२४ वैशाख २०८१

सिन्धुपाल्चोकमा एनआरएनले गर्यो विद्यालय भवनको शिलान्यास

0

उद्वव भट्टराई, असोज २४, सिन्धुपाल्चोक। गैरआवासीय नेपालीहरुको सहयोगमा निर्माण हुन लागेको भूकम्प प्रभावित सिन्धुपाल्चोकको विकट गाउँ सोलसिङमा रहेको सोलसिङ सामुदायीक विद्यालय भवनको शिलान्यास गरिएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष टीबी कार्की, पूर्वअध्यक्ष जिवा लामिछानेले शनिवार एक कार्यक्रमकाबीच संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् । विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुको सहयोगमा भूकम्पले पूर्णरुपमा क्षतिग्रस्थ उक्त विद्यालयको भवन निर्माण गर्न लागिएको हो।

भूकम्पबाट पुर्णरुपमा क्षतिग्रस्त सोलसिङ गाउँलाई नयाँ स्थानमा स्थानान्तरण गर्नुपर्ने भएकाले उक्त गाउँको विद्यालय पूर्णरुपमा बनाउन आवश्यक सहयोग संकलनका लागि गैरआवासीय नेपाली संघ बहराइनका सल्लाहकार तथा सोलसिङकै स्थानीयवासी श्याम तामाङ र मिङमार तामाङले अभियान नै चलाएका छन् । उक्त विद्यालय भवन निर्माणका लागि विभिन्न देशमा रहेका नेपाली, विभिन्न संघसंस्था तथा सेभेन समिट फाउण्डेशनले सहयोग गरेका छन्।

शिलान्यास कार्यक्रममा पुगेका एनआरएनका अध्यक्ष घलेले विद्यालय पुनर्निर्माणसँगै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्दै सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले भने-‘विद्यालय बनेर मात्र हुँदैन, शिक्षा पनि राम्रो दिनुपर्छ, यसका लागि म र मेरो संस्थाले सहयोग गर्नेछ ।’ यस्तै संघका उपाध्यक्ष टीबी कार्कीले भूकम्पले प्रभावित क्षेत्रमा एनआरएनले सहयोग गरिरहेको जानकारी दिदै उक्त विद्यालय निमार्णका लागि आर्थिक सहयोग समेत गरे।

विद्यालय निमार्णका अभियानकर्ता मिङमार तामाङले सहयोग गर्ने एनआरएन तथा विभिन्न संघसंस्थालाई धन्यवाद दिदै भने-‘छिट्टै नै विद्यालय निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौ र अझ सहयोगका हात बढाउन विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गर्छौ ।’
सो अवसरमा उक्त विद्यालयमा अध्ययनरत करिब १ सय ५० विद्यार्थीलाई संघका महासचिव कुमार पन्तले जुत्ता, एनआरएन अमेरिकाका आइसीसी सदस्य एसी शेर्पाले स्कुल युनिर्फम, एनआरएन एशिया प्यासिफिकका उपसंयोजक रोविन्द श्रेष्ठ (गोविन्द)ले स्कुल ब्याग हस्तान्तरण गरे । यस्तै एनआरएन उत्तर अमेरिकाका उपसंयोजक सोनाम लामा र एनआरएन ओसिनिया क्षेत्रीय उपसंयोजक भूमा लिम्बूले विद्यालय निमार्णमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएन युवा फोरमद्वारा कापी कलम वितरण

एनआरएनए आईसीसी युवा फोरमले आफ्नो ‘कापीकलम’ अभियान अन्तर्गत पहिलो पटक सोलसिङ सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कापी, कलम तथा स्कुल व्याग वितरण गरेको छ । युवा फोरमका उपसंयोजक कृष्ण गिरीले सो सामाग्री वितरण गर्दै भने-‘हामीले पहिलो पटक कापीकलम अभियानमार्फत यस विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्‍यौ अब यसलाई अभियानकै रुपमा मुलुकभर पुर्‍याउनेछौ ।’

‘डलर एक कापि र कलम’ नामक अभियान चलाएर गिरीले अष्ट्रेलियामा अध्ययनरत गैरआवासीय नेपालीहरुका सन्तानबाट संकलित रकमबाट नेपालका सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण योजना शुरु गरेका हुन । उनले यो अभियान विश्वभर पुर्‍याएर नेपालको शिक्षामा टेवा दिने लक्ष्य लिएका छन्।

-अनलाईनखबर

Share.

Leave A Reply