१५ वैशाख २०८१

स्विट्जरल्याण्डमा तीज मनाईयो (फोटोफिचर सहित)

0

जुरीख। लगातार दुई बर्षसम्म कोरोनाको त्रासले नेपाली दिदीबहिनीहरुको दिल खोलेर तीजमा कम्मर मर्काउन पाएनन्। तर यो बर्ष भने स्विट्जरल्याण्डमा रहेका नेपाली दिदीबहिनीहरुले धितमर्ने गरी नाचगान र हर्षोउल्लासका साथ तीज मनाएका छन्। एनआरएनए स्विट्जरल्याण्ड र महिला फोरमको संयुक्त आयोजनामा शनिवार जुरीखमा सम्पन्न तीज विशेष कार्यक्रममा दिदीबहिनीहरु रातैराता पहिरनमा सजिएर गीत संगीतमा रमाएका थिए।

कार्यक्रममा युरोप भ्रमणमा रहेकी चर्चित लोक तथा दोहोरी गायिका रिता केसीले आफ्ना लोकप्रिय गीतहरु सुनाईन्। चार बर्ष अघि पनि स्विट्जरल्याण्डमा आएर प्रस्तुति राखिसकेकी गायिका केसीले स्विट्जरल्याण्डबासी दिदिबहिनीलाई पुरानै पलहरु स्मरण गराईन्। उनले तीजे भाकाहरु सुनाउदा दिदीबहिनीहरुले धितमर्ने गरी कम्मर मर्काए। कार्यक्रममा गायिका केसीसँग स्थानीय कलाकार नवराज घिमिरेको डाँडा घरे साँईली भाकामा दोहोरी घम्साघम्सी समेत चलेको थियो। कार्यक्रममा नारायण थापाको नृत्य र अष्ट्रिया निवासी निर्मला डंगोलको प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो।डिजेको प्रस्तुतिले पनि तीज कार्यक्रम संगितमय बनेको थियो।

एनआरएनए स्विट्जरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामाले कार्यक्रम ऎतिहासिक भएको भन्दै उपस्थिति नेपाली समुदायप्रति आभार प्रकट गरिन्। ‘हामी नेपाली कला र संस्कृतिको संरक्षणका लागि आउदा दिनहरुमा पनि आफ्नो चाडपर्व र रहनसहन झल्कने यस्ता कार्यक्रमहरुको आयोजना गरिरहने छौ।’ अध्यक्ष लामाले भनिन्, ‘ दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई समेत यस्ता कार्यक्रमले नेपालप्रतिको माया झनै प्रगाढ हुनेमा हामी विश्वस्त छौ।’

कार्यक्रममा महिला फोरम स्विट्जरल्याण्डकी संयोजक चम्पा ज्ञवाली रुकस्टुले उपस्थिति सबैलाई मन्तब्य मार्फत स्वागत गरेकी थिइन्। आईसिसि सदस्य सिमा गौतम शिव पूजामा सहभागी बनिन्। तीजको अबसरमा सहभागीहरुलाई आयोजकले दरको समेत ब्यबस्था गरेको थियो।

Share.

Leave A Reply