१५ वैशाख २०८१

स्वीट्जरल्याण्ड घुमेपछि मनिषा कोइराला : नेपालको प्रकृति उपयोग नै गर्न सकेनौं

0

वसन्त रानाभाट, बार्सिलोना । नेपालजस्तै भूगोल, डाँडाकाँडा हिमाल र पहाड । क्षेत्रफल र जनसंख्या दुवै हिसाबले नेपालभन्दा लगभग साढे तीन गुणा सानो । संघीय, लोकतान्त्रिक,गणतान्त्रिक मुलुक हो, स्वीट्जरल्याण्ड । नेपाललाई पनि स्वीट्जरल्याण्डजस्तै उन्नत मुलुक बनाउने कुरा हाम्रा राजनीतिज्ञहरुबाट पटक-पटक सुन्दै आएका छौं ।

अभिनेत्री मनिषा कोइराला भर्खरै स्वीट्जरल्याण्डको १० दिने पदयात्रा गरिन् । प्रस्तुत छ,  अभिनेत्री कोइरालासँग स्वीट्जरल्याण्ड यात्राको क्रममा नेपालको सम्झनाबारे गरिएको कुराकानीको सम्पादित अंश :

स्वीट्जरल्याण्डको पदयात्रामा कोको हुनुहुन्थ्यो ? कस्तो रह्यो अनुभव ?

दिल्लीमा स्कुल पढ्दादेखिकै साथीहरुको सानो ग्रुप छ। ती साथीहरु हाल कोही अमेरिका, कोही लण्डन त कोही दिल्लीमै हुनुहुन्छ । उमेरले हामी ५० वर्ष काटिसकेका छौं । प्रकृतिसँग जोडिएर शारीरिक र मानसिक रुपमा फिट हुनुपर्छ सोचेर हामीले ग्रुपमा हिंड्न र डुल्न सुरु गरेका थियौं । साथीहरुको यो ग्रुप यसअघि एभरेस्ट बेसक्याम्प र अन्नपूर्ण बेसक्याम्प पुगिसकेको थियो । त्यतिबेला म छुट्न पुगें । तर अहिले तेस्रो पटकको यात्रामा म पनि सहभागी बन्न पाएँ । सामान्यतया यो पूरै पदयात्रा चाहिं होइन । स्वीटजरल्याण्डका आल्पसमा हिंड्ने भनेर यहाँ आएका हौं । यो हाम्रो वाकिंग हाइकिङ ट्रिपजस्तै हो । हामीले सार्वजनिक यातायातहरुको पनि मज्जैले प्रयोग गर्‍यौं । तीन जना साथीहरुबाट सुरु भएको जमघट यसपटक त साथीहरुको पनि साथी थपिंदै जाँदा ७-८ जनाको टोली नै बन्यो ।

कहाँ कहाँ पुग्नुभयो त ?

प्रकृति र पर्यावरणसँगको निकटता हुँदाजस्तो मज्जा अर्को केही हुँदैन । स्वीटजरल्याण्डमा हामीले १० दिन बितायौं । सुरुको दुई दिन जुरिचमा नै बस्यौं । त्यसपछि मुरेंन भन्ने ठाउँमा गयौं । त्यहाँ दिनभरि नै हिड्यौं । मुरेंनबाट लाउटरवर्न भन्ने ठाउँमा हिंड्दै गयौं । त्यहाँबाट विनगेन भन्ने ठाउँमा पुग्यौं । त्यहाँका दुई-तीनवटा ट्रेकिङ, हाइकिङ प्वाइन्टहरुमा पनि घुम्यौं । त्यसपछि विन्डनहल्ड भन्ने ठाउँमा बस्यौं । त्यहाँ योङ्गफ्राउका पिकहरुमा गएर अलिकति हिड्यौं । त्यो अलावा यसपटक प्याराग्लाइडिङ स्पोर्ट्सहरुमा पनि मज्जा लियौं ।

स्वीटजरल्याण्ड घुम्दा नेपाललाई कसरी सम्झिनुभयो ?

