०१ जेठ २०८१

स्विट्जरल्याण्डमा बस्ने नेपालीहरुमा पनि देखियो कोभिड-१९ पोजेटिभ

0

जुरिख। कोरोना भाईरस (कोभिड-१९)को संक्रमण स्विट्जरल्याण्डको नेपाली समुदायमा पनि देखिएको छ। एकै परिवारका ३ जनालाई संक्रमण भेटिएको नेपाली समाजका अगुवाहरुले बताएका छन्। पोजेटिभ रिजल्ट कहीँले आएको भन्ने बारे यकिन जानकारी नभएपनि गत साता नेपाली समुदायलाई घटनाबारे जानकारी भएको थियो। अस्पतालको निगरानीमा उनीहरू अहिले घरमै सेल्फ आईसोलेसनमा बसिरहेका छन्।

परिवारमा एक सदस्यलाई सुरुवातमा ज्वरोको लक्षण देखिएको थियो। केहि दिनपछि अन्य दुईमा पनि देखिएपछि स्वास्थ्य जाँच भएको बताइन्छ। उनीहरूको अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम घरमै आईसोलेसनमा छन्।

संक्रमित परिवारले नेपाली समुदायलाई सजक र सचेत रहन अनुरोध समेत गरेका छन्। आफूहरूलाई सामान्य लक्षणमात्र देखिएको र छिट्टै निको भएको खुशी समेत व्यक्त गरेका छन्। प्रत्येक व्यक्ति र उसको प्रतिरक्षा शक्ति फरक हुने हुँदा गम्भीर लक्षण देखा परी अस्पतालसमेत भर्ना हुनुपर्ने भएकाले सबैलाई सजग र सुरक्षित रहन उनीहरुको अनुरोध छ।

स्रोतका अनुसार स्विट्जरल्याण्डमा अन्य दुईजना नेपालीहरूलाई समेत कोभिड-१९ को संक्रमणको आंशका गरिएको छ। यद्यपि यसबारे पुष्टि भइसकेको भने छैन।

यसअघि एनआरएनए स्विट्जरल्याण्डले एक विज्ञप्ति जारी गर्दै नेपाली समुदायमा कुनै पनि सक्रमण नदेखिएको जनाएको थियो। संघको तर्फबाट केन्द्रिय राहतकोषमा ५ सय स्विसफ्रेन्क सहयोग गर्ने जनाएको छ। एनआरएनए आईसीसी सदस्य भूमिराज गुरुङले ३ सय स्विसफ्रेन्क र संघका अध्यक्ष शिव सुब्बाबाट १ सय ५० स्विसफ्रेन्क थपेर झण्डै १ लाख रुपैयाँ केन्द्रीय आपत्कालिन कोषमा पठाउने संघले विज्ञप्तिमा उल्लेख गरेको छ।

स्विट्जरल्याण्डमा हालसम्म २४ हजार मानिसहरुमा कोभिड-१९ को संक्रमण भेटिएको छ। झण्डै एक हजार जनाले ज्यान गुमाई सकेका छन्। तर १० हजार भन्दा बढी मानिसहरु निको भई सकेका छन्। झण्डै ५ सयको संख्यामा नेपालीहरुले बसोबास गर्ने ठानिएको छ।

Share.

Leave A Reply