२४ वैशाख २०८१

उपत्यका छाड्दै गुन्डा नाइके

0

काठमाडौं-पक्राउ पर्दै छुट्दै आएका सामाखुसीका कहलिएका गुन्डा नाइके साजन महर्जन रकम असुलीको आरोपमा फेरि पक्राउ परेका छन्। गुन्डा नाइकेविरुद्ध प्रहरीले कडा कारबाही चलाएपछि निस्त्रि्कय भएका उनी दिनेश अधिकारी चरी र कुमार घैंटेको इन्काउन्टरपश्चात् फेरि सक्रिय भएपछि प्रहरीले पक्राउ गरेको हो।
राजेन्द्र गोर्खालीको समूहबाट उपत्यकाको संगठित आपराधिक समूहमा प्रवेश गरेका महर्जन पछिल्लो समय सामाखुसी क्षेत्रलाई आधार बनाइ कुमार घैंटेसँग मिलेर रकम असुली, ठेक्कापट्टा र बालुवा तथा ढुंगाखानी कब्जामा सक्रिय थिए।
इन्काउन्टरमा घैंटेसमेत मारिएपछि छरिएका सहयोगी एकत्रित गरी संगठित समूह सञ्चालनको तयारीमा रहेका बेला महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार उनलाई गोंगबुको एउटा जिमबाट पक्राउ गरेको हो। महर्जन उपत्यकामा सक्रिय पुराना गुन्डामध्येका हुन्।
महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार व्यापारीलाई फोनमार्फत् धम्क्याएर रकम मागेको मौखिक उजुरी बढेपछि प्रहरी उनको खोजीमा थियो। निर्माण व्यवसायीसँग निश्चित प्रतिशत रकम माग गरी ठेक्कापट्टा कब्जा गर्ने, लगानी नै नगरी विभिन्न व्यापारीक फर्मसँग शेयर माग्नेलगायत आपराधिक गतिविधीबारे गुनासो आएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको खनालले जानकारी दिए।
उपत्यकामा २०६० ताका ठमेल क्षेत्रमा दिपक मनाङे, चक्रपथ क्षेत्रमा चक्रे मिलन र चावहिल क्षेत्रमा राजु गोर्खाली समूह संगठित गुन्डागर्दीमा सक्रिय भएको बेला सामाखुसीका महर्जन गोर्खाली समूहमा थिए।
सोही समूहमा रहेका काजी शेर्पा, मनराज गुरुङ, घैंटेसहित सँगै उनी पनि रात्रिकालीन व्यवसाय, ठेक्कापट्टा, बालुवा र ढुंगाखानीलगायत क्षेत्रमा सक्रिय भएका थिए।
आपराधिक यात्राको प्रारम्भबाटै २०६० यता पक्राउ पर्ने र छुट्ने क्रम सुरु भएका साजन समूह छिन्नभिन्न भएसँगै सामाखुसी क्षेत्रमा घैंटे, काजीसँगै साजनसमेत छुट्टै सक्रिय थिए। २०६० वैशाख १७ मा उनी लीलामाया गिरीको हत्या आरोपमा पक्राउ परेका थिए। सो मुद्दामा धरौटीमा छुटेका उनी लगत्तै चैत २९ मा नक्सालका सञ्जय श्रेष्ठलाई धारिलो हतियारले हानेर मार्ने प्रयासको आरोपमा पक्राउ परेका थिए।
यसपछि पनि उनी पक्राउ पर्ने र छुट्ने क्रम जारी रह्यो। २०६१ जेठमा दरबारमार्गस्थित नाङलो रेस्टुरेन्टमा अर्का गुन्डा नाइके मिनकृष्ण श्रेष्ठलाई धारिलो हतियारले हानेको, २०६३ असार र भदौमा प्रेम लामालाई र अर्का गुन्डा नाइके विष्णु लामालाई घाइते बनाएको आरोपमा पक्राउ परेलगत्तै नै उनी छुटेका थिए। २०६४ मा उनलाई १० ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्रेेपछि पूर्पक्षका लागि थुनामा पुगेका थिए।
लागुऔषध मुद्दामा जेलबाट रिहा हुँदा घैंटेसँगै सामाखुसी क्षेत्रमा दिनेश अधिकारी चरी समेत सक्रिय थिए। आपराधिक गतिविधिमा संलग्न रहे पनि उनले आफ्नै समूह गठन गर्न सकेनन्।
कहिले चरी समूहमा त कहिले घैंटे समूहमा सक्रिय उनी पछिल्लो समय नेकपा एमालेमा संलग्न भएर चरी समूहमा थिए। क्यासिनो लगायतमा सक्रिय उनी बालुवा व्यापारतिर लागेका थिए। गत वर्ष चरी इन्काउन्टरमा मारिएपछि घैंटे समूहसँग नजिकिएका उनी घैंटे पनि इन्काउन्टरमा मारिएपछि सामाखुसी क्षेत्रमा आफ्नै समूह बनाउने प्रयासमा रहेको जानकार एक प्रहरी अधिकारीले बताए।
‘लगानी नै नगरी जर्बजस्ती शेयर माग्ने, बालाजुको माथिल्लो भेगमा अवैध बालुवा तथा ढुंगाखानी चलाउने र युवा परिचालन गरी जर्बजस्ती रकम असुल्न सक्रिय रहेको सूचना आएपछि उनको

