२२ वैशाख २०८१

युवाहरु भारततिर, बझाङका गाउँ खाली

0

आइतवार बझाङबाट महेन्द्रनगरका लागि छुट्ने गाडी महिला र बालबालिकाले घेरिएको थियो । गाडीभित्र र बाहिर भएका सबैका आँखा रसाएका थिए । कोही एक अर्कालाइ अंगालो हालेर रुवावासी गरिरहेका थिए । कोही ढोगभेट गरिरहेका थिए । ३६ जना यात्रुको चलानी काटेको महाकाली यातायातको गाडीभित्र बसेका सबै यात्रु ५ वटा गाउँका थिए ।  १६ जना जयपृथ्वी नगरपालीको खेइरा र बस्टी, ७ जना सुनिकोटको सेरागाँउ, र ११ जना यात्रु कैलासको पिमी र २ जना कोटदेवलको डुङग्रीका यात्रु भारततर्फ जानका लागि हिंडेका थिए । बाहिरको भीडमा उनीहरुलाइ बिदाइ गर्न आएका आफन्तहरु थिए । 
यसरी हुल बाँधेर अधिकाशं गाउँका युवाहरु भारततिर रोजगारीका लागि ओइरिन थालेपछि गाउँहरु पुरुषबिहीन भएका छन । तिहारपछि सुरु भएको भारत जानेको लर्का अझै पनि रोकिएको छैन । 
‘मंसिर यता मात्र पाँच सय भन्दा बढी मानिसहरु यहाँबाट भारत गैसकेका छन । कुनै कुनै वडामा त एक जना पनि पुरुष भेटिदैन । कोही मर्दा लास उठाउने मान्छेसम्म गाँउमा छैनन् ’, कैलास गाविसका पूर्व अध्यक्ष सुरतबहादुर सिहले भने, ‘१५ ! २० जना त परिवार र केटाकेटी समेत लिएर हिंडेका छन ।’
भारत जानेमध्य अधिकांशले बनवासा र केहीले गौरीफन्टा नाका प्रयोग गर्ने गर्छन् ‘महाकाली यातायातको बसमा यात्रा गर्ने ७५ प्रतिशत यात्रु भारत जाने नै हुन्छन । कात्तिक देखि नै भारत जानेको लर्का लागेको हो’, महाकाली यातायातको सिमखेत काउन्टरका इन्र्चाज विनोद बमले भने ।
६५ नाघिसकेका आमाबुवालाई ९ कक्षा पढ्ने बहिनीको जिम्मा लगाएर भारतको बैङ्लोर हिंडेका कोटदेवल ७ का प्रयाग रोकायाले गाँउमा काम नपाएपछि परिवार पाल्नका लागि भए पनि श्रीमतीसहित भारत जान लागेको बताए । ‘खेतिपातीमा उब्जनी छैन, बहिनी पढाउनु छ, आमाबुवाको उपचार गर्नु छ, सबैको पेट पनि पाल्नै पऱ्यो’, उनले भने, ‘गाँउमा काम पाइदैन भारत नगएर के गर्नु ? ’
१३ वर्षको स्कुले छोरा र व्याउने भैसी छिमेकीको जिम्मामा छोडेर श्रीमतीसहित भारत हिंडेका कैलासका कलु कामीले चामल किनेको ऋण तिर्न र लुगाफाटो जोर्नका लागि परदेश हिंडेको बताए । “बैसाखमा भैसी व्याउने छ, त्यतिबेलासम्म फर्कौला’, उनले भने । 
श्रीमती र परिवारसहित गएकाहरु १/२ वर्ष बसेर फर्किने र एक्लाएक्लै गएका अधिकांस मानिसहरु जेठको खेती लगाउने बेलासम्म घर पुगिसक्ने गर्दछन । 
भारत जानेको संख्या यकीन नभए पनि तिहारपछि विभिन्न गाँउबाट १० हजार भन्दा बढी मानिसहरु भारत गैसकेको अनुमान छ । भदौदेखि परेको खडेरीका कारण बर्खे बालीको उत्पादन घट्नु र हिउँदे बाली पनि खडेरीको चपेटामा परेपछि खाद्यान्नको समस्या टार्नका लागि भारततिर हिंडेको अधिकांशको भनाई छ । जडिबुटीको कारोवार र यार्सागुम्बाको मूल्य घटेका कारण पनि भारत जानेका संख्या ह्वात्तै बढेको जानकारहरु बताउँछन् । 
बझाङबाट गएकाहरु भारतको बैंङ्लोर, केरला, तामिलनाडु, दिल्ली, उतराञ्चल र उत्तरप्रदेशका विभिन्न ठाउँमा गएर कुल्ली, दरवान, र कृषि मजदुरको रुपमा काम गर्ने गर्दछन ।

-बसन्तप्रताप सिंह, बजाङ, ईकान्तिपुर

Share.

Leave A Reply