२६ वैशाख २०८१

काँग्रेसका सबै पदको मतगणना सम्पन्न

0

काठमाडौँ, १ चैत । नेपाली काँग्रेसमा १३ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको सबै पदको मतगणना सम्पन्न भएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य प्रदीप पराजुलीका अनुसार केहीबेरअघि सम्पन्न प्रदेश केन्द्रीय सदस्यको मतगणनानुसार प्रदेश नं १ बाट गुरुराज घिमिरे एक हजार ३४० र भीष्मराज आङ्देम्बे एक हजार २०८ मत ल्याई विजयी हुनुभएको छ ।
प्रदेश नं २ बाट आनन्दप्रसाद ढुङ्गाना एक हजार ४६१ र रमेश रिजाल एक हजार ४५७ मतसहित विजयी हुनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । प्रदेश नं ३ बाट नवीन्द्रराज जोशी एक हजार २२५ र मोहनबहादुर बस्नेत एक हजार ६७ मत ल्याई विजयी हुनुभएको तथा प्रदेश नं ४ बाट गोविन्द भट्टराई एक हजार २९९ र सुरेन्द्रराज पाण्डे एक हजार २८६ मतसहित विजयी हुनुभएको छ ।

प्रदेश नं ५ बाट दीपक गिरी एक हजार ४७२ र देवेन्द्रराज कँडेल एक हजार ३४७ मत, प्रदेश नं ६ बाट हृदयराम थानी एक हजार ६१२ र जीवनबहादुर शाही एक हजार ५२ तथा प्रदेश नं ७ बाट दिलेन्द्रप्रसाद बडू एक हजार ६०२ र वीरबहादुर बलायर एक हजार ३८९ मतसहित केन्द्रीय सदस्यमा विजयी हुनुभएको समितिले जनाएको छ ।

काँग्रेस विधानमा प्रत्येक प्रदेशबाट दुई जनाका दरले केन्द्रीय सदस्यको निर्वाचन हुने प्रावधान छ । तीन पदाधिकारी, २१ समावेशी र २५ खुला केन्द्रीय सदस्यको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ । काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा तीन हजार १६१ मतमध्ये तीन हजार १४८ मत खसेको थियो । खुला २५ सदस्यका लागि ९० र सात प्रदेशको १४ स्थानका लागि ६७ जनाले उम्मेदवारी दिनुभएको थियो । रासस

Share.

Leave A Reply