गतिविधिमा निगरानी राखिएको थियो,’ एसएसपी खनालले भने, ‘व्यवसायीबाट गुनासो आउने क्रम बढेपछि पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं।’

उपत्यका छाड्दै गुन्डा नाइके
गुन्डागर्दी नियन्त्रण गर्न महाशाखाले डिएसपीको कमान्डमा समूह नै परिचालन गरेपछि पछिल्लो समय कहलिएका गुन्डा नाइकेसमेत उपत्यका बाहिर पुगेका छन्। भदौ ३ मा कपुरधारामा कुमार घैंटे इन्काउन्टरमा मारिएपछि केही उपत्यका बाहिर पुगेका छन् भने केहीले आत्मसर्मपण गरे र केही पक्राउ परे।

अपराध महाशाखाका अनुसार घैंटे मारिएपछि दीपक मनाङे र गणेश लामा उपत्यका बाहिर गएका थिए। उनीहरू उपत्यका नफर्किएको महाशाखाका एक अधिकारीले जानकारी दिए। चक्रे मिलन भने उपत्यकामै छन्।
हत्या अभियोगमा फरार साजन गुरुङ सोमबार पक्राउ परेका थिए। गुरुङ नेपालगञ्जमा आत्मसर्मपण गरेका रिगल ढकाल समूहका सदस्य हुन्। घैंटे इन्काउन्टरपछि भदौ ७ मा उनले अदालतमा आत्मसर्मपण गरे पनि गुरुङ भने फरारै थिए। महाशाखा प्रमुख खनालका अनुसार गुरुङविरुद्ध धादिङमा एक जनाको हत्या गरेको अभियोग छ। ‘उनी हत्या घटनाका मुख्य योजनाकार देखिएका छन्, अनुसन्धान गरिरहेका छौं,’ उनले भने।
एसएसपी खनालका अनुसार उपत्यकाका संगठित गुन्डागर्दीमा कहलिएका नयाँ पुराना दुवै समूहको सुक्ष्म अनुगमन भइरहेको र प्रहरीमा उनीहरूबारे उजुरी र गुनासो आउने क्रमसमेत बढेको बताए।
आएका सूचनाको सुक्ष्म अनुसन्धान गरी कोही संलग्न देखिए नियन्त्रणमा लिइ अनुसन्धान गर्ने रणनीति अगाडि बढाइएको जानकारी दिँदै उनले भने, ‘
गुन्डासँग डरायो भने सधै दुःख दिन्छन्। उनीहरूलाई कानुन अनुसार कारबाहीका लागि प्रहरीलाई सघाए गुन्डागर्दी नियन्त्रणमा प्रहरी वचनबद्ध छ।’

-नागरिक न्यूज

Share.

Leave A Reply