१८ वैशाख २०८१

वायुसेवा निगमका १४८ पदमा २८ हजारको भिडन्त

0

काठमाडौं- एउटा सरकारी कार्यालयलाई आवश्यक परेको कर्मचारी संख्या जम्मा १ सय ४८। खुला प्रतिस्पर्धाबाट पूर्ति गरिने यो संख्यामा जागीर खान करिब २८ हजारजना भिड्दैछन्। यसबाट के पुष्टि हुन्छ भने– सरकारी सेवामा सर्वसाधारणको मोह अझै घटेको छैन।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १ सय ४८ नयाँ कर्मचारी नियुक्त गर्न तीन साताअघि दरखास्त आह्वान गरेको थियो। त्यसलगत्तै आफूलाई योग्य साबित गर्दै निगममा जागीर खान चाहनेको भीड ‘दिन दुई गुणा, रात चौगुणा’ बढ्न सुरु गर्योस।
निगमले त्यसयता दैनिक औसत २ हजार १ सय ५० थानका दरले १९औं दिन सोमबार (साउन ३२) सम्म ४५ हजार थान दरखास्त फारम बिक्री गर्यो । त्यति अवधिभित्र दैनिक १ हजार ३ सय ३३ थानका दरले २४ हजार ५ सय ५१ थान फारम बुझेको छ। निगमले गत साउन १४ मा ४, ५ र ६ तहका लागि १ सय ४८ कर्मचारी पदपूर्ति गर्न २१ दिने सूचना सार्वजनिक गरेको थियो। फारम बुझाउने अन्तिम मिति बुधबार (भदौ २) सम्म छ। त्यसपछि परीक्षा दस्तुर दोब्बर तिरी एक सातासम्म फारम बुझाउन पाइन्छ।
‘दरखास्त आव्हान गरेको १९औं दिन सोमबार (साउन ३२) सम्ममा २४ हजार ५ सय ५१ जनाले दरखास्त बुझाएका छन्,’ वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, ‘अब दुई दिनभित्र थप करिब चार हजार दरखास्त प्राप्त हुने अनुमान छ।’
निगले सहायक स्तरदेखि अधिकृत स्तरसम्म कर्मचारी पदपूर्ति गर्न लागेको हो। लोकसेवा आयोगको सिद्धान्तअनुसार लिखित र मौखिक परीक्षा लिइने निगमको भनाइ छ। प्रशासन अधिकृत तहमा २४ जना, वरिष्ठ सहायकमा १८, सहायक ५६, लेखा अधिकृत २३, वरिष्ठ लेखा सहायक ६ र लेखा सहायकमा २१ गरी १ सय ४८ जना पदपूर्ति गरिने छ। अधिकृत तहमा दरखास्त बुझाउन स्नातक वा सो सरहको शैक्षिक योग्यता, वरिष्ठ सहायक र सहायकका लागि प्रमाणपत्र वा सो सरह तथा सहायक पदका लागि एसएलसी शैक्षिक योग्यता तोकिएको छ।
दरखास्त आह्वान भएको १९ दिनभित्र प्रशासन अधिकृतका लागि ३ हजार ७ सय ३०, वरिष्ठ सहायक ५ हजार ७ सय ६२ र सहायकका लागि १० हजार २ सय ६१ जनाले दरखास्त बुझाएका छन्। त्यसैगरी लेखा अधिकृतका लागि १ हजार ७ सय ६९, , वरिष्ठ लेखा सहायक ९ सय १५ र लेखा सहायकका लागि २ हजार १ सय १४ जनाको दरखास्त परेको छ।
अन्य सरकारी संस्थानभन्दा वायुसेवा निगममा जागीरमा आकर्षण बढी हुने गरेको छ। यहाँका कर्मचारीले निगम जाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका लागि वर्षेनि निःशुल्क हवाई टिकट पाउने गरेका छन्। यस्तो सुविधा कर्मचारीका परिवारले समेत पाउने गरेका छन्।
निगमले आन्तरिकतर्फ मुलुकका साढे दुई दर्जनभन्दा बढी गन्तव्य तथा अन्तर्राष्ट्रियतर्फ भारतको नयाँदिल्ली, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा र हङकङ उडान गरिरहेको छ। निगमले भदौ १५ बाट भारतकै बैंगलोर र मुम्बई उडान गर्ने घोषणा गरिसकेको छ भने निकट भविष्यमा चीनको ग्वाङझाउ उडान गर्ने तयारी गरिरहेको छ।
आन्तरिक उडानका लागि निगमले दुईवटा चिनियाँ जहाज र एउटा टि्वनअटर तथा अन्तर्राष्ट्रियतर्फ दुईथान बोइङ र दुईथान एयरबस सञ्चालनमा छन्। चाँडै नै ३ सय सिटसम्मका ठूला आकार (वाइड बडी) जहाज खरिद गर्ने योजना पनि निगमले बनाएको छ।
‘निगममा जागीर खान ठूलो संख्यामा दरखास्त प्राप्त हुनु भनेको निगमप्रति सबैको चासो र लगाव देखिनु हो,’ शर्माले भने, ‘यसबाट बेरोजगारीको अवस्था पनि छर्लंग हुन्छ। हजारौं दरखास्त परेका कारण परीक्षा व्यवस्थित गर्न केही समय लाग्छ। दसैं सकिनासाथ परीक्षा लिने गरी काम अगाडि बढाउँछौं।’
निगमले दरखास्त फारम खरिद गर्न १ सय रुपैयाँ तोकेको छ। १९ दिनसम्ममा ४५ हजार थान फारमबाट निगमले ४५ लाख रुपैयाँ प्राप्त गरेको छ। दरखास्त बुझाउन अधिकृत तहका लागि ७ सय रुपैयाँ तथा थप प्रत्येक समूह (खुला, महिला, आदिवासी/जनजाती, मधेशी, दलित र अपांग) लाई ३ सय ५० रुपैयाँ लाग्छ। त्यसैगरी वरिष्ठ सहायक र सहायकलाई फारम बुझाउँदा ५ सय रुपैयाँ र प्रत्येक थप समूहका लागि २ सय ५० रुपैयाँ तोकिएको छ।
निगमका अनुसार प्रशासन र लेखा अधिकृत दुवैमा परेको कुल ५ हजार ४ सय ९९ थान दरखास्तबाट प्रतिथान ७ सयका दरले ३८ लाख ४९ हजार ३ सय रुपैयाँ प्राप्त भएको छ। त्यसैगरी दुवै समूहको वरिष्ठ सहायकमा परेको कुल ६ हजार ६ सय ७७ दरखास्तबाट प्रतिथान ५ सयका दरले ३३ लाख ३८ हजार ५ सय रुपैयाँ प्राप्त भएको छ।
त्यस्तै प्रशासन र लेखा सहायक दुवैमा परेको कुल १२ हजार ३ सय ७५ थान दरखास्तबाट प्रतिथान ५ सयका दरले ६१ लाख ८७ हजार ५ सय रुपैयाँ प्राप्त भएको छ। यसबाट निगमले कुल १ करोड ३३ लाख ७५ हजार ३ सय रुपैयाँ आम्दानी गरेको छ। यसमा थप प्रत्येक समूहमा दरखास्त बुझाउनेको हिसाब जोडिएको छैन। हाल निगममा करिब १ हजार ३ सय कर्मचारी कार्यरत छन्।

 

-नागरिक न्यूज

Share.

Leave A Reply