१८ वैशाख २०८१

एनआरएनए आइसिसीको महिला उपाध्यक्ष पदमा सपिला राजभण्डारीको उम्मेदवारी

0

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को महिला उपाध्यक्ष पदमा वर्तमान आईसिसी महिला संयोजक सपिला राजभण्डारीले उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने आठौं विश्व सम्मेलन मार्फत आगामी २०१७ – २०१९ कार्यकालका लागि आफूले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने उनले घोषणा गरेकी हुन् ।
महिला संयोजक राजभण्डारीले उपाध्यक्ष पदका लागि तयार गरेको घोषणा पत्र सार्वजनिक गर्दै आफ्नो उम्मेदवारीलाई सार्वजनिक गरेकि हुन् ।

आईसिसीको उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट पार्दै उनले घोषणा पत्रमा भनेकी छिन् ‘ विश्वभरि छरिएररहेका ५० लाख नेपालीहरूको साझा संजाल, ‘नेपालको लागि नेपाली’ भन्ने मूल नाराका साथ सन्२००३ सालमा स्थापित गैर आवासीय नेपाली संघ, आज प्रवासी नेपालीहरूको पहिचानको भावनात्मक अभियान मात्र नभई, नेपाल र समस्त नेपालीहरुको सामाजिक, सास्कृतिक र आर्थिक समृद्धिको एक अभिन्न अंग बनेको छ।’ गैर आवासीय नेपाली संघले गरेका क्रियाकलापले नै यस संगठनको औचित्य तथा अपरिहार्यताको नेपाली जनता र सरकारले उच्च मूल्यांकन गरेको बताउँदै यस संगठनलाई यो उचाईमा पुर्याउन संस्थाका संस्थापक अग्रजहरूको दूरगामी सोचाई, अथक मिहेनत, समर्पण र असिम योगदानका साथ सबै एनआरएनहरुको पूर्वज प्रतिको श्रद्धा, आफ्नो भाषा,संस्कृति र पहिचान प्रतिको लगाव, देशभक्ति र हामी बिचको अभूतपूर्व एकता, नेपाली जनताको सद्भाव र सरकारको सहयोगले नै सम्भव भएको बताउने राजभण्डारी कूटनीतिक पृष्ठभूमिको परिवारमा जन्मिएर हुर्किएकी भएतापनि गैर आवासीय नेपाली अभियानका सिद्धान्त, उद्धेश्य र संस्थापक अभियन्ताहरूबाट अत्यन्त प्रभावित भई यस संगठनको प्रास्थान विन्दु रुसको राष्ट्रिय समन्वय परिषदसंग स्थापना कालदेखि नै आवद्ध रहेर विशेषत महिला हक, हित र सशक्तिकरणको लागि काम गर्न सदैव तत्पर भईरहने उनी गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०१३ देखि हालसम्म दुई कार्य अवधि महिला संयोजकको पदमा निर्विरोध निर्वाचित भएर निरन्तर सक्रिय छिन् ।
१४ वर्ष लामो संघको एनसिसी तथा आइसिसीका विभिन्न पदमा रहेर काम गरेको अनुभवलाई प्रष्ट्याउँदै उनले प्रवासी नेपालीहरुको आवश्यकतासँग आफू साक्षात्कार भएकोले परोपकारी काममा अझ बढी सशक्त ढंगले प्रस्तुत हुन आफ्ना अनुभवहरुले साथ दिने बताएकी छिन् । साथै उनले आईसिसीको विभिन्न पदमा बसेर नेपालमा स्वास्थ्य शिविर र जागरूकता कार्यक्रम, परोपकारी परियोजना र प्राकृतिक प्रकोप र विपदको बेलामा नेपालमा रहेर स्थलगत राहत कार्य गर्दा आम नेपाली जनताको दैनिक जीवन, समस्या र संघर्षहरू नजिकबाट अवलोकन गर्ने मौका पाएको बताउँदै ती कामहरुको अनुभवले देश र देशबासी प्रति आफ्नो कर्तव्य र उत्तरदायित्त्व अझ बलियो भएर आएको बताएकी छिन् ।
