२७ वैशाख २०८१

जनसम्पर्क समितिको सेटिङ्मा परराष्ट्रमन्त्री महतले अमेरिकामा १० जना अबैतनिक दूत बनाउँदै

0

क्यालिफोर्निया सम्वाददाता।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको ठाडो निर्देशनमा अमेरिकाका विभिन्न राज्यमा रहेका १० जना नेपालीलाई परराष्ट्र मन्त्रालयले अबैतानिक दूतका रुपमा नियुक्त गर्न लागेको खुलासा भएको छ । उच्च स्रोतका अनुसार परराष्ट्रमन्त्री महतले अबैतनिक राजदूत बन्नका लागि प्रतिव्यक्ति १० हजार अमेरिकी डलर रकम दिनुपर्ने प्रस्ताव जनसम्पर्क समितिका सभापति मार्फत् राखेका छन् । जसमा क्यालिफोर्निया राज्यबाट मात्रै २ जनाको नाम अबैतनिक राजदूतका रुपमा प्रस्ताव भएको बुझिएको छ । १० जना मध्ये २ जनाले परराष्ट्रमन्त्री महतलाई १५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको महत निकट स्रोतको दाबी छ । गत तिहारको लक्ष्मी पूजाको दिन महत र उनका एक जना निजी सहयोगीको उपस्थितिमा दुई जना व्यक्तिले ५ लाख र १० लाखका दरले महतलाई रकम दिएको स्रोत बताउँछ । यस विषयमा अबैतनिक राजदूत बन्नेहरु बाहेक अरु कसैलाई अग्रिम सूचना नचुहाउन महत र विष्टले विशेष खवरदारी गरेको पनि बताईन्छ । काठमाडौंमा परराष्ट्रमन्त्री महतले परराष्ट्रस्तरीय निर्णय गराएर उनीहरुलाई अबैतानिक राजदूतको जिम्मेवारी दिने तयारी अन्तिम चरणमा पु¥याउनुभएको बताइएको छ । विगतमा मन्त्रीपरिषद्ले यो विषयमा निर्णय गर्नुपर्ने भएपनि अहिले परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट उनीहरुलाई अबैतानिक राजदूतका रुपमा नियुक्त गर्न सक्ने त्यसपछि मात्रै यसको जानकारी मन्त्रीपरिषद्लाई गराए पुग्ने व्यवस्था छ । परराष्ट्रले निर्णय गरेपछि मात्रै एग्रिमो लिन सकिने भएकाले पनि महतका लागि यो काम निक्कै सहज देखिएको छ । महतले प्रतिव्यक्ति १० हजार अमेरिकी डलरमा सो काम सम्पन्न गर्ने र यो कामका लागि अमेरिकामा रहेका जनसम्पर्क समितिका सभापति आनन्द विष्टलाई परिचालन गरेका छन् । राजदूतका लागि प्रस्ताव गरिएका व्यक्तिहरु सकेसम्म महत र विष्टका विश्वासमा रहेकाहरु नै छनौट गर्ने तयारी भैरहेको बताईन्छ । विष्टले अहिले विभिन्न राज्यमा रहेका मध्ये उल्लेखित मापदण्ड पुरा गरेका व्यक्तिहरु छनौट गरी उनीहरुसँग रकम लिने र त्यसको जानकारी महतलाई गराउने काम तीव्रताका साथ अघि बढाईरहेका छन् । काँग्रेसको प्रवासी संगठनका सभापति र पार्टीबाटै बनेका मन्त्रीको सेटिङ्गमा यस्तो छलकपटीपूर्ण काम हुँद समेत यसको जानकारी पार्टी सभापतिलाई भने नगराइएको स्रोतको दाबी छ । यो विषयमा पार्टी सभापतिले जानकारी पाई हाले भने पनि अमेरिकास्थित जनसम्पर्क समितिको सिफारिसमा आफूले नाम सदर गरेको भन्ने ‘रेडिमेट’ जवाफ महतले तयार पार्नुभएको छ । यस्तै जनसम्पर्क समितिले पनि ‘जेनियुन’ व्यक्तिलाई राजदूतमा सिफारिस गरिएको र त्यसको मापदण्ड परराष्ट्रमन्त्रालयले दिए अनुसार नै भएको भन्ने जवाफको तयारीमा विष्ट रहेका छन् । तर अबैतानिक राजदूत नियुक्त हुनु अघि यो सूचना पार्टी सभापतिसम्म नपुगोस् भन्नका लागि दुबै पक्षले अत्यन्तै सावधानी अपनाएका छन् । नेजस अमेरिकाका सभापति आनन्द विष्टले यो विषयमा कार्यसमितिभित्र समेत कुनै जानकारी गराएका छैनन् । कार्यसमितिभित्र जानकारी गराउँदा यसले विवादको रुप लिने र ‘सेटिङ्ग खुल्ने’ डरले विष्ट अहिले कार्यसमिति निकट पदाधिकारीहरुबाट टाढिएको बताइएको छ । यही सेटिङ्ग फेल खाने डरले पछिल्लो समयमा जनसम्पर्क समितिभित्र देखिएको विवाद मिलाउनका लागि कार्यसमितिका बहुमत सदस्यले आग्रह समेत नकारेको हुनसक्ने जनसम्पर्क समिति निकट स्रोत दाबी गर्दछ । अबैतानिक राजदूतका रुपमा नियुक्त गरिएका व्यक्तिहरुबाट लिइने रकम मध्ये ६० प्रतिशत रकम परराष्ट्रमन्त्री महतले लिने र बाँकी रकम जनसम्पर्क समितिका सभापति र उनका आसेपासेहरुका लागि खर्च गर्ने मौखिक सहमति पनि विष्ट र महतबीच भएको बताईन्छ ।

Share.

Leave A Reply