१६ वैशाख २०८१

प्रक्रियामा नचलेका खेल संघहरुको सेवा सुविधा खारेज गर्छु ः सदस्य सचिव सिलवाल

0

पोखरा-राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले विधि र प्रक्रियामा नचल्ने खेल संघको सुविधा खारेज गर्ने उद्घोष गरेका छन् । खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा विहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले विधि र प्रक्रियामा नचलेका खेल संघहरुले पाउँदै आएको सेवा सुविधा खारेज गर्ने बताएका हुन् । जसले खेल संघ नवीकरण गर्दैन, जसले अडिट गर्दैन, त्यसलाई विदेश जानबाट बञ्चित गरिन्छ,‘उनले भने,‘चाहे जतिसुकै त्यस संघका खेलाडीहरु, खेल संघका पदाधिकारीहरु उनीहरुलाई विदेश जान रोक लगाइन्छ, ति खेल संघले खेलकुद परिषदबाट लिने सुविधाहरु ग्रहण गर्न पाउँदैनन् ।’ उनले पहिलेपहिले फलानो फलानो खेल संघलाई अनुदान दिने भनेर अनुदान वितरण गर्नेगरिएपनि आफूले त्यसरी दिइने अनुदान कटौती गरिदिएको बताए । ‘मैले यो गरेँ भनेर एउटापनि काम भन्न सक्दैनौ, यो गर्छु पनि भन्न सक्दैनौ, भने त्यो संघलाई रिवार्ड गरेर के काम’–उनले भने ।

सदस्य सचिव सिलवालले म्याद गुज्रेका खेल संघले नवीकरण नगरे वा अधिवेशन गरेर नया नेतृत्व नल्याए त्यसको बारेमापनि चाँडै निर्णय लिने बताए । सम्भवतः त्यस्ता खेल संघ खारेज हुने उनले बताए । जसको मिति सकिएको छ, त्यसले चुनाव गराउ र नया नेतृत्व लिएर आउ भनेर भनेको छु,‘उनले भने, ‘यति गर्दापनि भनेजसरी अगाडि बढ्दैनन् भने खेलकुद परिषदले त्यसबारे छिट्टै सोंच्नेछ र निर्णय गर्नेछ ।’ आफूले अधिवेशन गर्न निर्देशन दिएपछि जिम्न्यास्टिक र भारोत्तोलन संघको अधिवेशन भएर नया नेतृत्व आएको, स्विमिङले चुनावको घोषणा गरेको बताउँदै ह्याण्डबल र टेनिस संघ अधिवेशनको तयारीमा जुटेको जानकारी दिए ।

आफू आएपछि सबै खेल संघहरुलाई पत्र काटेरै ३ वर्षमा के के गर्नु भो र अबको वर्ष के के गर्ने हो ? भनेर कार्यक्रमको कार्यतालिका नै मागेको उनले जानकारी दिए । यसरी कार्यतालिका मागेका खेल संघ मध्ये हालसम्म ९० वटा खेल संघले रिपोर्ट बुझाइसकेका छन्,‘उनले भने,‘तीन वटा पत्र काटेपछि ७० वटा खेल संघले तेह्रौ साग अघि रिपोर्ट बुझाए, चौथो पत्र थमाएपछि साग पछाडि २० वटाले बुझाए ।’ उनले खेल संघ हडपेर मात्रै बसेर काम केहिपनि नगर्ने हो भने खेलकुदको विकास नहुने बताए ।

सदस्य सचिव सिलवालले आफू नवौं खेलकुद भन्दापनि दशौं खेलकुदमा केन्द्रीत भएको बताए । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने र यसका लागि खेल पूर्वाधार भएकाले सहजै हुने भएकाले दशौं खेलकुदका लागि आफू केन्द्रीत भएको स्पष्ट पारे । २०७९ सालमा हुने दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुन्छ,‘उनले भने,‘तर त्यहाँ पूर्वाधार छैन, पूर्वाधार निर्माण नभई खेल हुँदैन, त्यसैले दशौं खेलकुदलाई लक्षित गरेर पूर्वाधार निर्माण गर्न ध्यान केन्द्रीत छ, त्यसका लागि अहिले देखि नै हामी लागेका छौं ।’ उनले कर्णाली प्रदेशमा हुने खेलकुदका लागि पूर्वाधार निर्माण गर्न टेण्डर शुरु भइसकेको जानकारी दिए ।

सदस्य सचिव सिलवालले तेह्रौं सागपछि खेलकुदका गतिविधि बढेको दाबी गरे । तेह्रौं सागपछि खेलकुदमा लगानी ग¥यो भने प्रतिफल दिने रहेछ भन्ने सबैले महशुष गर्नु भएको छ,‘उनले भने,‘खास गरेर संघ, प्रदेश र स्थानिय सरकारसहित नागरिक समाज र लगानीकर्तालेपनि खेललाई बुझेर गतिविधि बढाएका छन् ।’ तेह्रौं साग भव्य रुपमा सफल भएकोमा गर्व गर्नुपर्ने भएपनि त्यसैलाई गीत गाएर बसिरहनु भने उपयुक्त नहुने बताए । उनले आफू अबको डेढ महिना भित्रमा ७७ जिल्लामै पुगेर कुन खेलको विकासका लागि कहाँ कहाँ के गर्ने भनेर बुझ्ने बताए ।

सदस्य सचिव सिलवालले आगामी २०२० को जुलाइमा हुने ओलम्पिकमा कतिजना वाइल्ड कार्डबाट खेल्न पाउने निश्चित नभएकाले २० जनालाई राखेर प्रशिक्षण सञ्चालन भइरहेको उनले बताए । सेलेक्सनबाट पर्ने सम्भावना नभएकाले वाइल्ड कार्डको सहायता लिन बाध्य हुनुपरेकाले जो जो पर्ने सम्भावना छन् उनीहरु सबैलाई प्रशिक्षण दिइन थालेको उनको भनाई छ । पछि जोजो छनौट हुन्छन् उनीहरुलाई विदेशमा लगेरसमेत प्रशिक्षण गराइने उनले बताए ।

सदस्य सचिव सिलवालले पोखरा रंगशाला भित्र गल्फ कोर्षसमेत निर्माण गरिने बताए । रंगशाला भित्रै २ वटा होल भएको गल्फ कोर्ष निर्माण गर्ने र यो सिक्ने थलोको रुपमा विकास गरेर जान्ने भएपछि अर्को ठाउँमा लगेर खेलाउने ब्यबस्था गरिने बताए । त्यस्तै हिटिङ स्विमिङको टेण्डर बैशाख भित्रै गरेर निर्माण शुरु गरिने तथा सुटिङ रेञ्जको डिजाइन बनेपनि माथिल्लो भाग केहि हेभी भएकाले रिडिजाइन गर्न लगाएकाले त्यसको रिडिजाइन आएलगत्तै टेण्डर गरिने बताए ।

सदस्य सचिव सिलवालले फागुन २२ गतेदेखि सहारा क्लव पोखराको आयोजनामा हुने आहा ! रारा गोल्डकप प्रतियोगिता पोखरा रंगशालामै गर्न दिइने बताए । फुटबल रंगशालाको प्याराफिट निर्माण भइरहेपनि निर्माण कार्य रोकेर खेल खेलाउन दिइने उनले बताए । १३ हजारको प्याराफिट निर्माण भइसक्ने भएकाले खेल खेलाउन दिइने र पछि पुनः निर्माण गरेर २० हजार क्षमताको प्याराफिट बनाइने उनले बताए ।

Share.

Leave A Reply