१९ वैशाख २०८१

स्विटजरल्याण्डमा होटल म्यानेजमेन्ट पढ्ने ? ख्याल गर्नोस्, ठगिएला

0

अर्जुन बस्ताकोटी/डा. विनय श्रेष्ठ

स्विटजरल्याण्डका नेपालीहरुको ४५ वर्षे इतिहासमा यहाँको नेपाली समाजको उल्लेख्य अंशका रूपमा नेपाली विद्यार्थीहरु रहेका छन्। स्विटजरल्याण्डमा विज्ञान, प्रविधि, वाणिज्य, प्रशासन, होटल व्यवस्थापन, आतिथ्य-सत्कार व्यवस्थापन र अन्य विषयहरुमा अध्ययन गर्न नेपाली विद्यार्थीहरु आउने गरेका छन् । तिमध्ये अधिकांश विद्यार्थीहरु होटल म्यानेजमेन्ट र आतित्थ सत्कार अध्ययन गर्न आउँछन् ।

स्विटजरल्याण्डको प्रत्यक्ष प्रजातान्त्रिक शासन प्रणाली, स्विस चकलेट र घडी विश्व प्रख्यात छन् । स्विस गुणस्तर र पङ्चुवालिटी स्विसहरुले गर्व गर्ने विषयहरु हुन् । स्विटजरल्याण्डका मनोरम सुन्दर दृष्यहरुको प्रसिद्धिले गर्दा धेरैले जीवनमा एकपटक स्विटजरल्याण्ड भ्रमण गर्ने मनोकांक्षा राख्दछन् ।

स्विटजरल्याण्डले आफ्ना पर्यटकीय स्थलहरुको विश्वव्यापी रुपमा प्रभावकारी मार्केटिङ गरेको पाईन्छ । यहाँको स्तरिय र महंगो पर्यटन क्षेत्रको माग पुरा गर्न होटल र आतिथ्य-सत्कार व्यवस्थापनमा उच्च तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गर्नु स्विटजरल्याण्डको आवश्यकता हो । यस क्षेत्रमा पनि स्विस गुणस्तर एक ब्र्याण्ड कै रुपमा विकसित छ। त्यसैले बर्सेनी संसारभरबाट यी विषयहरुमा तालिम लिन र अध्ययन गर्न हजारौंको संख्यामा विद्यार्थीहरु स्विटजरल्याण्ड आउँछन् ।

स्विस अर्थतन्त्रर पर्यटन क्षेत्र

मोट्टा नालुन्स्, ग्राउबुण्डनबाट देखिने एक दृष्य

मोट्टा नालुन्स्, ग्राउबुण्डनबाट देखिने एक दृष्य

स्विटजरल्याण्डको अर्थतन्त्रमा पर्यटकीय क्षेत्रको महत्त्वपूर्ण योगदान छ । एक तथ्याङ्कका अनुसार सन् २०१४ मा स्विस पर्यटनबाट ३८.५ बिलियन स्विसफ्र्याङ्क (फ्र्याङ्क र अमेरिकन डलरको मूल्य उस्तै छ) राजस्व उठ्यो । लगभग ८० लाख जनसंख्या भएको स्विटजरल्याण्डमा २ लाख १० हजार जना पर्यटन क्षेत्रमा कार्यरत छन्।

पर्यटन क्षेत्रलाई टेवा पु‍र्‍याउने होटल र रेष्टुरेन्टहरुको यहाँ विशाल सञ्जाल छ । स्विस पर्यटनको संरचना तथा पूर्वाधार विभागका अनुसार स्विटजरल्याण्डमा २८ हजार ८५५ रेष्टुरेन्टहरु र ५ हजार १२९ होटलहरु संचालित छन्। जुन यहाँको पर्यटनको रक्तसंचार हो । स्वीस पर्यटनको राष्ट्रिय महत्त्व र अन्तर्राष्ट्रिय ख्यातिका कारण होटल म्यानेजमेन्ट सम्बन्धि विषयमा ज्ञान हासिल गर्न चाहनेहरुका लागि स्विटजरल्याण्ड एक उत्कृष्ट गन्तब्य हो।

