३० वैशाख २०८१

नयाँ संविधान वार्ता र सहमतिबाटै बन्छः प्रचण्ड

0

एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले वार्ता तथा सहमतिबाटै संविधान बन्ने दावी गर्नुभएको छ ।
जिल्ला विकास समिति कास्कीको जिल्ला परिषद्को बैठकलाई बुधबार सम्बोधन गर्दै प्रचण्डले सहमतिबाट संविधान बनाउनका लागि आफ्नो पार्टी हदैसम्म लचिलो हुने बताउनुभयो । भोलि बिहानै काठमाडौंमा पुगेर प्रधानमन्त्री र एमालेका नेताहरुसंग भेटेर औपचारिक रुपमा वार्ताका लागि आह्वान गर्न लगाउने प्रचण्डले जानकारी दिनुभयो ।
एमाओवादीले सदियौंदेखि उत्पीडनमा परेकाहरुलाई अधिकार दिनेगरी अग्रगामी संविधान बनाउनका लागि आवाज उठाएको बताउनुभयो । संविधानसभाबाटै संविधान बनाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै प्रचण्डले संविधानबाट जनतालाई अधिकार दिने बताउनुभयो । ‘गिभ एन टेक’ नगरी संविधान बन्न नसक्ने बताउंदै उहांले संविधान बनाउनका लागि गिभ एन टेक हुनुपर्ने बताउनुभयो ।
जनतालाई अधिकार दिनेगरी संविधान बनेपछि मात्र देश बलियो हुने उहांको भनाइ छ । एकीकृत माओवादीलाई अन्य दलले जबरजस्ती जातिबादी भनेर आरोप लगाएको प्रचण्डले गुनासो गर्नुभयो । आफ्नो पार्टी कहिल्यै पनि जातिवादी नभएको बताउंदै प्रचण्डले एमाओवादी जातिवादी नभइ साम्यवादी पार्टी भएको भनाई राख्नुभयो ।
उत्पीडनमा परेका जातिलाई अधिकारको माग गर्दा जातिवादी पार्टी भनेर आरोप लगाउन नमिल्ने उहांको भनाइ छ । नेपाल वहुजातीय, बहुभाषिक, वहु सांस्कृतिक र बहुभौगोलिक देश भएको बताउंदै प्रचण्डले अब बन्ने संविधानमा सबै क्षेत्र र जातिलाई सम्बोधन गरिनुपर्ने बताउनुभयो । आफुहरुको माग संविधानमा सबैलाई सम्बोधन गरिनुपर्छ भन्ने रहेको प्रचण्डको भनाइ थियो ।
एमाओवादीलाई अन्य दलले जबरजस्ती जातिवादी भनेर आरोप लगाउंदा आफूहरुले खण्डन गर्न नसकेको उहांले स्वीकार गर्नुभयो । सयौं वर्षदेखिको उत्पीडनलाई अन्त्य गरिनुपर्ने बताउदै उहाँले नेपाललाई सबै जातजाति र भाषाभाषीको साझा फुलबारी बनाउनु पर्ने बताउनुभयो । आफू र आफ्नो पार्टीले एकल जातीय राज्य नभनेको बताउंदै उहांले सबै जातिको सम्मान खोजेको भनाइ राख्नुभयो ।

Share.

Leave A Reply