०४ जेठ २०८१

फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा चालक सकुशल

0

रसुवा, ४ चैत । आज अपराह्न लाङ्टाङ गाविस वडा नं ५ मा दुर्घटना भएको फिस्टेल एयरका चालक सकुशल रहेका छन् ।

धुन्चेबाट राहत सामग्री पुर्याई फर्कने क्रममा जमिन छाड्न लाग्दा ३:४० बजे प्राविधिक गडबडीका कारण दुर्घटना भएको बुझिएको लाङ्टाङ व्यवस्थापन तथा पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा लामाले बताउनुभयो । बिथ्री मोडेलको ९एन–एजेआइ सो हेलिकप्टरका चालक स्विडेनका निकोलस थिए ।

हेलिकप्टर दुर्घटना भई पल्टिएपछि स्थानीयवासी सुब्बा तामाङ, ढिन्डुप ज्याङ्बा र सेननुर्पु तामाङका साथै फिस्टेल एयरकै प्राविधिक विनोद तामाङले हेलिकप्टरको सिसा फुटाली चालकलाई सकुशल बाहिर निकाल्न सफल भएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

रसुवाका प्रहरी प्रमुख अवदेश विष्टका अनुसार चालक निकोलसलाई अर्को हेलिकप्टरबाट सकुशल काठमाडौँ पुर्याइसकिएको छ । दुर्घटनाको खबर पाउनासाथ फिस्टेल एयरका प्रबन्ध निर्देशक आशिष शेरचन लाङ्टाङ पुग्नुभएको थियो ।

धुन्चेबाट लाङ्टाङका लागि राहत सामग्री लाँदै गर्दा नवौँ पटकमा सामान झारेर धुन्चे फर्कन लाग्दा हेलिकप्टर पल्टिई दुर्घटना भएको थियो । हेलिकप्टरमा चालक मात्र रहेको बताइएको छ । चालकलाई सकुशल उद्धार गरी सहयोग गरेकामा रसुवाका प्रजिअ कृष्णप्रसाद अधिकारीले लाङ्टाङवासीलाई धन्यवाद दिनुभयो ।

फिस्टेल एयरका प्राविधिक समेत दुर्घटनास्थलमा पुगिसकेका छन् । घटनाको ठोस कारणका बारेमा अन्य जानकारी प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ । जमिन छाड्ने क्रममा जहाजको पङ्खामा एक्कासि आवाज आएको स्थानीयवासीले बताए । जहाजको प्राविधिक परीक्षण भने शुक्रबार हुने प्रजिअ अधिकारीले बताउनुभयो । रासस

Share.

Leave A Reply