२१ वैशाख २०८१

कसैलाई बिझाउँदैनथे

0

नेपालगन्ज- १५ वर्षअघि प्रहरीमा छिर्नु सजिलो थिएन थम्मनबहादुर विश्वकर्मालाई। तत्कालीन माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो। विद्रोही पक्षबाट दिनहुँ परिवारलाई डरधम्की आउँथ्यो। विपन्न परिवारका थम्मन ज्यानकै बाजी थापेर सशस्त्र प्रहरी जवान पदमा भर्ना भएका थिए।

बढुवासँगै सशस्त्र प्रहरी सहायक निरीक्षकसम्म पुगेका उनी केही वर्षभित्रै पेन्सन पकाएर जागिर छाड्ने अनि सामाजिक सेवामा लाग्ने सोचमा थिए। बाँकी जीवन परिवारसँग हाँसीखुसी बिताउने सपना थियो। तर, त्यो अब पूरा नहुने भो।

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीमा निःशस्त्र अवस्थामा रहेका उनलाई शुक्रबार निशंस हत्या गरे। बाँके, कचनापुर–५ मदुईका स्थायी बासिन्दा थम्मनको परिवार हाल नेपालगन्ज–२५ कारकाँदो (कृष्णमन्दिर नजिक) बस्दै आएको छ। आन्दोलनकारीले उनलाई लखेटेर खुकुरी, भाला प्रहार गरी हत्या गरेको दुःखद खबरले परिवार, आफन्त र सिंगो टोल शोकमा छन्। पत्नी शोभा र वृद्ध आमा मैमीदेवी अर्धचेत अवस्थामा छन्। पाँचवर्षीय छोरा सुबोध मौन छन्।
बिहीबार बेलुका मात्र थम्मनले पत्नीलाई फोन गरेका थिए। सन्चोबिसन्चो सोधे। कुरा टुंग्याउने बेला शुक्रबार बिहान हेटौंडामा संयुक्त राष्ट्रसंघको परीक्षामा सहभागी हुन जान लागेको खबर सुनाए। राजनीतिक परिस्थिति ठिक नभएको भन्दै शोभाले आफ्नो सुरक्षामा ख्याल गर्न सचेत गराएकी थिइन्। ‘देउरानीले हिजो साँझ मात्रै फोनमा अप्ठ्यारो परिस्थिति छ, हिँड्दा ख्याल गर्नु भन्दै अनुरोध गरेकी रहिछन्, नभन्दै त्यस्तै भइदियो,’ थम्मनकी जेठी भाउजू कमलाले नागरिकसँग भनिन्।
थम्मनले २०५७ सालतिर लक्ष्मी उच्च मावि, मदुईबाट एसएलसी उत्तीर्ण गरेका थिए। मदुईका स्थानीय तथा सहपाठी ऋषिराज देवकोटा थम्मनसँग बारम्बार टेलिफोनमा कुराकानी हँुदा पेन्सनपछि गाउँमै पुगेर समाजसेवा गर्ने इच्छा राखेको सम्झन्छन्। ‘अस्ति मात्र फोनमा कुराकानी भएको हो,’ उनले भने, ‘पेन्सन अवधि पुगेपछि समाजसेवा गर्ने उनको धोको थियो।’
थम्मनले नेपालगन्जनिवासी शोभासँग २०६३ सालमा वैवाहिक सम्बन्ध गाँसेका थिए। आफन्तका अनुसार उनी सबैसँग मिठो बोल्थे। परिवार, संगठन, गाउँ, समाज सबैसँग उत्तिकै सम्बन्ध राख्थे। परिवारमा कहिल्यै झै–झगडा भएन। चार दाजुभाइमध्ये थम्मन साहिँला हुन्। दाजुभाइ गाउँ र नेपालगन्ज बस्छन्। आमा मैमीदेवी थम्मनलाई बढी आडभरोसा गर्थिन्, त्यसैले उनीसँग बस्दै आएकी थिइन्। दुःखद खबरपछि उनी अहिले घरी डाँको छाडेर रुन्छिन् त घरी बेहोस भएर भुइँमा लड्छिन्।
थम्मनको निधनको खबरपछि आफन्त, इष्टमित्र शुक्रबार बेलुका नेपालगन्जस्थित घरमा भेला भएका थिए। ‘उनको कमाइले नै परिवारको खर्च चलेको थियो, परिवारले सहारा गुमायो, समाजले पनि एउटा सच्चा व्यक्ति गुमायो,’ स्थानीय च्यवन पौडेलले भने।
तत्कालीन सशस्त्र द्वन्द्व पार गरेका देवरको अहिले निर्मम हत्या भएको खबरले दुःख लागेको कमला बताउँछिन्। ‘त्यत्रो माओवादीको युद्धमा पनि आफ्नो ज्यान जोगाउनु भएको थियो, अब त देशमा शान्ति आयो, केही हुँदैन भनिरहँदा यस्तो देख्नुपर्यो ,’ उनले भनिन्। घटनामा संलग्नलाई कारबाही गर्न उनले सरकारसँग माग गरेकी छन्। अन्तिम संस्कारका लागि थम्मनको शव नेपालगन्ज ल्याइदिन परिवारको आग्रह छ।

फोटोः अर्जुन ओली

-नागरिक न्यूज

Share.

Leave A Reply