गैर आवासीय नेपाली संघको दशौं यूरोपेली बैठक तथा आठौं महिला सम्मेलनलाई विभिन्न एनआरएन अभियन्ताहरुले सम्बोधन गरेका छन् ।
भेला आयोजक मुलुक जर्मनीका एनआरएनए एनसिसी अध्यक्ष नवराज रोस्याराको स्वागत मन्तव्यबाट सुरु भएको उक्त शुभकामना मन्तव्यमा आफ्नो मन्तव्य प्रकट गर्दै संघका विभिन्न पदाधिकारी एवं एनआरएनहरुले यूरोपेली भेलाको सफलताको कामना गरे ।

नेपालीहरुले आफ्नो देश बनाउन सक्छन् :कुमार पन्त
भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष कुमार पन्तले गैर आवासीय नेपाली संघ स्थापना भएको आज १४ वर्ष भएको छ स्मरण गराउँदै शुरुमा संस्था स्थापनाकालमा संस्थापक अग्रजहरु नेपाली सामु पुग्दा यिनीहरु किन आए भन्ने खालका प्रश्नहरु गरिन्थ्यो तर अहिले आएर तिनै प्रश्नकर्ताहरुले समेत हाम्रो अभियानलाई बुझिसकेका छन् । तसर्थ अब हामीले मात्र बुझेर पुग्दैन प्रवासको दोश्रो पुस्तालाई जबसम्म हाम्रो अभियानमा समेट्न सकिंदैन तबसम्म संघको सपना पूरा नहुने भन्दै त्यसैले नेपालीहरुले नै दुबई, कतार र मलेशिया जस्ता देशहरु बनाउन सकेका छन् भने हामी नेपाल बनाउन किन सक्दैनौं भन्दै अब संसारभर छरिएर रहेका हामी नेपाली एकजुट हुनु पर्ने कुरा औंल्याए ।

उपलब्धी हुन नसके प्रथा कै लागि बैठक आयोजना गर्नुको अर्थ हुँदैन: जीबा लामिछाने
कार्यक्रमलाई सम्बोधन गर्दै संघका प्रमुख संरक्षक जीबा लामिछानेले स्थापनाकालमा हामीले समग्र नेपालको विकासमा योगदान गर्ने भनेको बताउँदै हामीले उठाएका मुद्दाहरुलाई अहिलेसम्म आइपुग्दा सकारात्मक रुपमा हेरेको पाईएको छ । लामिछानेले ती मुद्दाहरुमा के कति उपलब्धी भए भनेर समीक्षा गर्नु पर्ने बेला भएको भन्दै नौ पटक यूरोपेली बैठक सम्पन्न भईसकेको छ तर उपलब्धी हासिल नहुने हो भने प्रथा कै लागि बैठक आयोजना गर्नुको कुनै अर्थ हुँदैन भन्दै लामिछानेले उपलम्बधीमूलक भेला एवं बैठकहरुमा जोड दिए ।

आफूलाई सुधारौंः उपेन्द्र महतो
कार्यक्रमलाई सम्बोधन गर्दै संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले हामीले अरुलाई ठगे पनि आफूले आफैंलाई ठग्न नसक्ने भएकोले आफैं लज्जित हुने कार्यमा नलाग्न आग्रह गरे । त्यसैगरी महतोले गैर आवासीय नेपाली संघ साधारण कामदारदेखि विभिन्न पेशागत विज्ञहरु र विद्यार्थीहरु समेतको साझा संस्थाको रुपमा एक अद्वीतीय संस्था रहेको बताउँदै क्षेत्रीय बैठकमा राष्ट्रिय समन्वय परिषदका प्रगति प्रतिवेदन प्रस्तुत गर्ने बेलामा ज्यादै न्यून सहभागिता रहेको चर्चा गर्दै चुनावी कुरा भएको भए हजारौंको संख्यामा उपस्थित हुने तर यस्ता उपलब्धीमूलक कार्यहरु हुने बेलामा चाहिँ कम उपस्थिति हुनु दुःखलाग्दो भन्दै सबैलाई एक भएर एनआरएन अभियानमा सहभागी हुन आग्रह गरे ।

मातृभूमिप्रतिको दायित्ववोध र पवित्र भावना बाहेक हामीसँग अरु कुनै स्वार्थ छैनः अध्यक्ष घले
भेलालाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अब हामीले आफ्नो अभियानको वर्तमान सम्मको यात्राको समीक्षा गर्दै आगामी यात्रामा अगाडि बढ्न आग्रह गरे । त्यसैगरी उनले नेपालीका लागि नेपाली भन्ने नारा सहित हामीले विदेशमा सिकेको सीप र पूँजि नेपाल मै लगानी गरौं र नेपाललाई समृद्ध बनाउँ भन्ने परिकल्पनालाई साकार पार्न हामी आफ्नो कामबाट केही समय निकालेर यस सुन्दर स्थानमा उपस्थित भएका छौं । त्यसैगरी उनले हाम्रो देश धनी नभएर विदेशमा जति सफलता प्राप्त भए पनि हामीले ईज्जत पाउन सक्दैनौं भन्ने बुझेर नै हामी गैर आवासीय नेपाली संघको अभियानमा लागेका हौं भन्दै मातृभूमि प्रतिको दायित्ववोध र पवित्र भावना बाहेक एनआरएनहरुसँग अरु कुनै स्वार्थ नभएको औंल्याए ।
त्यसैगरी घलेले शुरुआति दिनमा एनआरएनहरुको छबि केबल नेपालसँग माग मात्र राख्ने जमातको रुपमा चिनिएको स्मरण गराउँदै त्यो स्वभाविक थियो किनकी नेपालमा राजनीतिक स्थिरता थिएन द्वन्दको अवस्था थियो, लगानीको वातावरण नै थिएन भन्दै हामीले राष्ट्रको सम्वृद्धिमा साझेदारीको परिकल्पना गरेको र केही मागहरु अगाडि सारेको बताए । त्यसैगरी उनले गैर आवासीय नेपाली संघको लगानी नेपालमा भित्र्याउनको लागि कानुनी आधारको माग गर्दै अगाडि बढेको र अहिले आईपुग्दा नेपाल सरकारले धेरै मागहरु पनि पूरा गरिसकेको प्रशंग उल्लेख गर्दै हामीले नेपालमा जारी भएको नयाँ संविधानमा गैर आवासीय नेपालीहरुको नागरिकताको व्यवस्था गरिएको पनि उल्लेख गर्दै आगामी अक्टोबरमा हुने विश्व सम्मेलन पश्चात् आफूले नेतृत्व छाडेर नयाँ नेतृत्वलाई सुम्पने बताए ।

Previous articleएनआरएनए दशौं यूरोपेली बैठक जर्मनीको फ्रयाङ्कफर्टमा शुरु (फोटो फिचर सहित)
Next articleएनआरएनएको मेगा प्रोजेक्ट सेसनमा तात्तातो छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here