२२ वैशाख २०८१

देशमा संविधान जारी भयो, पोर्तुगलमा च्यातियो

0

योगेन्द्रमिलन छन्त्याल, २१ सेप्टेम्बर,  पोर्तुगल । नेपालमा संविधान जारी हुँदै गर्दा प्रवासमा भने यसप्रति असन्तुष्टी जनाउदै च्यात्ने र जलाउने कार्यक्रम सम्पन्न भएका छन् । पोर्तुगलमा नेपाल आदिवासी जनजाति महासंघ र नेपाली संघीय समाजवादी फोरमले यथास्थितिवादी भएको टिप्पणी गर्दै संविधान च्यातेका हुन् । 

आइतबार राजधानी लिस्बनको केन्द्र रोस्सियोमा आयोजना गरिएको यथास्थितिवादी संविधान च्यात्ने कार्यक्रममा सहभागीहरुले आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, दलित र पिछडिएका वर्गको अर्थपूर्ण सहभागिता, छलफल र परामर्शबिना तीन दलका नेताको खल्तीबाट तयार पारिएको प्रस्ताव जबरजस्त संविधानको रुपमा लागू गरिएकोमा असन्तुष्टी प्रकट गरे ।

आदिवासी जनजाति, मधेसी र दलितहरुसँग पटक पटक गरिएका सहमति र सम्झौता, अन्तरराष्ट्रिय संविधान निर्माणको सिद्धान्त र पहिलो संविधानसभाद्वारा निर्णय भैसकेका जनपक्षीय विधेयकहरुलाईसमेत बेवास्ता गर्दै ल्याइएकोले यो संविधान यथास्थितिवादी रहेको उनीहरुको दाबी छ । 

‘समानुपातिक निर्वाचन प्रणाली हटाइएको छ, अपूरो संघीयता घोषणा गरी विवाद सिर्जना गरिएको छ ।’ महासंघका अध्यक्ष कान्छा शेर्पाले यस्तो कार्यक्रमको पुष्टी गर्दै भने, ‘तराइ र थरुहटमा आगो दन्किएको छ तर यी सत्ताका लागि गधालाई गाई भन्नेहरुले मान्छे मार्दै र जननिर्वाचित सभासदहरुलाई भेडा बनाएर ल्याएको संविधान कत्तिञ्जेल टिक्छ ?’   

महासंघका संरक्षक एवम् किराँत समाज पोर्तुगलका अध्यक्ष गणेश याक्खाले वार्ताको नाटक गरेर हामी सबैको अपमान गरेको बताए । याक्खाले थपे, ‘यी टाउकेहरुले देशलाई बन्दी बनाएर आफ्नो सत्ता लम्ब्याउन चाहन्छन् । उनीहरु यति संकुचित छन् कि शोषित पीडित तथा उत्पीडित वर्ग समुदायलाई अधिकार दिंदा उनीहरुको सता गुम्ने डर छ । तर आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, दलित, शोषित पीडित र पिछडिएका वर्गको आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक, भाषिक र क्षेत्रीय अधिकारबिना देश सधै गरिब र कङ्गाल रहने निश्चित छ। ‘ 

२० सेप्टेम्बरको दिन नेपाली ईतिहासमै कालो दिन हो । पचासौ नागरिकलाई मारेर ल्याइएको तथाकथित संविधान कुनै हालतमा स्वीकार्य छैन । उनीहरुले अङ्ग्रेजीमा लेखिएको जानकारीमूलक दर्जनौ कालो प्ले कार्ड समाएका थिए । महासंघका महासचिव योगेन्द्रमिलन छन्त्यालले कार्यक्रमको औचित्यताबारे प्रष्ट्याएका थिए साथै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।  

Share.

Leave A Reply