१६ वैशाख २०८१

भारतीय कोठीमा भूकम्प पीडित युवती

0

काठमाडौं-भूकम्पले मानवीय जीवनचक्र नै तहसनहस पारेका अति प्रभावित जिल्लाका अस्थायी क्याम्पमै पुगेर मानव तस्करले कम उमेरका नेपाली युवती भारततिर ओसार्न थालेका छन्।
राहत वितरणका नाममा भूकम्प पीडित क्याम्प पुगेका दलालले रोजगारीको प्रलोभन दिएर कम उमेरका नेपाली युवतीलाई भारतीय विभिन्न सहरका वैधानिक यौनबजार (कोठी) मा लगेर बेचिरहेको खुलेको छ।

वैशाख १२ को भूकम्पयता सिन्धुपाल्चोक र नुवाकोटबाट भारतको उत्तरप्रदेश र मुम्बईका कोठीमा लगेर बेचिएका १५ युवती फेला परेपछि भूकम्पमा परिवार र घरबार गुमाएका किशोरी र युवतीलाई मानव तस्करले सहजै सीमा कटाएको पुष्टि भएको हो।

एक सातायता मात्र मुम्बईको भिवन्डीबजारबाट १२ र उत्तरप्रदेश, आगराको कास्मिरीबजारस्थित यौनअखडामा बेचिएका तीन नेपाली युवतीलाई मानव बेचबिखनविरुद्ध काम गर्ने भारतीय संस्थाको सहयोगमा उद्धार गरिएको छ।
भूकम्प प्रभावित जिल्लाका युवतीहरु मानव तस्करबाट उच्च जोखिममा रहेको भन्दै प्रहरीले स्थल र हवाई नाकामा कडाइ गरे पनि तस्करले स्थलमार्गबाट सहजै नाका कटाइरहेका छन्।
मानव बेचबिखनविरुद्ध काम गरिरहेको भारतीय संस्था ‘रेस्क्यु फाउन्डेसन’ का अनुसार भारतीय सहर कलकत्ता, कालीगढ, कानपुर, बलेरीलगायत स्थानमा रहेका यौनअखडामा समेत पछिल्लो समय नेपाली युवती बेचिने क्रम बढेको सूचना संस्थामा आइरहेको छ। फाउन्डेसनका रिसोर्स म्यानेजर राजेश चतुर्वेदीले कोठीमा बेचिएको सूचना आए पनि थप तीन नेपाली युवतीको अवस्था अझै खुल्न सकेको छैन।
भूकम्प प्रभावित जिल्लाका नेपाली युवतीलाई कामको प्रलोभन देखाएर मुम्बईका कोठीमा ल्याएर बेचेको र बेचिएका युवतीमा कम उमेरका रहेको सूचनाका आधारमा फाउन्डेसनले जेठ २० मा प्रहरीको सहायता लिएर भिवन्डीबजारका कोठी छापा मार्दा १४ युवती फेला परेका थिए। तीमध्ये १२ जना भूकम्पपछि त्यहाँ लगेर बेचिएको खुल्यो।
सोही संस्थाले सिन्धुपाल्चोक र नुवाकोटबाट ल्याइएका ६ जना युवती कलकत्ताको कोठीमा बिक्री गरिएको र उनीहरुलाई उत्तरप्रदेशको आगरामा रहेको कास्मिरी गेटका यौनअखडामा पुर्यादइएको सूचना पायो। 
चतुर्वेदीका अनुसार सोही सूचनाका आधारमा सोमबार प्रहरी टोलीसहित आगराको कस्मिरगेटमा रहेका कोठी छापा मार्दा ३ वटा कोठीबाट १० जना युवतीको उद्धार भयो जसमा ३ जना नेपाली युवती थिए। चतुर्वेदीका अनुसार उद्धार गरिएका मध्ये एक युवती नुवाकोट र २ जना सिन्धुपाल्चोकका हुन्।
मुम्बईमा रहेको संस्थाको शाखामा नेपालबाट ६ जना कम उमेरका युवती कलकत्ता हुँदै आगरा पुर्‍याएर कास्मिरी गेटको यौनबजारमा बिक्री गरेको सूचना आयो। उक्त शाखाले दिल्ली शाखामा सूचना दियो। त्यसलगत्तै प्रहरीसहित फाउन्डेसनका प्रतिनिधि उक्त बजार पुगेका थिए। 
उनीहरुले कोठी छापा मार्दै खोजी गर्दा सूचना दाताले दिएको जानकारीअनुसार कुनै युवती फेला परेनन्। कम उमेरका युवतीलाई देहव्यापारमा लगाउँदा पक्राउ पर्ने जोखिम देखेर यस्तालाई पर्खाल लगाएर गुप्त कोठीमा लुकाउने शैलीबारे जानकार प्रहरी र फाउन्डेसनका अधिकारीले छत फुटाएर खोज्दा लुकाएर राखेको अवस्थामा तीन नेपाली युवतीसहित १० जना फेला पारेका थिए।
‘सूचना गलत थिएन तर युवतीहरु फेला परेनन्,’ चतुर्वेदीले टेलिफोनमा नागरिकसँग भने, ‘शंका लागेर छत फुटाएर खोज्दा भित्री कोठामा लुकाएको भेटियो।’
उनका अनुसार संस्थाले उद्धार गरेका युवती १७ देखि २० वर्ष उमेरका छन्। फकाएर कलकत्ता पुर्‍याएको दलालले उनीहरुलाई त्यहाँको कोठीमा बिक्री गरेको थियो। त्यता राख्न जोखिम देखेपछि कलकत्ताका दलालले तीन युवतीलाई आगराको कास्मिरी गेटमा रहेको यौनबजारमा बिक्री गरेको थियो।
फाउन्डेसनले नेपालबाट यस्ता ६ जना युवती बेचिएको सूचना पाए पनि अन्य तीन युवती अझै फेला परेका छैनन्। उद्धार गरिएका युवती अहिले आगराको ‘नारी निकेतन’ नामक संस्थाको संरक्षणमा रहेको चतुर्वेदीले जानकारी दिए। उनीहरुबाट अन्य नेपाली युवतीबारे जानकारी लिन काउन्सिलिङ भइरहेको उनले बताए।
‘विश्वास गरेर काम गर्न भारत ल्याउने व्यक्तिले कोठीमा बिक्री गरेपछि उनीहरु धेरै डराएका छन्,’ चतुर्वेदीले भने, ‘उनीहरुलाई बिस्तारै विश्वासमा लिएर जानकारी लिने प्रयास जारी छ।’
उमेर नपुगेकालाई जबर्जस्ती यौनधन्दामा लगाएको आरोपमा तीन जना कोठी सञ्चालिकासहित १६ जनालाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ।
सोही संस्थाले जेठ १९ मा मुम्बईको भिवन्डीस्थित यौनबजारबाट यसरी नै प्रलोभनमा पारेर नुवाकोट र सिन्धुपाल्चोकबाट लगिएका १२ युवतीको उद्धार गरेको थियो। संस्थाका अनुसार उनीहरु सबैलाई बालबालिका हेर्ने कामका लागि भन्दै दलालले उनीहरु बसेको क्यापमै पुगेर फकाई–फुल्याई मुम्बई ल्याएर कोठीमा बिक्री गरेका थिए।
‘भूकम्पले घर भत्किएर खानेकुरासमेत नपाएपछि काम गर्न भारत आउन राजी भएको बताए पनि उनीहरुले कसले ल्याएको भन्ने खुलाएका छैनन्। ‘भूकम्पले घर भत्काएकाले बस्ने ठाउँ पनि छैन, आमाबाबु गरिब छन्, काम पाइन्छ भनेर आएको, बेचिदिएछ,’ उद्धार गरिएका युवतीको भनाइ उद्धृत गर्दै चतुर्वेदीले भने।

