२० वैशाख २०८१

स्विट्जरल्याण्डमा घरघरमा देउसी- भैलो (भीडियो सहित)

0

जुरीख। हर्ष उल्लाससहित तिहारको रन्कोले घरदेशलाई ढपक्क बालेको बेला परदेश पनि अछुतो छैन। दोस्रो पुस्ताका नेपाली बालबालिकाहरु सहित युरोपका बिभिन्न देशहरुमा देउसी- भैलो कार्यक्रमहरु हुँदा तिहारको रन्कोले यता पनि छोएको हो।

परदेशमा व्यस्त समयका बाबजुत पनि नेपालीहरू आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन पछि परेका छैनन्। आ-आफ्नो समय अनुकुल जमघट तथा रमाइलो गर्दै यतिबेला तिहार मनाईरहेका छन्। युरोपका बिभिन्न मुलुकहरुमा नेपाली परम्परा अनुसार नै देउसी-भैलोका कार्यक्रमहरु भईरहेका छन्।

झन्डै ६ सय नेपालीहरुको संख्या रहेको स्विट्जरल्याण्डमा पनि घर- घरमा नै पुगेर यसपटक देउसी-भैलोको आवाज गुञ्जियो। झण्डै ५ दशकदेखि नेपालीहरुको बसोबास रहेको स्विट्जरल्याण्डकै ईतिहासमा घर -घरमा पुगेर देउसी-भैलो खेलेको सम्भवत: यो पहिलोपटक हो।

मुना भट्टराई आचार्य र ज्योती पुनको पहलमा देउसी भैलो कार्यक्रमको आयोजना भएको थियो।  कार्यक्रमको संयोजन गरेकी मध्येकी एक आचार्य भन्छिन् “ हामी संख्यात्मक रुपमा स्विट्जरल्याण्डमा अलि कम नै छौ। तर हाम्रो संस्कृति र परम्परालाई निरन्तरता दिनु हाम्रो कर्तब्य नै हो। त्यसैले पनि घर-घरमा नै पुगेर देउसी खेल्न पुग्यौ।”

देउसी टोलीमा झन्डै १० जनाको मात्र संख्या थियो। कतिपयले देउसी भैलो कार्यक्रममा सहभागिता जनाउने ईच्छा हुँदाहुदै पनि सहभागिता जनाउन नपाएको गुनासो ब्यक्त गरेका छन्। “ नेपालमा जस्तै घरघरमा पुगेर देउसी खेल्ने अनुभव हामीले यहाँ पहिलो पटक लिएका हौ। सबैको घर फराकिलो हुँदैन। त्यसैले पनि ठुलो समूहमा जाँदा अप्ठारो हुन्छ कि भन्ने डर थियो। यसपटकको अनुभवसँगै आउने बर्षहरुमा ईच्छुक साथीहरुलाई पनि समेट्ने छौ।” आचार्यले प्रष्टिकऱण दिईन्।

टोलीले स्विट्जरल्याण्डको बासेल, आराउ, डेलेमो र जुरीख शहरहरुमा रहेका नेपालीहरुको घर- घरमा नै पुगेर देउसी-भैलो खेलेको थियो। दोस्रो पुस्ताका बालबालिकाहरु पनि सहभागी बनेकाले उनिहरुलाई नेपाली कला, संस्कृती र भाषा सिक्न प्रेरित गर्ने ठानिएको छ।

Share.

Leave A Reply