सबैभन्दा मलाई के छर्लङ्ग भयो भने जति राम्रो स्वीट्जरल्याण्डको प्रकृति छ नि, त्यति नै राम्रो नेपालको प्रकृति पनि छ । हाम्रो देशमा हिमाल, पहाड, नदी, झरना भएका एकदमै राम्रा ठाउँहरु छन् । तर दुर्भाग्य डिसिजन मेकरहरु जो हुनुहुन्छ । उहाँहरुले यसलाई सही सदुपयोग गर्न सक्नुभएको छैन । नेपालमा त प्रकृतिले धेरै कुरा बरदान दिएको छ । सायद स्वीट्जरल्याण्डलाई भन्दा पनि बढी । तर त्यसलाई सदुपयोग गर्न सकेका छैनौं । यो सम्पूर्ण जिम्मेवारी राजनीतिज्ञहरुले नै लिनुपर्छ । नेपाल र नेपाली जनताको जीवनशैलीलाई कसरी राम्रो बनाउने भन्न्नेतर्फ उहाँहरुको ध्यान हुनुपर्थ्यो ।

यहाँ हरेक कुनामा जाँदाखेरि सिभिलाइज भएको स्टेटजस्तो लाग्छ । साथीहरुले त्यही कुरा गरिरहेका थिए । एभरेष्ट बेस क्यापमा जाँदाखेरि सानो सानो टी-हाउसहरु छन् । कम पैसा खर्च गर्ने, अलिकति बजेटमा हिंड्छन् उनीहरुको लागि मात्रै  जस्तो । तर त्यसलाई अपग्रेड गर्न सक्यौं भने अलिकति सुविधा थप्न सक्यौं भने त्यहाँबाट राम्रो आम्दानी गर्न  सक्छौं । बाथरुम सफा होस् । सुत्ने ठाउँ सफा होस् । खाना खाने ठाउँ हाइजेनिक होस् । यी सबै पर्यटकहरुले खोज्ने आधारभूत कुराहरु हुन् । सेवा र सुविधा राम्रो दिन सकियो भने उनीहरु खर्च गर्न डराउँदैनन् ।

नेपाल र स्वीट्जरल्याण्ड पुग्ने पर्यटकमा के भिन्नता पाउनुभयो ?

मलाई त के लाग्यो भने एकदमै कम पैसा खर्च गर्ने पर्यटकहरु मात्रै नेपालमा आउँछन् जस्तो लाग्यो । टप अफ दी युरोप योङ्फराउमा रेलवे सेवा छ । दुई सय स्वीस फ्रान्कभन्दा पनि बढी खर्च लाग्छ, त्यो भनेको एक जनाले  रेल चढेको खर्च मात्रै ३०-४० हजार नेपाली रुपैयाँ हो । केवलकारको सुविधा पनि छ । त्यो पनि त्यति नै महंगो छ । त्यहाँ अद्भूत रुपमा पूर्वाधारको विकास गरिएको छ । सेवा र सुविधा प्रदान गरिएको छ । पैसा खर्च गर्न सक्ने पर्यटकहरुलाई राम्रोसँग आकर्षण गरेको देखिन्छ । हामीले त्यस्तै पूर्वाधारको विकास गर्नुपर्छ । सुविधा दिन सक्नुपर्छ । त्यस्तै प्रविधि भित्र्याउनुपर्छ । तब मात्र पैसा खर्च गर्न सक्ने पर्यटकहरु भित्र्याउन सकिन्छ ।

