१६ वैशाख २०८१

एनआरएनएद्वारा झण्डै १ करोड ६० लाख रुपैयाँको जीवनरक्षक औषधि प्रदान

0

काठमाण्डौ। गत असोजबाट सुरु भएको नाकाबन्दीका कारण नेपालका अस्पतालमा जीवनरक्षक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले करिव १ करोड ६० लाख रुपैयाँको औषधि र औषधिजन्य सामाग्रीहरु नेपाल सरकारलाई सहयोगस्वरुप हस्तान्तरण गरेको छ ।

पहिलो, दोस्रो र तेस्रो चरणमा गरी करिव १ करोड पाँच लाखको औषधि हस्तान्तरण गरेको संघले हालै थप करिव ५५ लाख रुपैयाँ औषधि तथा सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

बिश्वभर छरिएर रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट बिभिन्न देशमा औषधि खरिद गरी संघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा बिभाग तथा जनकपुर, नारायणी तथा वुटवल अञ्चल अस्पतालहरुलाई ती औषधि उपलब्ध गराएको थियो ।

हालै मात्र गैरआवासीय नेपालीहरुको सहयोगमा अष्ट्रेलियाबाट अष्ट्रेलियन डलर ३१,७७४ -हवाई ढुवानी भाडा सहितको मूल्य) बराबरको जीवन रक्षक औषधी तथा औषधीजन्य सामाग्रीहरु सहयोग गरिएको छ । यसैगरी चीन बाट अमेरीकन डलर ६,६२३ मूल्य बराबरको औषधीजन्य सामग्रीहरु (Blood Bag and Blood Transfusion Set) प्राप्त भएको छ जसलाई नेपाल वायुसेवा निगमले हङ्गकङ्गबाट निशुल्क ढुवानी गरी काठमाण्डौं ल्याईदिएको थियो।

सो सामाग्री पनि नेपाल सरकार, स्वास्थ मन्त्राल्य, स्वास्थ सेवा विभाग आपूर्ति महाशाखालाई हस्तान्तरण गरेकोछ । यी सहयोगार्थ पठाईएका परोपकारी सामग्रीहरुको वजार मुल्य यो भन्दा निकै गुण बढि रहेको सहयोगीहरुले वताईएकाछन् ।

पहिलो चरणमा गत् मंसीर ८ गते ३८ लाख मुल्य बराबरको जीवन रक्षक औषधीहरु संघका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गर्नु भएको थियो ।

दोश्रो चरण मंसीर १४ गते संघले जनकपुर, नारायणी र बुटबलका क्षेत्रीय अस्पतालहरुलाई २५ लाख ७४ हजार रुपैयांको औषधि हस्तान्तरण गराएको थियो । मन्त्रालयसँगको सहमति र नेपाली सेनाको सहयोगमा संघले तीनवटै अस्पताललाई सम्बन्धित स्थानमै पुगेर औषधि हस्तान्तरण गरेको थियो ।

तेश्रो चरणमा संघले ५० लाख १८ हजार रुपैयां बराबरको औषधि स्वास्थ राज्यमन्त्री म. मुस्ताक आलम मार्फत नेपाल सरकार स्वास्थ मन्त्रालय औषधी विभागलाई हस्तान्तरण गरेको थियो ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै मातृभूमीलाई परेको हरेक बिपतको बेला सहयोग गर्ने संघको प्रयास रहेको छ ।

औषधी हस्तान्तरण गर्दै संघका अध्यक्ष शेष घलेले भन्नुभयो ‘यस्तो बिपतमा हामी हिजो पनि चुप लागेर बसेनौं, आज पनि बसेनौं र भोलीका दिनमा आइपर्ने कुनै पनि अप्ठेरो परिस्थीतिमा संसारभरका गैरआवासीय नेपालीहरु नेपाली दाजुभाई दिदीबहिनीको साथमा रहनेछन् ।’

पहिलो चरणमा करिव तीन करोडको औषधि दिने योजना रहेको भए पनि अस्पताल र सरकारसँगको छलफलपछि अन्य दातृ निकायले समेत अत्याबश्यक औषधिहरु सहयोग गरिरहेको हुँदा आबश्यक परेको खण्डमा फेरि सहयोग गर्ने योजना अनुसार यो चौथो चरणको अष्टे्रलिया तथा चीनवाट प्राप्त अतिआवश्यक औषधी तथा औषधीजन्य सामाग्रीहरु हस्तान्तरण रहेको छ ।

यी हस्तान्तरण गरिएका अतिआवश्यक औषधी तथा औषधीजन्य सामाग्रीहरु स्वास्थ मन्त्रालय, स्वास्थ सेवा विभाग आपूर्ति महाशाखाले आवश्यक परेका विभिन्न जिल्ला अस्पतालहरुमा पठाउने छ ।

हाल नाकावन्धी पहिलेको जस्तो नरहेको तथा नेपाल सरकारले समेत चालिस करोड बाराबरको अतिआवश्यक औषधीहरु द्रुत खरिद प्रकृया मार्फत खरिद गर्न लागेको अवस्थामा नेपाल सरकारले खरिद गर्न लागेको अतिआवश्यक औषधिमा समावेश नभएका औषधीहरु आवश्यक परेमा संघ पुनः सहयोग गर्न तयार रहेको छ । अन्यथा यो नै अन्तिम हस्तान्तरण हुने छ ।

औषधी हस्तान्तान्तरणको अलावा देशलाई आईपरेको यस मानवीय संकटको बिश्व समुदाय माझ जानकारी गराउने उदेश्य अनुरुप बिभिन्न देशहरुमा गैरआवासीय नेपाली संघको अगुवाईमा कार्यक्रमहरु संचालन भएका थिए।

जसको नारा ‘नेपाल होप्स’ शिर्षकमा ‘हामीलाई जस्तो तिमिलाई नपरोस’ भन्ने सन्देशसहित नेपालको मानवीय संकटलाई झल्काउने गरी अभियान समेत थालिएको थियो ।

यस कार्यमा महत्वपूर्ण योगादान गर्ने नेपाल सरकार, नेपाली सेना, नेपाल वायुसेवा निगम, डा. भगवान कोईराला, डा. वालकृष्ण खकुरेल, डा. भिम सिंह तिनकारी, डा. गणेश गुरुङ्ग, संघका संरक्षक कुलचन्द्र गौतम लगायत मानवीय संकट समाधान र यसलाई अन्तराष्ट्रियकरण गर्ने अभियानमा सहभागी हुने सवै सहयोगी हातहरुलाई गैरआवासीय नेपाली संघ हार्दिक आभार प्रकट गर्दछ । यसैगरी सहयोग संकलनका लागि अष्ट्रेलियाबाट समन्वय गर्नुहुने डा. रेखा गुरुङ, दीपा राई, धर्मराज अधिकारी, एनआरएन अष्ट्रेलिया भिक्टोयरया राज्य समितिका केशव कँडेल, एनसीसी अष्ट्रेलिया तथा चीनबाट सहयोग संकलनका लागि डा. राजीवप्रसाद केशहरी तथा उहाँको टीम, एनसीसी चीन, त्रिलोक गुरुङ तथा नेपाल बायुसेवा निगमलाई पनि हार्दिक आभार प्रकट गर्दछ ।

मितिः २०७२ माघ १४ गते

रन्जु थापा
प्रवक्ता
गैरआवासीय नेपाली संघ

Share.

Leave A Reply