३१ वैशाख २०८१

संविधान निर्माणमा पत्रकारको भूमिका महत्वपूर्ण उपप्रधानमन्त्री रावल

0

उपप्रधान मन्त्री तथा रक्षामन्त्री भीम रावलले लोकतन्त्रका रक्षक पत्रकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ जिल्ला शाखाको वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – “सबै कुराले समावेशी एवम् समानुपातिक संविधानकोे कार्यान्वयनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।”

जनमत सिर्जना गर्ने शक्तिशाली संयन्त्र पत्रकार महासङ्घले संविधान कार्यान्वयनमा सहयोग गर्नु अपरिहार्य भएको बताउँदै रक्षामन्त्री रावलले जनताको अधिकार स्थापित गराउनका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पारस्परिक एकताले मात्र मुलुकको हित हुने बताउँदै उहाँले ९० प्रतिशत जनताले समर्थन गरेको संविधान जलाउनु नेपाली जनताको मन जलाउनुसरह भएकाले त्यसो नगर्न र साम्प्रदायिक सद्भावना नबिगार्न आग्रह गर्नुभयो ।

लोकतन्त्रमा विश्वास गर्नेले संविधानलाई नकार्न नसक्ने उल्लेख गर्दै रक्षामन्त्री रावलले आन्दोलनरत तराई केन्द्रित दललाई वार्ता र संवादबाटै असहमतिलाई सम्बोधन गर्न सकिने भन्दै वार्तामा बस्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बोर्डबहादुर कार्कीले पत्रकारितालाई व्यवस्थित एवम् पारदर्शी बनाउनका लागि विद्यमान आचारसंहितालाई परिमार्जन गरेर लागू गर्न लागिएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चार क्षेत्रमा भएको लगानी, प्रयोग हुने प्रविधि र जनशक्तिबाटै पत्रकारिताको व्यावसायिकता कायम हुने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ र सूचना तथा सञ्चारमन्त्रालयका सहसचिव रामचन्द्र ढकालले पत्रकारिता क्षेत्रबाटै विकासका कार्यक्रम अगाडि बढाउन सकिने र त्यसका लागि इमान्दार पत्रकारिता आवश्यक हुने बताउनुभयो ।

पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष गोविन्द चौलागाईं एवम् सम्बन्धित सङ्घ सङ्गठनहरु प्रेस चौतारी नेपाल, प्रेस युनियन, क्रान्तिकारी पत्रकार सङ्घ, क्रान्तिकारी पत्रकार महासङ्घका प्रतिनिधिले संविधानको सफल कार्यान्वयनका लागि ऐन र नियम परिवर्तन गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । रासस

Share.

Leave A Reply