तर दुर्भाग्यवश अहिले नेपालमा कम खर्च गर्ने पर्यटकहरु मात्रै भित्रिएका छन् । जसले हाम्रो अर्थतन्त्रलाई त्यस्तो राम्रो भएको देखिंदैन । अलिकति सिस्टम्याटिक ढंगले देशलाई हाक्न सक्यौं भने पर्यटनको क्षेत्रमा पनि ठूलो सम्भावना देखिन्छ ।  म त यही भन्छु कि हामीले पूर्वाधारको विकासमा जोड दिनुपर्छ । सुविधाहरु थप गर्नुपर्छ । सेवा सुविधा राम्रो दिन सक्यौं भने मोटो रकम खर्च गर्ने पर्यटकहरुलाई पनि आकर्षित गर्न सकिन्छ ।

एकातर्फ सुविधाको कुरा रह्यो । अर्कोतर्फ सुरक्षाको विषय पनि जोडिन्छ नि । पर्यटकहरुका लागि स्वीट्जरल्याण्ड कत्तिको सुरक्षित पाउनुभयो ?

हरेक कुरा तपाईंले जे सोधिरहनुभएको छ । त्यसको एउटा मात्रै उत्तर छ । यो सबै सरकारसँग जोडिन्छ । सरकारले आफ्नो कर्तव्य वा दायित्व राम्रोसँग पूरा गरिरहेको छ यो सबै कुराको समाधान हुन सक्छ । यो सबै उसैको खेमाभित्र पर्न  आउँछ । जहाँ एउटा सक्षम सरकार छ, त्यहाँ यी सबैकुराहरु महसुस हुन्छ । तर यदि सरकार असक्षम भयो भने त्यहाँ सबै सेवा सुविधाहरु गुम्दै पनि जान्छन् । यदि कुनै पनि देशको सरकार राम्रोसँग चलिरहेको छ भने त्यहाँ आर्थिक वृद्धि, विकासलगायत सुरक्षाको प्रत्याभूति आफैं सिर्जना हुन्छ । त्यसको महसुस ती देशका नागरिकले मात्रै होइन, घुम्न आउने पर्यटकहरुले पनि गर्छन् ।

विकास पनि भएको, सुविधा पनि भएको र सुन्दरता पनि भएको देशमा एउटा पर्यटकको रुपमा घुम्दा कस्तो अनुभव हुँदो रहेछ

असाध्यै राम्रो । असाध्यै असाध्यै असाध्यै राम्रो । हेर्नुहोस् मन प्रसन्न हुन्छ । एउटा राम्रो सोसाइटीमा आउँदाखेरि मनमा पनि आहा ! यही कुरा नेपालमा पनि भइदिए कस्तो हुन्थ्यो भन्ने मनमा आउँदो रहेछ । किनभने यहाँको जस्तो हिमाल, पहाड, नदी, खोला, ताल हामीसँग प्रशस्तै छ । तर त्यसको हामीले भरपुर आनन्द नै लिन सकेका छैनौं । र, अहिले पनि हामी आधारभूत आवश्यकताहरुमा नै अल्झिरहेका छौं । जहाँ एउटा सम्पन्न समाज हेर्दा सबै कुरा हामीसँग भएर पनि गर्न सकेका रहेनछौं भन्ने अनुभूति हुँदो रहेछ । मलाई के लाग्यो भने नेपालको पर्यटनलाई राम्रोसँग प्रस्तुत गर्न सक्यौं भने मुलुकका लागि अन्त्यन्तै लाभदायी हुनेछ ।

नेपाललाई पनि स्वीट्जरल्याण्ड बनाँउछौं भन्ने हाम्रा नेताहरुको कथन त तपाईंले सुन्नुभएकै होला । नेताहरुको गफ सुन्दा र स्वीट्जरल्याण्ड घुम्दा कस्तो लाग्यो ?

हामी नेपाली धेरै नै सोझा छौं । अलिकति कसैले गफ दिने बित्तिकै विश्वास गर्छौं । मलाई लाग्छ अब त्यो बेला गयो । सबैको गफ सुन्यौं । सबैलाई विश्वास गर्‍यौं । अब गफ दिने मान्छेले के बोल्यो भन्दा पनि उसले के काम गरिरहेको छ भनेर त्यहाँतिर ध्यान दिनुपर्छ जस्तो लाग्छ । इमान्दार नेता छ भने  बोली अनुसारकै काम हुनुपर्छ । त्यसमा खबरदारी गर्न सक्नुपर्छ ।

भनेपछि,नेपाललाई स्वीट्जरल्याण्ड बनाउनेभन्दा पनि नेपाल आफैंलाई समृद्ध बनाउनुपर्छ भन्नेमा तपाईंको जोड हो ?

