्र पक्षधर शक्ति बलियो भएको देख्न नचाहने पक्षले पार्टी विभाजनको प्रयास गरेको समेत दाबी गरे ।
उक्त पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित ६४ केन्द्रीय सदस्यले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनको चर्चा गर्दै उनले उक्त निवेदनमा सात केन्द्रीय सदस्य नरहेको र केही व्यक्तिको हस्ताक्षर किर्ते भएको तथा केही व्यक्ति पार्टीको मूल प्रवाहमा नै रहेको बताए ।
त्यसैगरी पार्टीको उक्त बैठकले सो पार्टीको विधानमा १६५ केन्द्रीय सदस्यको व्यवस्था भएको र त्यसको ४० प्रतिशत सङ्ख्या राणा समूहसँग नपुगेको उल्लेख गर्दै निर्वाचन आयोगमा परेको राणा नेतृत्वको उक्त निवेदन खारेज गर्न निर्वाचन आयोगसँग माग समेत गरेको छ ।

Previous articleसेन्टरलाई अध्यक्ष दिएपछि चौतारीमा रडाको
Next articleस्वास्थ्य मन्त्रालयले अनुगमनलाई तिब्रता दियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here