१५ वैशाख २०८१

गजलकार निश्चलको गजल संग्रह ‘सिसिफस जीवन’ सार्वजनिक

0

काठमाडौं ।

प्रवासी भूमिमा सक्रिय यूवा गजलकार निश्चल (पि एस लिम्बू) को ‘सिसिफस जीवन’ नामक गजल संग्रह सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकूलपति डा. विष्णु विभु घिमिरेको प्रमुख आतिथ्यतामा राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा शुक्रबार सम्पन्न उक्त गजल संग्रह लोकर्पण कार्यक्रम  विश्व नेपाली साहित्य महासंघको आयोजनामा भएको हो ।

बरिष्ठ सञ्चारकर्मी तथा कवि कलाकार रमेश पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सांसद मोहम्मद जाकिर हुसैन, सार्क सचिवालयका महासचिव तथ यूएईका लागि पूर्व राजदूत अर्जुन बहादुर थापा, वरिष्ठ गजलकार ज्ञानुवाकार पौडेल, वरिष्ठ गजलकार डा. घनश्याम न्यौपाने परिश्रमी, गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष रामेश्वर शाह विशेष अतिथिको रुपमा रहनु भएको थियो ।

संग्रहको लोकार्पण पश्चात् शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि घिमिरेले विदेशी भूमिमा अहोरात्र काममा खटिनुपर्ने अवस्थाबाट समेत समय निकालेर नेपाली भाषा साहित्यको विकासमा लागेकोमा प्रसंसा गर्दै नेपालीहरु संसारको जुनसुकै कुनामा पुग्दा पनि आफ्नो भाषा, भेषभुषा, साहित्य, कला र संस्कृति पनि सँगै लिएर गएको बताउँदै उहाँले अन्तराष्ट्रिय साहित्य समाज र विश्व नेपाली साहित्य महासंघले प्रवासमा नेपाली साहित्य र संस्कृतिको विकासमा योगदान पुर्याउनुका साथै प्रवासमा रचना गरिएका विविध कविता, गीत, गजल, कथाहरु र अन्य र्सिजना लगायतका साहित्यिक सिर्जनामा देशको झल्को पाइने गरेको बताउनु भयो ।

त्यसैगरी उक्त लोकार्पण कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि यूएईका लागि पूर्व राजदूत एवं वर्तमान सार्क महासचिव अर्जुन बहादुर थापाले खाडीमा रहेका नेपालीहरुले ५० डिग्रीको प्रचण्ड गर्मीमा रहेर काम गर्दा पनि आफ्नो उत्साह र सिर्जनालाई नमारेर नेपाली साहित्य सिर्जनमा लागेको बताउदै गजलकार पिएस लिम्बु यूएईको नेपाली समाजमा सक्रिय भूमिका निभाउने सामाजिक एवं साहित्यिक व्यक्तित्व भएको स्मरण गराउनु भयो ।

त्यसैगरी यूएईको नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व एवं सांसद मोहम्मद जाकिर हुसैनले

गजलकार निश्चल  पिएस लिम्बु व्यवसायी, बौद्धिक व्यक्तित्व र युवा साहित्यकार रहेको बताउँदै लिम्बुको गजल संग्रहमा धेरै त्रुटिहरु रहेता पनि उनमा गजल सिर्जनका थुप्रै खुबीहरु समेत उजागर भएको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले निश्चलको गजलसंग्रहलाई नियाल्दा प्रवासी भूमिको उत्कृष्ठ सिर्जनाको रुपमा आफूले पाएको बताउँदै अबको समय गजल साहित्यमा उत्कृष्ट गजल लेख्नका लागि फलामको चिउरा चपाए सरी हुने औंल्याउँदै अबका पाठक आफै सचेत भएकोले अब राम्रो मात्रै होइन उत्कृष्ट गजल लेखनमा लाग्नुपर्ने बताउनु भयो । साथै उहाँले यस संग्रहका माध्यमबाट यूएई मात्र होइन त्यस वरपरका देशहरुमा बस्ने नेपाली गजलकार तथा कविहरुले यस किसिमको गजल लेख्नुपर्ने रहेछ भन्ने सचेतना जाग्ने बताउनु भयो ।

उक्त कार्यक्रममा वरिष्ठ गजलकार डा. घनश्याम न्यौपाने परिश्रमीले गजलको उत्पत्ती, विकास र वर्तमान अवस्थाका बारेमा बताउँदै विमोचित संग्रह सिसिफस जीवनमाथि टिप्पणी गर्नु भएको थियो । त्यसैगरी गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष शाहले यूएई बसाइको आफ्नो अनुभव र त्यहाँबाट मौलाएको साहित्यको चर्चा गर्दै गजलकार निश्चललाई शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रवासी नेपाली पत्रकार संजालका सचिव एवं नेपाल पत्रकार महासंघ यूएई शाखाका संस्थापक संयोजक दामोदर नेपालले युएइमा नेपाली साहित्यको विजारोपणदेखि  वर्तमान अवस्थासम्म आईपुग्दा मौलाएको नेपाली साहित्यका बारेमा संक्षिप्त रुपमा प्रकाश पार्दै गजलकार निश्चलको साहित्यिक यात्राको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

यूएईको दुबई र नेपालमा एकै दिन एकै समयमा सार्वजनिक गरिएको उक्त गजल संग्रह लोकार्पण कार्यक्रमको सञ्चालन पत्रकार जेपी सापकोटाले गर्नु भएको थियो भने स्वागत मन्तव्य विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष एवं पत्रकार सागर श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रममा सिसिफस जीवन गजल संग्रहबाट गजलकार हरि मानन्धर र कवियत्री राधा कार्कीले गजल बाचन गर्नु भएको थियो ।

गजल संग्रह लोकार्पण कार्यक्रमको अन्त्यमा विश्व नेपाली साहित्य महासंघ साउदी अरब शाखा र इजरायल शाखाले भानुजयन्तीको अवसरमा आयोजना गरेको विश्वव्यापी खुल्ला अनलाइन मुक्तक प्रतियोगीताका विजयी स्रष्टालाई पुरस्कार वितरण गरिएको थियो ।

Share.

Leave A Reply