१७ वैशाख २०८१

विना दर्ताका अनलाइनलाई बन्देजको तयारी

0

काठमाण्डौ, माघ १८ गते । अनलाइन समाचार माध्यममा आएको तीव्र विकाससँगै पत्रकार आचारसंहिता उल्लङ्घनका घटनामा भएको बढोत्तरी हटाउन आवश्यक भएकोमा जोड दिइएको छ ।

प्रेस काउन्सिलमा आज आयोजित छलफल कार्यक्रमका वक्ताले अनलाइन माध्यमले प्रेस स्वतन्त्रताको उपयोग गर्दा पत्रकार आचारसंहिताको पालना हुनुपर्छ  भन्ने कुरा बिर्सन नहुने धारणा राखेका थिए ।

उनीहरुले अनलाइनका कस्ता समाचार साइवर अपराधअन्तर्गत पर्ने र कस्ता समाचार नपर्ने भन्ने स्पष्ट नहुँदा समस्या परेको बताए ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले अनलाइन माध्यमको दुरुपयोग गर्नेलाई कठोर कारबाहीको आवश्यकता रहेको बताउँदै ‘फेसबुक’ र ‘ब्लग’लाई पनि कानुनको दायरामा ल्याउन आवश्यक रहेकामा जोड दिए ।

उनले दर्ता नगरी अनलाइन सञ्चालन गर्नेलाई बन्देज लगाउने तयारी भइरहेको जानकारी दिए । महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बिना दर्ता, बिना ठेगानाका अनलाइनलाई नियमन गर्न आवश्यक रहेकोमा जोड दिए ।

उनले पत्रकारको नाममा साइवर अपराधका कार्यसमेत भइरहेको बताउँदै त्यसलाई रोक्न नसके समग्र पत्रकारिता क्षेत्रकै विश्वसनीयतामा कमी आउने बताए ।

कम्प्युटर एसोसिएसन नेपाल(क्यान)का पूर्व अध्यक्ष विप्लवमान सिंहले प्रायः अनलाइनले बिहानै ‘पत्रपत्रिका’ भनेर अनुमतिबिना अन्य पत्रिकाको समाचार दिने कार्यपनि प्रतिलिपी अधिकारको हनन् भएको बताए ।

आइटी सर्ट नेपालका अध्यक्ष राजनराज पन्तले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल सूचना प्रविधि सुरक्षामा अत्यन्त कमजोर अवस्थामा रहेको बताए । रासस

Share.

Leave A Reply