बिल्कुल । नेपालको आफ्नै एउटा भूगोल छ । आफ्नै एउटा अस्तित्व छ । नेपाललाई स्वीट्जरल्याण्ड बनाइदिने वा सिंगापुर बनाइदिने भन्ने कुराहरु छोडदिए हुन्छ । बरु ठूला ठूला कुरा होइन । सानो सानो परिवर्तन ल्याऔं, परिवर्तनका लागि कोसिस गरौं । अन्तत: देशको परिवर्तन हुने राजनीतिबाट नै हो । जबसम्म सही मान्छे त्यो ठाउँमा पुग्दैनन् तबसम्म हाम्रो केही हुनेवाला छैन । खाली हामीले गफाडीहरुलाई विश्वास गरेर हाम्रो लिडर भन्ठान्नेछौं ।

घुमफिरको कुरालाई एकैछिन रोकौं । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका स्वीट्जरल्याण्डमा थुप्रै नेपालीहरु पनि हुनुहुन्छ । तपाईंले पनि भेट्नुभयो । उहाँहरु के भन्नुहुन्छ ?

हो, मैले यहाँ रहनुभएका नेपाली वैज्ञानिक, इन्जिनियर,विभिन्न क्षेत्रका विज्ञहरु लगायत नेपाली समुदायसँग भेटघाट गर्ने र कुराकानी गर्ने मौका पनि पाएँ । पहिले पहिले विदेश आउँदा लेवर काममा मात्रै आउनुहुन्थ्यो । तर अहिले नेपालीहरु विदेशमा भेट्दाखेरि धेरै पढेलेखेको पाइन्छ । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरुसँग पनि भेट हुन्छ ।

विदेशमा रहे पनि उहाँहरुलाई नेपालप्रति असाध्यै माया छ । यो कसैले भन्नु पर्दैन । कसैले देखाउनु पर्दैन । उहाँहरुलाई देशप्रति साँचो माया छ । धेरै भाइबहिनी नेपाल गएर केही गरौं भन्ने भावना राख्नुहुन्छ । म सरकारलाई अनुरोध गर्न चाहन्छु कि उहाँहरुले सिकेको ज्ञान सीप र विज्ञतालाई साट्ने वातावरण तय गरिदिनुपर्छ । उहाँहरुको अनुभव नेपालको लागि प्रयोग होस् भन्ने चाहन्छु । मलाई आशा छ, उहाँहरुले गर्नुहुन्छ । तर सरकारले बाटो तय गरिदिनुपर्छ । वातावरण बनाइदिनुपर्छ । यो चाहिं बेला भइसक्यो । अहिले गरेनौं भने कहिले गर्छौं ?  नेपालका लागि के गरौं भन्ने भावना उहाँहरुले मनमा राख्नुभएको छ ।

स्वीट्जरल्याण्डको प्रमुख पर्यटकीय गन्तव्य सहर इन्टरल्याकेन जहाँ थुप्रै बलिउड फिल्म छायांकन भएका छन् । यहाँको सम्झनामा त्यस्तो केही छ ?

