३१ वैशाख २०८१

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबारबाट शुरु

0

काठमाडौँ, ३ भदौ ।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारदेखि राजधानीमा शुरु हुँदैछ ।
‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त २५ औं महाधिवेशनको उद्घाटन आइतबार बिहान १० बजे प्रधानमन्त्री शेरवहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।
राजधानी काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने उक्त महाधिवेशनको सबै तयारी पूरा भइसकेको महासंघले जनाएको छ । आइतबारदेखि दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनका लागि देशभरबाट महाधिवेशन प्रतिनिधिहरु राजधानीमा आईसकेका छन् भने महाधिवेशन प्रतिनिधिहरुलाई राजधानीका बागबजार, सुन्धारा लगायतका स्थानहरुमा बस्ने व्यवस्था मिलाईएको छ ।
हरेक तीन तीन वर्षमा हुने महाधिवेशनले आगामी कार्यकालका लागि ४५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको कार्यसमितिको संरचना अनुसार १ अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ६ सचिव र १ कोषाध्यक्ष सहित ४५ सदस्यीय कार्य समिति चयन हुनेछ जसमा यसपटकदेखि दलित र मधेशी सचिव समेत थपिने महासंघले जनाएको छ । साथै यसै महाधिवेशनदेखि महासंघ संघीय संरचनामा समेत प्रवेश गर्नेछ ।
संघीय संरचना अन्तर्गत सातवटा प्रदेश सहित उपत्यका, एशोसिएट र प्रतिष्ठान गरी कूल १० प्रदेशमा समेत नयाँ नेतृत्व चयन हुने महासंघले जनाएको छ । जसअनुसार प्रत्येक प्रदेशबाट दुई जना केन्द्रीय सदस्य रहने छन् ।
१० हजार भन्दा बढी सदस्य रहेको पत्रकार महासंघको उक्त महाधिवेशनमा १५१५ जना प्रतिनिधिले सहभागिता जनाउने महासंघले जनाएको छ ।
आसन्न महाधिवेशनमा हालसम्म अध्यक्ष पदमा गोबिन्द आचार्य, तीर्थ कोइराला र उजीर मगर समेत तीन जनाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

Share.

Leave A Reply