२१ वैशाख २०८१

नेपाली मसाज विदेशमा लोकप्रिय साथै ब्यबसायिक हुदै

0

नेपालका नेवार समुदायले गर्ने बेबी मसाजलाई मकवानपुरकी नज्माले स्वीट्जरल्याण्डमा परिचित बनाएकी छन् । अष्ट्रियाबाट मिडवाइफको कोर्ष गरेर नेपाल फर्केकी आश्मा श्रेष्ठ परम्परागत बेबी मसाज वैज्ञानिक भएकाले निरन्तरता दिनुपर्ने बताउँछिन् ।नेवार समुदायमा प्रचलित बेबी मसाजबारे नज्माले लेखेको पुस्तक अंग्रेजी र जर्मन भाषामा दशौं संस्करण प्रकाशित भइसकेको छ ।

३१ वर्ष पहिला स्वीट्जरल्याण्डको पेल्गटिनेन स्कूल अस्पतालमा मकवानपुर भीमफेदीकी नज्मा साहिबंलर श्रेष्ठले छोरी जन्माएपछि उनकी आमाले नातिनीलाई मालिस गरेको देखेर त्यहाँका सबै छक्क परे । सुत्केरी छोरी र नातिनी स्याहार्न त्यहाँ पुगेकी उनको नेवार समुदायमा प्रचलित तेल लगाउने विधि (बेबी मसाज) यति लोकप्रिय भयो कि अस्पतालका नर्स, मिडवाइफ, फिजियोथेरापिष्टसम्मले सिक्न चाहे । नज्मा नेवारी संस्कृतिमा विद्यावरिधि गरेका स्वीस पति जवानी साहिबंलरसँग त्यहाँ गएकी थिइन् ।

गर्भ रहँदा विशेष ध्यान दिएर अस्पतालमा बच्चा जन्माउनुपर्छ भन्ने थाहा भए पनि बच्चासँग संवाद गर्दै आमा वा परिवारका अन्य सदस्यले मालिस गर्ने विधि थाहा नपाएका त्यहाँका स्वास्थ्यकर्मी र मानिसहरूलाई नज्माले सिकाइन्, एक वर्षपछि बेबी मसाज स्कूल खोलेर । स्वीट्जरल्याण्डको जुरिक शहरमा खोलिएको उनको स्कूलले अहिलेसम्म २० हजारभन्दा धेरैलाई तालिम दिइसकेको छ । स्कूलमा मिडवाइफ, नर्स र फिजियोथेरापिष्ट गरी १६० जनाले तालिम लिएका छन् ।

नज्माले मसाज गरेकाहरू अहिले बच्चा लिएर उनको स्कूलमा आउने भएका छन् भने उनले मसाज गरेका कैयौं बच्चाहरू अहिले मिडवाइफ बनेका छन् । आमा वा परिवारका सदस्यले मसाज गर्दा बच्चाले अपनत्व पाउने तथा मसाज गर्नेलाई पनि तनावबाट मुक्ति मिल्ने नज्मा बताउँछिन् । नेवार समुदायमा प्रचलित बेबी मसाजबारे नज्माले लेखेको पुस्तक अंग्रेजी र जर्मन भाषामा दशौं संस्करण प्रकाशित भइसकेको छ ।

वैज्ञानिक विधि

नेपालमा परम्परागत मसाज लोप हुन थालेको भन्दै सन् २००५ मा नज्माले धुलिखेल अस्पतालमा फोटो प्रदर्शनी गरिन् । त्यसपछि अस्पतालले पनि यो विधिबारे आमा र बाबुलाई जानकारी दिन थालेको धुलिखेल अस्पतालका प्रशासक दीपक दाहाल बताउँछन् । धुलिखेल अस्पतालमा दुई जना मिडवाइफ सहित ६० जनाले यो सेवा दिइरहेको उनले बताए ।

अष्ट्रियाबाट मिडवाइफको कोर्ष गरेर नेपाल फर्केकी आश्मा श्रेष्ठ परम्परागत बेबी मसाज वैज्ञानिक भएकाले निरन्तरता दिनुपर्ने बताउँछिन् । धुलिखेल अस्पतालका असिस्टेन्ट प्रोफेसर डा. सुमनराज ताम्राकार पनि तेल लगाउने विधि फिजियोथेरापी जस्तै भएकाले रक्त सञ्चालन बढाउने बताउँछन् । यसले दुखाइ कम गर्ने, मांसपेशी कसिलो बनाउने, र बच्चा लामो समयसम्म निदाउने भएकाले दिनमा दुई पटक मसाज गर्नुपर्ने उनको भनाइ छ । हात, खुट्टा, निधार लगायत शरीरका सबै अंगमा छुट्टाछुट्टै तरीकाले मसाज गर्दा राम्रो हुने उनले बताए ।

बेबी मसाजबारे जानकारी लिन स्वीट्जरल्याण्ड र जर्मनबाट पाँच जना मिडवाइफ, नर्स र योगा शिक्षक २४ चैतमा धुलिखेल अस्पताल आएका थिए । उनीहरूलाई नज्मा र अस्पतालका मिडवाइफले तालिम दिएका थिए ।

-हिमालखबर ,आईतबार , १४ वैशाख २०७१

Share.

Leave A Reply