०४ जेठ २०८१

एकसाताभित्र पेट्रोल र डिजल सहज हुन्छः आयल निगम

0

mukunda
काठमाडौ, ८ माघ । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द प्रसाद घिमिरेले आगामि एक साताभित्र पेट्रोल र डिजेलको सहज वितरण हुने दावी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले देश भरिका आयल निगमका डिपोहरुलाई काठमाडौ तेल पठाउन निर्देशन दिईसकेको जानकारी दिंदै त्यहांबाट आएपछि सबै पेट्रोल पम्पबाट निश्चित परिणाममा सहज रुपमा वितरण गर्ने बताए ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा प्रवक्ता घिमिरेले भने,’ बाहिरका डिपोहरुलाई काठमाडौ तेल पठाउन निर्देशन दिईसकेका छौ । विराटनगरबाट तेल हिंडिपनि सकेको छ । तीन लाख लिटर पेट्रोल र ५ लाख लिटर डिजल सबै पम्पबाट केही दिनमै वितरण गर्छौं । आागामि सातादेखि सहज हुन्छ ।’
उनले भारतीय आयल निगमले तत्काल ग्यांसको लोडिङ्ग बढाउन नसक्ने जवाफ दिएकोले तत्काल ग्यांस सहज नहुने भन्दै नयां निर्णय नहुन्जेलसम्म ७ दशमलब १ किलोकै सिलिण्डर वितरण गरिने जानकारी दिए ।
घिमिरेले भने,’ दिनको ५५ बुलेट ग्यांस आवश्यक पर्नेमा अहिले १५ बुलेट भन्दा बढी लोड दिएको छैन । त्यो भन्दा बढी दिन नसक्ने आईओसीले बताउंदै आएको छ । त्यसैले ग्यांस वितरणमा तत्काल सुधार आउंदैन ।’
उनले ग्यांस ब्यवसायीहरुले पूरा सिलिण्डर विक्री गर्न लागेको भन्ने जिज्ञासामा तत्काल आयात नबढेको र ७ दशमलब १ किलोको सिलिण्डर वितरण नगर्ने निर्णय नभईसकेकोले तत्काल १४ दशमलब २ किलोको सिलिण्डर विक्री नहुने स्पष्ट पारे ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन सम्बन्धमा घिमिरेले डलरको मूल्य बढेको, भारतीय आयल निगमले दिएको पछिल्लो मूल्य र सीमा क्षेत्रको मूल्यको आधारमा मूल्य घटाईएको भन्दै अहिले पनि भारतीय सीमा क्षेत्रको मूल्य भन्दा नेपालमै सस्तो भएको तर्क गरे ।
बाहिर समाचारमा आए जस्तो निगमले कर्मचारीलाई वितरण नगर्ने स्पष्ट पार्दै उनले भने, ‘निगमको बोनस नियमावली अनुसार ब्यालेन्स सिट बनाउन बोनस राखिएको हो । बोनसको रकम नराखे ब्यालेन्स सिट विग्रन्छ । यसअघि नै निगमको सञ्चालक समितिले सञ्चित रहेको १२ अर्ब ६४ करोड ऋण भुक्तानी नहुन्जेल बोनस नबाढ्ने निर्णय गरेकोले अहिले पनि बोनस बाढ्दैनौ ।’
घिमिरले मन्त्री स्तरीय निर्णयबाट एक पटकको लागि वितरण गर्न अनुमति दिनु भनेकोले विराट आयलले आयात गरेको पेट्रोलियम पदार्थ केही पेट्रोल पम्पबाट वितरण गर्न अनुमति दिएको समेत स्पष्ट पारे ।
ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले आधा सिलिण्डर ग्यास वितरण गर्दा लागत बढेको र उपभोक्तालाई पनि असहज भएकोले पुरा सिलिण्डर वितरणको अनुमति दिन सरकारलाई लिखित आग्रह गरिसकेको जानकारी दिदै सरकारले वास्ता नगरे दुई तीन दिनभित्र पुरै सिलिण्डर वितरण गर्ने बताए ।
उनले भने,’ पछिल्लो दुई-तीन सातामा मागको ४० प्रतिसत ग्यास आयात भएको छ । आधा सिलिण्डर ग्यास वितरण गर्दा ढुवानी, उत्पादन खर्च बढेको छ । सरकारले त्यो बढेको खर्च दिने हो भने मात्रै हुन्छ नभए हामी पुरा सिलिण्डर वितरण गर्न थाल्छौ । हामीले आन्तरिक रुपमा निर्णय गरिसकेका छौ ।’
घिमिरेले माग र आपूर्तिवीचको खाडल ठूलो हुंदा गलत मान्छेले फाईदा उठाउने सम्भावना बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकार निरिह बनेको र उपभोक्ताहरु पनि सचेत नभएको गुनासो गरे ।
कम ग्यास आएको भन्ने गुनासोमा उनले प्रत्येक डिलरले तराजु राख्नु पर्ने र उपभोक्ताले पनि तौलेर मात्र लिने बानी बसाए त्यसको समस्या नहुने दावी गरे ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईले सरकार आफैले बजारमा विकृति ल्याउने र कालाबजारीलाई साथ दिईरहेको भन्दै सरकारले जे उपलब्ध छ त्यसको न्यायोचित वितरण गर्नु पर्ने धारणा राखे । उनले नियमनकारी निकाय असक्षम हुंदा मुलुकमा कालोबजारी बढेको भन्दै अहिलेको अवस्थामा राज्य संयन्त्र नै असफल भएको दावी गरे ।

Share.

Leave A Reply