राहतकर्ताको आवरणमा दलाल

मुम्बई र आगराका कोठीमा पुगेका युवतीहरु राहतकर्ताका रुपमा गाउँ आएका दलालको विश्वासमा परेर स्थलमार्ग हुँदै भारत पुगेका हुन्। दलालले भारतमा बालबालिका हेर्ने कामका लागि भन्दै फकाएर ल्याएको सोधपुछमा खुलेको पनि चतुर्वेदीले जानकारी दिए।
उनीहरुले दाल–चामलसँगै युवतीका आमा–बुबालाई केही रकमसमेत सहयोग भन्दै दिएका थिए। सहयोग गर्न आँगनमै आएको सहयोगीले सजिलो काम पाइन्छ सहयोग गर्छौं भनेपछि परिवारका सदस्यले पनि पत्याए र उनीहरुकै साथ लगाएर छोरीलाई पठाइदिएका थिए।
नेपाली दलालले ती युवतीलाई स्थलमार्ग हुँदै भैरहवासम्म आफैंले पुर्यापएर एक रात होटलमा राखेका थिए। भोलिपल्ट सीमा कटाएर भारतबाट आएका दलाललाई ती युवती जिम्मा लगाएर नेपाली दलाल यतै फर्किएको खुले पनि उनीहरुको नाम भने अझै खुल्न सकेको छैन।
फाउन्डेसनका अनुसार भारतका विभिन्न सहरमा रहेका कोठीमा एक लाखभन्दा बढी नेपाली यौनकर्मी छन्। अफ्रिकी र खाडी मुलुकमा रोजगारी र डान्सबारमा नेपाली युवतीको माग बढेपछि पछिल्लो समय भारतको दिल्ली हुँदै ती देश पुग्ने नेपाली युवतीको संख्या बढेको थियो।
शक्तिशाली भूकम्पपछि भारतको उत्तरप्रदेशको इलाहाबाद, मेरठ, आगरालगायत यौनबजारमा समेत नेपाली युवती आउने क्रम बढेको सूचना आएको चतुर्वेदीले जानकारी दिए।

-नागरिक न्यूजबाट

Share.

Leave A Reply