३० वैशाख २०८१

कर्मचारी सञ्चयकोषले हजारे अभियानसँग सहकार्य गर्ने

0

Hajare Hajare1
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको पनि सञ्चय कोषको व्यवस्था हुनुपर्छ भनेर शुरु गरिएको हजारे अभियानसँग कर्मचारी सञ्चय कोषले सहकार्य गर्ने भएको छ ।
राजधानीमा मंगलबार भएको गैर आवासीय नेपाली संघका पदाधिकारी एवं हजारे अभियानका सदस्यहरु र कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासकका बीच भएको अनौपचारीक छलफलका क्रममा उक्त सहमति भएको हो ।
यसै सन्दर्भमा विभिन्न कोणबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुको सञ्चयकोषको व्यवस्थाको चर्चा चलिरहँदा नेपाल सरकार अन्तर्गतको कर्मचारी सञ्चय कोष पनि प्रवासी नेपालीले कमाएको पैसा बचत गराउने र उनीहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने उद्येश्यले छुट्टै सञ्चय कोषको व्यवस्था गर्ने दिशामा अघि बढेको छ ।
स्वदेशमा नै यथेष्ठ रोजगारीको व्यवस्था नहुँदा बहुसंख्यक नेपाली यूवाहरु अहिले वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका छन् । तिनै यूवा पिंढी वैदेशिक रोजगारीबाट स्वदेश फर्कँदा पनि अन्ततः खाली हात नै हुने गरेका कैयौं उदाहरणहरु भेटिएपछि पछिल्लो समयमा कर्मचारी सञ्चय कोषले आफ्नो ध्यान आकृष्ट गराएको हो । कर्मचारी सञ्चय कोषले गरेको तयारी अनुशार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कमाएको रकमबाट केही रकम छुट्याएर सञ्चय कोषमा जम्मा गर्ने र त्यसरी जम्मा भएको रकमलाई उत्पादनमूलक कार्यमा लगानी गरी उनीहरुको सामाजिक सुरक्षा तथा अन्य अति आवश्यकीय क्षेत्रमा सदुपयोग गर्ने योजना सहित तयारी अगाडि बढाइएको हो ।
प्छिल्लो समयमा कर्मचारी सञ्चय कोषले अगाडि सारेको अवधारणा अनुसार सरकारले ऐन संशोधनको तयारी गरिरहेको र उक्त ऐन संशोधन पूर्व नै यस सम्बन्धमा बिस्तृत अध्ययन अनुसन्धान गरी सरल, सहज, समय सापेक्ष, वैज्ञानिक र आधुनिक प्रणालीको तर्जुमा गरी अगाडि बढ्नेगरी सकारलाई सुझाव दिने दिशामा अध्ययन भईरहेको कोषका प्रमुख प्रशासक कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।
मंगलबार कोषको कार्यालयमा गैर आवासीय नेपाली संघका पदाधिकारी एवं हजारे अभियानका प्रतिनिधिहरुसँग भएको अनौपचारिक छलफलका क्रममा प्रमुख प्रशासक आचार्यले उक्त जानकारी दिएका हुन् । छलफलका क्रममा उनले भने- यो अहिलेको आवश्यकता भईसकेको छ, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको सामाजिक सुरक्षाका लागि अब पनि सोचिएन भने धेरै ढिलो हुन्छ भन्ने बुझाईका साथ कोष अगाडि बढिसकेको छ । उनीहरुको सामाजिक सुरक्षा हाम्रो चासो हो । यसका लागि सरकार पनि ऐन संशोधनको तयारीमा जुटेको छ र हामी पनि श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, गैर आवासीय नेपाली संघ, वैदेशिक रोजगार व्यवसायी संघ लगायत सरोकारवाला निकायहरुसँग छलफल गरिरहेका छौं, आचार्यले भने ।
छलफलका क्रममा गैर आवासीय नेपाली संघले गत अधिवेशनबाट अगाडि बढाएको हजारे अभियान र यसको आवश्यकताका बारेमा जानकारी गराउँदै एनआरएनएका महासचिव डा. बद्री के.शी.ले – संघले विदेशमा रहेका नेपालीहरुको सामाजिक सुरक्षाका साथै उज्वल भविष्यका लागि छुट्टै कोषको स्थापना गरी सो कोष मार्फत उनीहरुको भविष्यलाई मार्गदर्शन गर्ने उद्देश्यका साथ हजारे अभियान अगाडि बढाएको बताए । उनले भने- हाम्रो योजना अनुसार विदेशमा बस्ने हरेक नेपालीले महिनाको कम्तीमा एक हजार संकलन गरेर सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने र पछि स्वदेश फर्किएपछिको भविष्य पनि सुनिश्चित गर्न सकिने हुनाले यस प्रकारको कोषको अपरिहार्यता रहेको छ । महासचिव के.शी.ले नेपालीहरुको मन मस्तिष्कमा विश्वसनी निकायको रुपमा बास गरेको सरकारी निकाय कर्मचारी सञ्चय कोषका साथ सहकार्य गरेर यो अभियान अगाडि बढाउँदा अझ बढी प्रभावकारी हुने भएकोले त्यसका लागि एमओयू गरेर अगाडि बढ्न एनआरएनए तयार रहेको जानकारी दिए । उनले भने एनआरएनए स्वयमसेवीका रुपमा कार्य गर्न तयारी छ, हामी बीचमा एक खालको संरचना तयार गरौं र काम अगाडि बढाऔं ।
प्रतिउत्तरमा प्रमुख प्रशासक आचार्यले भने हाम्रो यो योजना सफल बनाउन गैर आवासीय नेपाली संघको सहयोगको ठूलो आवश्यकता छ र भूमिका रहन्छ । यस अर्थमा पनि तपाईँहरुले देखाउनु भएको चासो र तदारुकता अत्यन्तै महात्वपूर्ण छ । हामी तपाईँहरुसँग सहकार्य गरेर अगाडि बढ्न तयार छौं आचार्यलै भने । यस सम्बन्धमा बिस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्न कोषले एउटा कार्यदल नै बनाएको र यसले अबको केही हप्तामा नै आफ्नो प्रतिवेदन बुझाउने कार्यदलका एक सदस्यले बताए । यस सम्बन्धमा बिस्तृत छलफल गरी अगाडि बढ्न एनआरएनए र कोषका पदाधिकारीका बीचमा पुनः अर्को बैठक बसेर अगाडि बढ्ने निर्णय गर्दै मंगलबारको छलफल टुंगिएको थियो ।
मध्यपूर्वको ओमानबाट शुरु भएको हजारे अभियानका सम्बन्धमा पछिल्लो समयमा गैर आवासीय नेपाली संघले प्रधानमन्त्री, सभामुख, पूर्व प्रधानमन्त्री, प्रमुख राजनीतिक दल लगायत विभिन्न सरकारी निकाय समक्ष समेत ध्यानाकर्षण गराईसकेको छ । जसलाई सरकारी पक्षले पनि सकारात्मक रुपमा लिनुलाई हजारे अभियानको पहिलो खुट्किला पार भएको रुपमा एनआरएनहरुले लिएका छन् ।
मंगलबार भएको अनौपचारिक छलफलमा गैर आवासीय नेपाली संघका महासचिव डा. बद्री के.शी., एनआरएनएका यूवा उपसंयोजक लोकराज शर्मा, हजारे अभियानका सदस्य दामोदर नेपाल, एनआरएनएका कार्यकारी निर्देशक राजेश राना, उद्धव भट्टराई लगायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply