१७ वैशाख २०८१

प्रचण्ड–माधव समूहद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

0

काठमाण्डौ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रतिनिधि सभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–माधव पक्षले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

पुस २० देखि माघ २३ गतेसम्म आन्दोलनका कार्यक्रमहरू देशव्यापी रुपमा आयोजना गरिने सो समूहले कार्यक्रम सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा प्रचण्ड–माधव सूमहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभालाई सूचारु नबनाउँदा सम्म आन्दोलन जारी राख्ने बताउनुभएको छ । सरकारको असंवैधानिक कदमको विरुद्धमा जनतालाई सुसूचित बनाउने र जनदवाव सिर्जना गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘असंवैधानिक रुपमा विघटन गरेको प्रतिनिधि सभालाई सुचारु नबनाउँदा सम्म र त्यसले सिर्जना गरेको प्रतिगमनको खतरालाई निस्तेज नपार्दा सम्म जारी रहने छ । त्यसैले यो आम जनतालाई सुसूचित गर्ने र संघर्षमा उतार्ने र व्यापक जनदवाव सृष्टि गर्ने कार्यक्रमको रुपमा आएको छ । घटनाक्रमको विकास सँगसँगै जनतालाई आन्दोलित गर्दै जुन प्रकारका संघर्षका रुपहरु हामीले दिनुपर्छ त्यो पछिल्लो दिनहरुमा दिनेछौं । तर हाम्रो आन्दोलनको कार्यक्रम पूर्ण शान्तिपूर्ण हुनेछ ।’

संयोजक श्रेष्ठले संवैधानिक अंगहरुलाई दवावमा राखेर काम गर्ने स्थिति नहोस भनेर खबरदारी गर्न समेत जनदवाव दिन आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको बताउनुभयो । सरकारको हस्तक्षेप र दवाव नहोस र संवैधानिक अंगका पदाधिकारीलाई अपमानित गर्ने स्थिति नहोस भनेर वातावरण बनाउन चाहेको पनि बताउनुभयो ।

‘संविधान अन्तरगत क्रियाशिल संविधानले प्रस्ट आ–आफ्नो कार्यक्षेत्र परिभाषित गरेका संवैधानिक अंगहरुलाई कुनैपनि कोणबाट दवावमा राखेर काम गर्ने स्थिति उत्पन्न हुन दिन चाहन्नौ । त्यसैले हाम्रो पार्टीले यो संघर्षको कार्यक्रम मार्फत जनदवावको वातावरण निर्माण गर्ने दायित्व पुरा गर्दैछौं ।’ उहाँले भन्नुभयो ‘संविधान अन्तर्गत क्रियाशिल संवैधानिक अंगहरुले स्वतन्त्र ढंगले काम गर्ने वातावरण निर्माण होस । हस्तक्षेप र दवाव कहिं कतैबाट नहोस र संवैधानिक अंगका पदाधिकारीहरुलाई संवैधानिक अंगहरुलाई अपमानित गर्ने, अवहेलना गर्ने हाम्रो सेटिङमा काम गर्छ भनेर प्रचार गर्ने जस्ता कामहरु गर्न नपाओस । उहाँहरुले स्वतन्त्र र स्वच्छ ढंगले आफ्नो काम निर्वाह गर्न सकोस । त्यस्तो वातावरण जनताले निमार्ण गरिदिनेछ ।’

यस्तै नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर संयुक्त आन्दोलन गर्ने प्रयास गरिए पनि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नसकिदा कांग्रेसले रुची नदेखाएको पनि संयोजक श्रेष्ठले बताउनुभयो । प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक हो भन्नेमा समान धारणा रहेको तर कांग्रेसले केन्द्रीय कमिटीले निर्णय नगरेका कारण संयुक्त संघर्षका कार्यक्रम घोषणा गर्ने स्थिति नरहेको बताउनुभयो । तर सबै पार्टीले आ–आफ्नो ढंगले कार्यक्रम जारी राख्ने पनि बताउनुभयो ।

Share.

Leave A Reply