मैले  स्वीट्जरल्याण्डमा आएर धेरै काम गरिसकेकी छु । धेरै फिलम्को सुटिङ गरिसकेकी छु । पुराना पलहरुलाई ठ्याक्कै भन्नेगरी त्यस्तो याद त छैन । तर के हुन्छ भने सुटिङ गर्ने बेलामा एउटा ठाउँमा आइन्छ । अर्को दिनबाट काम सुरु हुन्छ । जुन दिन काम सकिन्छ, भोलिपल्ट फर्किनुपर्ने हुन्छ ।

सन् २०११ मा यहाँको प्रदेश (क्यान्टोन)ले ‘एम्बासडर अफ इन्टरल्याकेन’ को मानार्थ उपाधिले निर्माता तथा निर्देशक एस चोपडालाई पनि सम्मान गरेको थियो स्वीट्जरल्याण्ड र बलिउडबीचको माया निकै घनिष्ट छ है । भारतसँगै जोडिएको हाम्रो देशमा कैयौं त्यस्ता सुन्दर ठाउँहरु छन् तर बलिउडको खासै ध्यान केन्द्रित भएको छैन नि

बेसिक नलेज के हुन्छ भने जुनसुकै विदेशी प्रोडक्सन हाउस होस् । चाहे बलिउड होस् वा अन्य कुनै । यहाँ सुटिङ गर्दा सुविधा दिनुपर्‍यो । स्वीकृति सजिलोसँग पाउनुपर्‍यो । सजिलो प्रक्रिया बनाइदिनुपर्‍यो ।

कुनै पनि विदेशी प्रोडक्सन हाउसले नेपालमा आएर सुटिङ गर्नुछ भने त्यो वातावरणालाई अनुकूल बनाइदिनुपर्छ । स्वागतयोग्य बनाइदिनुपर्छ । हामी नेपालमा गएर सुटिङ गरेका थियौं कस्तो राम्रो वातावरणा रहेछ, सरकारले, स्थानीय निकायले राम्रो सहयोग गर्‍यो भन्ने किसिमको अनुभवसहित उहाँहरुलाई फर्काउने वातावरण तय गरिदिनुपर्छ । वर्ड अफ माउथ र गुडविलजस्ता कुराहरुले दीर्घकालीन रुपमा चलिरहन धेरै ठूलो मद्दत पुग्छ । यी कुराहरुले नै गर्दा बलिउडलाई स्वीट्जरल्याण्डले तानिरहेको छ ।

सरकारी स्तरबाट सहयोग नभएर नै हो भन्ने तपाईंको आशय हो ?

मलाई लाग्छ धेरै कुरा छन् । प्राकृतिक रुपले नेपाल सुन्दर छ । तर ती सुन्दर ठाउँहरुमा अहिले पनि  बाटो पुगेको छैन । यातायातको समस्या छ । पूर्वाधारहरुको राम्रो विकास भएको छैन । अहिले प्रविधिको युग हो । हामीले त्यो स्तर सेवा र सुविधा दिन सकिरहेका छैनौं । विकसित देशहरुमा यी सबै कुरा धेरै पहिलेदेखि नै छन् । त्यसैले धेरै सुविधाहरु प्राप्त हुन्छन् । मुख्यत: पयर्टन कृषि र जलस्रोत यी तीनवटा कुराहरुलाई राम्रोसँग उपयोग गर्न सक्नुपर्छ ।

अन्त्यमा, तपाईंको पछिल्लो प्रोजेक्ट सञ्जयलीला भन्सालीले निर्देशन गरिरहेको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’बारे बताइदिनुस् न । 

यो मेरो पेट प्रोजेक्ट हो । मलाई काम गर्दा असाध्यै मन परेको छ । मैले मात्र होइन सम्पूर्ण टिमले नै धेरै मेहनत गरेका छौं । मैले २५ वर्षपछि सञ्जयलीला भन्सालीसँग काम गरेकी छु । असाध्यै रमाइलो र राम्रो काम भएको छ । अझै सुटिङ बाँकी नै छ । यहाँबाट नेपाल फर्किएपछि केही दिन आराम गर्छु । त्यसपछि पुन: काममा फर्किने छु । राम्रो सिनेमा बन्ने अपेक्षा छ । आशा छ, जनवरी-फ्रेबुअरीसम्ममा तपाईंहरुले देख्न सक्नुहुनेछ ।

Share.

Leave A Reply