उम्मेदवारीसँगै आफ्ना प्राथमिकता र प्रतिवद्धताहरुको चर्चा गर्दै उनले बैदेशिक रोजगारीको क्रममा नेपाली महिलाहरुको समस्याको समाधान र समस्त महिलाहरुको हक, हीत , अधिकार, समुन्नति र सशक्तिकरण नै आफ्नो प्राथमिकता रहने बताएकी छिन् । त्यसैगरी बैदेशिक रोजगारमा रहेका महिलाहरुले खेप्नु परेका विभिन्न समस्या र त्यसको निराकरणका लागि नेपाली सरकार, दूतावास , एनआरएनए एनसिसी र महिलाहरुको क्षेत्रमा काम गर्ने सम्बन्धित देशका सरकारी, गैर सरकारी कल्याणकारी संस्थाहरुसंग समन्वयकारी सम्बन्ध बिस्तार गर्ने, एक हजार भन्दा बढी संख्यामा नेपाली महिला रोजगार भएको देशमा नेपाली राजदूतावाशको संरचनामा आपतकालीन सुरक्षा गृहको स्थापनाको जोडदार प्रयास गर्ने, महिला श्रमिकहरुको स्वास्थ्य बिमामा गर्भवती अवस्था र प्रसुति खर्चका साथै नवजात शिशुको स्वास्थ्य तथा चिकित्सा सम्बन्धी व्ययभार पनि समावेश गर्न पहल गर्ने, एनआरएन महिलाका बिदेशमा जन्मिएका सन्तानको नेपाली नागरिकताको हक र नेपालमा अन्य नागरिकले पाउने सम्पूर्ण अधिकार प्राप्तिको निम्ति संघर्षरत रहने, विशेषतः खाडी तथा मलेशिया जस्ता राष्ट्रहरुमा अधिकांश नेपाली महिलाहरु बैदेशिक रोजगारीको क्रममा घरेलु काममा संलग्न हुनु पर्ने अवस्थामा उनीहरुको कार्य क्षेत्रको स्तरोन्नतिका निम्ति र नेपालमा अन्य सीपमूलक तालिम केन्द्रहरुको स्थापनाको लागि नेपाल सरकार र सम्बन्धित निकाय संग संयोजनकारी भूमिका निर्वाह गर्ने, गैर आवासीय नेपाली संघ, आप्रवासी नेपालीहरुको संगठन मात्र नभई एक नितान्त भावनात्मक अभियान पनि हो तर अहिलेसम्म पंजीकृत सदस्यहरुको संख्या निकै कम भएकोले अझै पनि एनआरएनका सम्पुर्ण पक्षहरु सम्मिलित नभएको अवस्था भएकाले सदस्य पंजीकृत अभियानलाई अझ सशक्त बनाउन विभिन्न प्रकारका कार्यक्रम र योजना बनाउने, संस्थाको भविष्य बिदेशमा नै जन्मिएका हुर्किएका दोश्रो, तेश्रो एन आर एन पिढीहरुको यस संस्थासंगको आवद्धताले भर पर्ने भएकाले एन आर एनएका आगामी कार्यक्रमहरुमा नया पिढीहरुको समस्या, चुनौती र अवसरहरुलाई पनि संवोधन गर्न सक्ने बनाउने, नेपालको आर्थिक, सामाजिक विकास र परोपकारी कार्यहरुमा एनआरएनएले खेलेको महत्वपुर्ण भूमिका सहर्ष स्वीकार गर्दै आफ्नो कार्य क्षेत्र र सहयोग असिमित रुपमा बढाउन, आफ्नो कर्मभूमिको सरकारी, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा सक्रिय सहभागी भई त्यहाँको सरकार र अन्य विभिन्न निकायहरु संग नेपालको विकास र प्रवर्धनको निमित्त निरन्तर लविड. गर्न प्रत्येक देश र त्यहाँ रहेका एनआरएन बुद्दिजिवि, सफल व्यवसायी, अन्य प्रवुद्ध वर्गका साथै नेपाल प्रेमी स्थानीयहरु सम्मिलित लविड. ग्रुपको संरचनाको परिकल्पना तयार पार्ने आदि बताएकी छिन् ।
