काठमाडौं ।
स्विस नेपाली समाजको भूकम्प पूनर्निर्माण योजना अन्तर्गत लमजुड. सीप विकास केन्द्रको प्राविधिक सहयोग र स्वीट्जरल्याण्ड निवासी कमल भट्टको समन्वयमा धादिड.का विभिन्न स्थानमा विद्यालय भवनहरु निर्माण सम्पन्न भएका छन् ।


नेपालमा गएको विनाशकारी भूकम्पले निम्त्याएको विध्वंश पश्चात् प्रभावित क्षेत्र र त्यहाँका बासिन्दाको सहयोगको लागि स्वीट्जरल्याण्डमा रहेका नेपालीहरु, त्यहाँको स्विस नेपाली समाज, स्विस नागरिक आइन्द्रेयास स्नाइजर तथा स्वीट्जरल्याण्ड निवासी नेपाली कमल भट्ट आदिको पहलमा तत्काल उद्धारका लागि आर्थिक संकलन कार्य सम्पन्न भएको थियो ।

सोही संकलित रकमबाट सोही समयमा गोर्खा जिल्लाका ६०० घर धुरीलाई जस्तापाता वितरण गरिएको थियो भने त्यसबाट बचेको रकम तथा हाम्रो सनसाईन स्कूलले उठाएको रकम, स्विस नेपाली समाजले उठाएको रकम र जर्मन नागरिक माइकल फात्तर समेतको सहयोगमा जुटेको रकमबाट उक्त विद्यालय भवनहरु निर्माण भएका हुन् ।


उक्त सहयोगमा कार्की गाउँ उच्च मा.वि. सल्यानकोट धादिड.को ९ वटा कोठा, अर्चने उच्च मा.वि. त्रिपुरेश्वर धादिड. को ६ कोठा र चक्रदेवी आधारभूत विद्यालयको ४ कोठा निर्माण सम्पन्न भएको हो । विद्यालय भवनहरु भूकम्प प्रतिरोधी बनाइएको छ भने ती भवनहरु निर्माणमा लमजुड. सीप विकास केन्द्रले भूकम्प प्रतिरोधि तालिम समेत दिएको थियो । ती विद्यालय भवनहरुको निर्माणमा स्थानीय शीतलचन्द्र धरेलको पहल समेत रहेको थियो ।
योजना शुरु गरिएको एक वर्षभित्रमा नै सम्पन्न उक्त विद्यालय भवनहरुको संघीय मामिला मन्त्री हितराज पाण्डेले उद्घाटन गर्नु भएको थियो भने उक्त उद्घाटन कार्यक्रममा स्विस नेपाली समाजका अध्यक्ष मार्कुस रुखस्टूल, बोर्ड सदस्य कमल भट्ट, स्थानीयवासी समेतको उपस्थिति रहेको थियो ।

भट्टको सहयोगमा ३० घरमा खानेपानी धारा वितरण


स्विस नेपाली समाजका बोर्ड सदस्य कमल भट्टको रु. २ लाख १८ हजार बराबरको आर्थिक सहयोग पश्चात् जिल्ला खानेपानी गोरखा र स्थानीयहरुको सहयोग समेत जुटाई गोरखाको लातेमा खानेपानी ट्याड.की निर्माण गरी धारा वितरण गर्नुका साथै ती धाराहरुमा मिटर समेत जडान गरिएको छ । उक्त खानेपानी धारा वितरण कार्यबाट स्थानीय ३० घरधुरी लाभान्वित भएका छन् ।
त्यसैगरी भट्टले गोरखामा नै विद्यालय भवन निर्माणका लागि जग्गा किन्न भनेर रु. १ लाख ६५ हजार आर्थिक सहयोग समेत उपलब्ध गराएका छन् ।

Previous articleभ्यालेनटाइन डेको अवसरमा प्रेमलाप  गीतको म्युजिक भिडियो सार्वजनिक 
Next articleस्वर्गीय मनोज ठगुन्नाको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here