०६ जेठ २०८१

होलीमा ह्यारी

0

लमजुङ (गौंडा) , ९ चैत। नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ सद्भाव, मेलमिलाप र खुसीको पर्व फागूपूर्णिमाका अवसरमा आज अबिर रङ खेलेर यो पर्वको मज्जा लिनुभएको छ।

पश्चिम पहाडको लमजुङ गौँडा गाविस समितिस्थित गाँैडा माविको परिसरमा स्थानीयवासीसँग रङ खेलेर राजकुमार ह्यारीले हर्षोल्लासका साथ फागूपूर्णिमा मनाउनुभएको हो । ह्यारीलाई स्थानीय पञ्चकञ्या राजकुमारी थापा, भवी गुरुङ, अञ्जु गुरुङ, सुजाता गुरुङ र महिमा गुरुङले रातो अबिर लगादिएपछि होली खेल्ने कार्यक्रम सुरु भएको थियो।

पाँचदिने नेपाल भ्रमणका क्रममा राजधानी, बर्दिया हुँदै घना गुरुङ बस्तीको सो गाउँमा सोमबार पुग्नुभएका ह्यारीले नेपाली लोकसंस्कृति र परम्परानुसार नै खुसियाली साटासाट गर्दै नेपालीको मन जित्न सफल हुनुभएको थियो ।

बर्दियामा जलयात्रा, घरबास र वन्यजन्तु अवलोकनपछि हेलिकप्टरमा लमजुङ पुग्नुभएका ह्यारी एक घन्टाको पैदलयात्रा गरी सोमबार साँझ नेपाली खानपिन र गुरुङ जातिको सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको थियो।

नेपाली गोर्खा सैनिकसँग रहेर अफगानिस्तानमा काम गर्नुभएका ह्यारी उनीहरुको वीरता, साहस र बहादुरी देखेर विशेष आकर्षित हुनुहुन्छ । वन्यजन्तु, पर्यावरण र परोपकारप्रति विशेष रुचि राख्ने ह्यारी हिमाल, प्राकृतिक दृश्यावलोकन र पदयात्राका समेत सौखिन हुनुहुन्छ ।

ह्यारी आजै बिहान सुन्दर पर्यटकीय नगरी पोखरा प्रस्थान गर्नुभएको छ । त्यहाँ उहाँले गोर्खा ब्रिटिस क्याम्पको भ्रमण गर्ने कार्यक्रम छ। रासस

Share.

Leave A Reply