१४ वैशाख २०८१

चीन, जापान तथा दक्षिण कोरियाली नेताले तीन वर्षमा पहिलोपटक वार्ता गरे

0

सोल, ७ चैत । दक्षिण कोरिया, चीन तथा जापानका विदेशमन्त्रीले गत तीन वर्षमा पहिलोपटक सोलमा शनिबार वार्ता आरम्भ गरेका छन् । यसमा उनीहरूले क्षेत्रीय तथा ऐतिहासिक विवादबाट सिर्जित क्षेत्रीय तनाव कम गर्न प्रयास गर्ने बताइएको छ ।
शृङखलावद्ध दुईपक्षीय बैठकपछि यी तीन मुलुकका प्रमुख कूटनीतिज्ञले सन् २०१२ पछि पहिलो औपचारिक वार्ता आरम्भ गरेका छन् । उनीहरूले यी तीन मुलुकका नेताबीच शिखर बैठक गराउने सम्भावनाका विषयमा पनि छलफल गर्नेछन् ।
उत्तरपूर्वी एसियाली यी तीन छिमेकीबीच बलियो अर्थिक सम्बन्ध रहेको छ । यसो भए पनि जापानले इतिहासमा कोरियाली प्रायःद्वीपमा कायम गरेको उपनिवेश तथा चीनको केही भागमा गरेको नियन्त्रणले उनीहरूबीच सम्बन्ध समस्याग्रस्त बनेको छ र उनीहरूबीच समाधान गर्न बाँकी विषय कायम रहेका छन् ।
लामो समयसम्म कायम घृणा तथा द्वीपहरूमा सार्वभौमसत्ताको विवादका कारण बेइजिङ तथा सोलले टोकियोबाट आफूलाई वर्षौँसम्म पर राखेका छन् । एसियाका यी तीन शक्तिले विश्वको कुल गार्हस्थ उत्पादनमा २० प्रतिशत स्थान ओगट्छन् तर पनि यी कारणले उनीहरूबीच सहयोग अवरुद्ध बनेको छ ।
यसलाई संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले पूर्वी एसियामा शान्ति तथा स्थिरताका लागि हराएको सम्पर्क र पुनः मेलमिलापको अभावको रूपमा ब्याख्या गर्नुभएको छ ।
दक्षिण कोरिया तथा जापानबीच विवादलाई वासिङ्टनले रणनीतिक दायित्वको रूपमा लिएको छ । उसले हाल बढ्दो रूपमा हढी मानिएको चीनविरुद्ध यी दुई मुलुकले संयुक्त मोर्चा बनाउन् भन्ने चाहेको छ ।
चीन तथा दक्षिण कोरियाबीच सम्बन्ध बलियो छ र उनीहरूले जापानले आफ्नो युद्धकालीन विगतका लागि पर्याप्त रूपमा पश्चाताप नगरेको अनुभव गरेका छन् ।
सन् २०१३ को डिसेम्बरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले युद्धमा मारिएका व्यक्तिको सम्मानमा स्थापित टोकियो स्मारक जानुहुँदा यी दुबैले क्रुद्ध रूपमा प्रतिक्रिया व्यक्त गरेका थिए । यस स्मारकमा वरिष्ठ युद्ध अपराधीप्रति पनि सम्मान व्यक्त गरिएको छ ।
तीनपक्षीय वार्षिक बैठक पुनः आरम्भ हुँदा सम्भवत यसै वर्षको अन्त्यसम्म शिखर बैठक आयोजना गर्नसकिने मार्ग खुला हुनसक्छ ।
यस बैठकका लागि कुनै विषय तय भएको छैन । यी तीन विदेशमन्त्री विपत्ति जोखिम न्यूनीकरण तथा वातावरण जस्ता कम संवेदनशील तथा सहयोगका विषयमा आफ्नो ध्यान केन्द्रित गर्न चाहन्छन् ।
दक्षिण कोरियाली कूटनीतिज्ञ तथा सोल राष्ट्रिय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक ओके–ह्युनले यी तीन मुलुकबीच रहेको तनाव भुल्न नसकिने भएको बताउनुभयो ।
दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हे तथा चिनियाँ समकक्षी सी जिनपिङले दुई पटक फलदायी शिखरवार्ता गर्नुभएको छ । दक्षिण कोरियाली राष्ट्रपति पार्कले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सीले बेइजिङमा गत वर्ष सम्पन्न एपेकको बैठकमा जापानी प्रधानमन्त्री आबेसँग छोटो भेट गर्नुभएको थियो ।
यसो भए पनि जापान तथा चीनबीच कार्यसमूहमा सहयोग कायम छ र चार वर्षमा हालै उनीहरूले पहिलो सुरक्षा वार्ता गरेका छन् ।
आइतबारको बैठक दुई पक्षीय बैठकबाट आरम्भ भयो । दक्षिण कोरियाली विदेशमन्त्री युन बाइयुङ–सेले चिनियाँ तथा जापानी समकक्षी वाङ यी तथा फुमियो किसिदासँग वार्ता गर्नुभयो ।
यी दुबै बैठकमा उत्तर कोरियाको पारमाणविक आकाँक्षा नियन्त्रण गर्न सहयोग गर्नुपर्ने आवश्यकतामा सहमति भएको सोलका विदेश मन्त्रालयले जानकारी दिएको छ ।
जापानी विदेशमन्त्री किसिदा तथा दक्षिण कोरियाली समकक्षी युनले सकेसम्म छिटो तीनपक्षीय शिखर बैठकका लागि बढी प्रयास गर्न आग्रह गर्नुभयो ।
तीनपक्षीय वर्ताले प्रमुख पाइला लिने अपेक्षा गरिएको छैन तर पनि यसले विभिन्न संवेदनशील विषयमा छलफल गर्नसक्छ र यो अमेरिकाको अभिरुचिको विषय हुनसक्छ ।

Share.

Leave A Reply