त्यसैगरी उनले विभिन्न व्यक्तिगत समस्याका साथै अन्तर्राष्ट्रिय मानव तस्करी माफियाहरुको जालझेलले ज्ञान, अज्ञानमा निकै ठुलो संख्यामा नेपालीहरु गैर कानूनी रुपमा आप्रवासी हुनु परेको यथार्थ औंल्याउँदै त्यस किसिमको गैर कानूनी अवस्थामा सिमित हुन पुग्ने मानन अधिकार लगायतका अमानवीय गतिविधलाई निरुत्साहित पार्दै नेपाल र बिदेशमा समेत आप्रवासन सम्बन्धी नीति नियमहरुको बारेमा यस क्षेत्रका विज्ञहरुसँगको सहकार्यमा कार्यक्रमहरु अगाडि बढाउने, वर्षेनी लाखौंको संख्यामा विदेशीने नेपाली यूवाहरुको रोजगारीका लागि देशभित्र नै रोजगारी सिर्जना गर्न एन आर एनएको सक्रियता र संलग्नतामा विभिन्न आर्थिक विकासका परियोजना ल्याउन नेतृत्वदायी भूमिका खेल्ने जसका लागि विदेशमा आर्जन गरेका ज्ञान, शिप र दक्षता सहित फर्किएका नेपालीहरुलाई नेपालमा नै रोजगारीको प्राथमिकता दिने, वैदेशिक रोजगारीका सम्बन्धमा नेपालमा विद्यमान भ्रम तथा सूचना हटाउन देशका विभिन्न क्षेत्रमा स्थानीय निकाय, शैक्षिक संस्थाहरु र यस क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुसंग मिलेर कार्यक्रम संचालन गर्ने, संघले गरिरहेका विभिन्न परोपकारी कार्यहरुलाई निरन्तर र अझ प्रभावकारी रुपमा संचालन गर्न नेतृत्वदायी भूमिका निभाउने, एनआरएनएका समस्या, चुनौती र हक हित, बैदेशिक रोजगारीहरुको श्रम अधिकार, एनआरएनको नेपाली नागरिकताको निरन्तरता साथै मताधिकारको सुनिस्चता जस्ता क्षेत्रमा नेपाल सरकार र सम्बन्धित निकाय संग समन्वय र सहकार्य गर्ने तथा नेपालको अर्थतन्त्रमा एनआरएनको ज्ञान, सीप, श्रोत र साधन मात्रै नभई बैदेशिक लगानीको लागि उपयुक्त वातावरण बनाउन अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र निजी क्षेत्र तथा सरकारी निकायहरुसंग संयोजन र सहकार्यका थप योजना बनाउनुका साथै नेपाली उत्पादनको निर्यात तथा एन आर एन ब्यापारी समुदायको विकास, बिस्तार, समन्वय र पारस्पारिक सहयोगको निमित्त प्रत्येक एनसिसीमा विजनेसम्यान क्लबको स्थापनाको परिकल्पना समेत तयार पारेको उनले बताएकी छिन् ।
त्यसैगरी उनले नेपाली भाषा, साहित्य, कला, संस्कृति र पर्यटन क्षेत्रको विकास, बिस्तार र प्रवर्धनको निमित्त बिदेशमा कम्तिमा पनि २(३ बर्षको अन्तरालमा नेपाल संस्कृति दिवस, नेपाली मेला महोत्सव जस्ता कार्यक्रमहरुको आयोजना गर्न नेपालमा सम्बन्धित मन्त्रालय, पर्यटन बोर्ड र बिदेशी सरकारी संघ संस्थाहरु संग संयोजन र सहकार्य गर्न प्रत्येक राष्ट्रिय समन्वय परिषदमा सक्रिय संस्कृतिक समितिको संरचना तयार पार्ने पहल गर्ने बताउँदै सँघले जारी राखेका परोपकारी कार्यहरु एवं सांगठनिक कार्यहरुमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्न आफू प्रतिवद्ध रहेको बताएकी छिन् ।

Share.

Leave A Reply