३१ वैशाख २०८१

नेपालमा पहिलो पटक काखीमुनिबाट ओपन हर्ट सर्जरी गर्ने डा. भट्टराई सम्मानित

0

3-2 7
नेपालमा पहिलो पटक काखीमुनिबाट सानो प्वाल पारेर मुटुको ओपन हर्ट सर्जरी सफलतापूर्वक सम्पन्न गर्ने वरिष्ठ कार्डियो सर्जन डा. अनिल भट्टराई सम्मानित हुनु भएको छ ।
बुधबार राजधानीको बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा आयोजित एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. भट्टराईलाई सम्मान गर्दै उक्त कार्य नेपालको स्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक नमूना बनेको बताउनु भएको हो । अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले यस प्रकारको ऐतिहासिक कार्यले अब नेपालमा नै उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध भएको दाबी समेत गर्नु भयो । उहाँले भन्नुभयो ग्रीनसिटी अस्पताल जस्तो नीजि अस्पतालले गरेको यस प्रकारको उदाहरणीय कार्यले नेपालका सरकारी अस्पतालहरुलाई समेत चुनौति दिँदै स्वदेशमा नै उच्चस्तरको स्वास्थ्य सेवा एवं सुविधा उपलब्ध रहेको बताउनु भयो । ग्रिनसिटि अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता डा।रामशरण महतले नेपालमै मुटुरोग सम्बन्धि उच्चस्तरीय सेवा उपलब्ध भएको अवश्थामा अबका दिनमा सरकारले आर्थिक रुपमै बजेट छुट्याउनुपर्ने बताउनुभयो । उहांले ग्रिनसिटि अस्पतालले छोटो समयमा नै प्राविधिक रुपमै हासिल गरेको सफलताको खुलेर प्रशंसा गर्नुभयो । पुर्वमन्त्री एवं सांसद लालबाबु पण्डितले नेपालमा सबै खाले स्वास्थ्यसेवा उपलब्ध भएको र नेपालका निजि तथा सरकारी अस्पतालले हासिल गरेको उपलब्धिलाई टिकाउन नेतृत्व तहका व्यक्तिहरुले स्वदेशमै उपचार गर्नुपर्ने बताउनुभयो । सो कार्यक्रममा सभासद बहादुर सिंह लामा, कमल धमला, पत्रकार टंक पन्त आदिले अब कुनै पनि खालको उपचारका लागि विदेश धाईरहनु नपर्ने र त्यसका लागि सरकारले यस प्रकारका सेवा तथा सुविधाका बारेमा तल्लो तहसम्म गएर जनतालाई अवगत गराउनु पर्ने बताउनु भयो ।
ग्रीनसिटी अस्पतालमा डा. भटराईको नेतृत्वमा धादिङ्ग जिल्ला ज्यामरुङ गाबिस १ लामास्थान निवासी १६ वर्षीया श्रीषा कार्कीको काखीबाट भएको ओपन हर्ट सर्जरी पछि उनको मुटुमा रहेको समस्या समाधान भएको छ । उनको मुटुमा प्वाल परेको कारण केही समयदेखि श्वास प्रश्वासमै अफ्ट्यारो भएको थियो ।
नेपालमा छाती र ब्रेष्टको तलबाट ओपन हर्ट सर्जरी हुने गरेको तर यसपटक ग्रीनसिटी अस्पतालमा पहिलो पटक काखीमा सानो प्वाल पारी गरिएको ओपन हर्ट सर्जरी उदाहरणीय भएको छ । डा भटराईका साथमा डा रञ्जन सापकोटा, एनेश्थेसिया डा बिश्वास प्रधान र डा आशिष अमात्य सहित पर्फुजनिष्ट तथा स्टाफ नर्सहरुको टिम थियो ।
काखीमुनीबाट मुटुको अप्रेशन सम्पन्न भएपछि बरिष्ठ कार्डियो सर्जन डा भट्राईले काखीमुनीबाट सानो प्वाल पारी युरोप, अमेरिकामा पनि भर्खरै मात्रै शुरु भएको अप्रेशन नेपालमा पनि पहिलो पटक आफुले ग्रीनसिटी हस्पिटलमा सफलतापुर्बक सम्पन्न गरेकोमा अत्यन्तै खुशीको अनुभुति गरेको बताउनु भएको छ । उहांले मुटुको अप्रेशनका लागि वर्षेनी नेपालीको ठूलो संख्या विदेश जाने गरेको र अरबौ रुपैंया विदेशीने गरेको कारण मुटुको शल्यक्रिया नेपाल मै नयाँ प्रबिधिबाट विदेशमा भन्दा सुलभ रुपमा हुने भएकोले मुटुको शल्यक्रिया नेपालमै गर्न गराउन बिशेष आग्रह पनि गर्नुभएको छ ।
