१७ वैशाख २०८१

ऋण तिर्न नसक्ने भएपछि अपहरणको नाटक

0

प्रहरी तथा आफ्नै आफन्तहरुलाई समेत झुक्याएर अपहरणमा परेको नाटक गर्न सफल एक पूर्व लडाकुलाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखा जिल्ला छोप्राक ९ का बासिन्दा २९ वर्षीय पूर्व माओवादी लडाकु सन्दिप कुमाललाई प्रहरीले बाराको सीमराबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । बिभिन्न बहाना गरी पटक पटक आफ्नै गाउंलेबाट लिएको लाखौं ऋण तिर्न नसकेपछि कुमालले आफू अपहरणमा परेको झुटा नाटक गरेर प्रहरीलाई समेत झुक्याएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उनले आफूलाई अपहरणकारीले अपहरण गरी लगेको र आंखामा कालेपट्टी बांधेकोले आफू कहां छु भन्ने समेत थाहा नभएको पनि परिबारलाई टेलिफोन गरी बताएका थिए । उनले परिवारलाई टेलिफोन गरेपछि उक्त जानकारी प्रहरीमा गराइएको जनाइएको छ । पूर्व लडाकु कुमालले गत पौष १० गते आफूलाई कसैले अपहरण गरेको भन्दै परिवारलाई फोन मार्फत जानकारी गराएपछि प्रहरी अनुसन्धान चलाइएको थियो ।
सरकारले माओवादी युद्धका बेला द्वन्द्वमा परि पीडित बनेको द्वन्द्व पीडितहरुलाई दिएको रकम लिएका कुमालले उक्त रकमबाट कुखुरा पालन गर्नुका साथै तरकारी खेति समेत गरेका थिए । कृषि तथा पशुपंछी पालन व्यवसायमा लागेका कुमाललाई बाराबाट गोरखा लगी प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गराई पांच दिनको म्याद थप गराएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Share.

Leave A Reply