नेपालमै पहिलो पटक काखीमुनीबाट ओपन हर्ट सर्जरी सफलतापुर्बक सम्पन्न भएकोले अस्पतालले सो अप्रेशन शुल्क नलिने निर्णय गरेको अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले जानकारी गराउनु भएको छ ।
सो अप्रेशनका लागि सेभ द हार्ट नामक सस्थाको पनि साथ र सहयोग रहेको भन्दै अध्यक्ष टण्डनले नेपालमा पहिलो पटक आपनो अस्पताल मार्फत यस्तो सेबा उपलब्ध गराउन निकै चुनौतिपुर्ण भएपनि डा भट्राई जस्ता सक्षम अनुभबी चिकित्सक समेतको टीमले गर्दा सहज रुपमा सफलता मिलेको र आगामी दिनमा पनि सहज रुपमा नै काखी मुनी त्यो पनि सानो प्वाल पारेर मुटुको अप्रेशन गर्न सकिन्छ भन्ने सिंगो अस्पतालको आत्मबिश्वास बढेको उल्लेख गर्नुभएको छ । उहाले नेपालमै यति सहज र सर्बसुलभ रुपमा ओपन हर्ट सर्जरी हुन्छ भने कोही पनि बिदेश गएर ठूलो धनराशी खर्च गर्न नहुने कुरामा जोड दिनुभएको छ । विदेशमा जाँदा भाषाको मात्र होइन अन्य आर्थिक लगायत विविध समस्याको समाना गर्नुपर्ने हुन्छ, यसर्थ नेपाली माटो मै समाधान हुने समस्याका लागि विदेश जाने काम कसैले गर्नु हुँदैन भन्ने कुरामा अध्यक्ष टण्डनको जोड रहेको छ ।
यस अघि ओखलढुंगाका कमल धमलाको पनि ओपन हर्ट सर्जरी निशुल्क गरिएको थियो । धमला अति गरीवीको रेखामुनी भएको र उनको अपे्रशन नभए बाच्न नसक्ने अबस्था भएको जानकारी पाएपछि अस्पतालले सेभ द हार्टको समेतको सहयोगमा निशुल्क अप्रेशन गरेको हो । स्मरणीय छ , एक जना नागरिकको मुटुको अप्रेशनका लागि नेपालमा करीब ४ लाख लाग्छ भने भारतमा ६ लाख भारु लाग्ने गरेको छ । यसर्थ नेपालको अर्थतन्त्रलाई पनि सहयोग हुने गरी नेपालमै हुन सक्ने कामका लागि बिदेश नजान पनि आम नागरिक समक्ष अस्पतालले आह्वान समेत गरेको छ ।
डा. भट्राईकै नेतृत्वमा ग्रीन सिटी अस्पतालमै ६ महिना भित्र १८ जनाको ओपन हर्ट सर्जरी सम्पन्न भईसकेको छ । सो मध्ये कालिकोट र धादिङ्गका १२ जनालाई निःशुल्क उपचार गरिएको थियो । अस्पतालले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ टेक्नोलोजी भित्रयाएर बिगत चार बर्षदेखि मानवीय सेबा भाबलाई ध्यानमा राखी केही समय अघि १३ बर्ष सम्म मलद्धार बिना जीबन मरणको दोषाधमा रहेकी बालिका ओखलढुंगाकी १३ बर्षीया लीला बिक र रुपन्देही जिल्लाकी ९ महिनाकी लोकमाया सुनुवारको पनि निशुल्क अप्रेशन गरेको मेडिकल डाइरेक्टर डा रोमियो कंशाकारले जानकारी गराउनु भयो ।
नेपालमा काखीमुनीबाट पहिलो पटक अप्रेशन सम्पन्न गराउने सुचिमा आफु परेकोमा श्रीषा कार्कीले आफुलाई भाग्यमानी सम्झेको बताएकी छिन भने उनका पिता भरत कार्कीले छोरीको अप्रेशन जसरी पनि सम्पन्न गर्ने अठोट गरेको भएपनि कसरी आर्थिक ब्यबस्थापन गर्ने होला भन्ने भैरहेको थियो तर जब अप्रेशन सम्पन्न भएको भोलिपल्ट अस्पतालले निशुल्क गर्ने भनेर्पिछ त यति खुशी लाग्यो त्यसको कुनै सीमा नै रहेन।
स्मरण रहोस् ग्रीनसिटी अस्पताललाई नीजि अस्पताल मध्येको उच्चकोटीको र नयाँ प्रविधिले सम्पन्न र सर्बसुलभ एवं हरेक दृष्टिले प्रभाबकारी अस्पतालको रुपमा बिकास गर्ने उद्धेश्यले उक्त अस्पतालमा विभिन्न देशका एनआरएनहरुले समेत लगानी गरेका छन् ।

Share.

Leave A Reply