स्विटजरल्याण्डमा हासिल गरिने कार्य कुशलता

स्विटजरल्याण्डमा अध्ययन र काम गर्दा सिकिने सबैभन्दा महत्त्वपूर्ण विषय भनेको यहाँको कार्यशैली, कार्यपद्धति र कामकाजी संस्कृति हो । जागिरमा ठीक समयमा पुग्ने र तोकिएको समयमा सक्ने संस्कृति स्विस जीवनको एक चर्चायोग्य पाटो हो । बाबु-आमा बिरामी भएर अस्पताल भर्ना हुँदा बरु छोरा-छोरी समयमै भेट्न जान नसक्लान् तर आफ्नो पेशामा स्विस नागरिकहरु ज्यादै कर्तव्यनिष्ठ हुन्छन् ।

अझ प्रष्ट रूपमा भन्दा हामीले टेबुल पुछ्दा केवल टेबुल पुछ्छौं, तर स्विसहरु टेबुल टल्काउँछन्। हामी खाना खाने काँटा-चम्चा सफा गर्छौं, स्विसहरु चम्काउँछन्। हरेक पेशामा व्यवसायिकता र ग्राहक-केन्द्रित सेवा यहाँको विशेषता हो।

अध्ययनका अवसरहरु, अध्यापन भाषा र खर्च

स्विटजरल्याण्डमा होटल र आतित्थ सत्कारका विषयमा अध्ययनका लागि प्रशस्त अवसरहरु छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुकालागि निजी क्षेत्रबाट संचालित थुप्रै कलेजहरु छन् । ति कलेजहरुमा अंग्रेजी भाषामा अध्यापन गराइन्छ । मुख्यत: डिप्लोमा, स्नातक र स्नातकोत्तर स्तरका कोर्षहरु संचालनमा छन् ।

Arjun-Bअर्जुन बस्ताकोटी र डा. विनय श्रेष्ठastakoti-and-Binaya-Shresthडिप्लोमा लिने तालिम पुरा गर्न १ वर्ष, स्नातक स्तरको कोर्ष पुरा गर्न ३ वर्ष र स्नातकोत्तरको लागि १ वा २ वर्ष लाग्दछ । अध्ययन अवधिको ५० प्रतिशत समय सैद्धान्तिक शिक्षा हासिल र ५० प्रतिशत समय चाहिँ व्यवहारिक ज्ञानका लागि इन्टर्नसीप गर्नुपर्दछ।

विद्यार्थीको व्यक्तित्व, अंग्रेजी वा स्थानिय भाषाको दखल र पेशागत अनुभवका आधारमा इन्टर्नसीप प्राप्त गर्न सहज वा कठिन हुन सक्दछ । तिनै गुणहरुका आधारमा कमाई पनि न्यून वा सन्तोषजनक हुन सक्दछ । चलनचल्तिअनुसार इन्टर्नसीप गर्दा मासिक १ हजारदेखि २ हजार स्विस फ्र्याङ्कसम्म जिविकोपार्जनका लागि कमाई हुन सक्छ। तर इन्टर्नसीप गर्ने ठाउँकै समिपमा कोठा भाडामा लिनुपर्दा खर्चिलो हुनसक्छ ।

अध्ययनको समयमा प्राय: विद्यार्थीहरु कलेजकै होस्टलमा बस्ने र त्यहीँ खानपिन गर्ने हुँदा बसाई, खानपिन र पढाई खर्च एकमुष्ट बुझाउनु पर्ने हुन्छ । कलेज अवस्थित ठाउँ, कोर्षको स्तर र अन्य विविध पक्षहरुका आधारमा कलेजहरुले अध्ययन शुल्क तोकेका हुन्छन्।

तीन वर्षे स्नातक स्तरको कोर्षका लागि लगभग ५० हजारदेखि ७० हजार स्विस फ्र्याङ्क र एक वर्षे स्नातकोत्तर स्तरको कोर्षका लागि १८ देखि ६४ हजार स्विस फ्र्याङ्कसम्म लाग्दछ । त्यसबाहेक विद्यार्थीहरुले यातायात, लुगाफाटो, मनोरन्जन र पकेट खर्चका लागि पनि जोहो गर्नुपर्दछ । समग्रमा ख्याल राख्नुपर्ने कुरा स्विटजरल्याण्डमा होटल र आतिथ्य सत्कार व्यवस्थापनको अध्ययन ज्यादै खर्चिलो छ ।

कानूनी समस्याहरुका कारण अध्ययनपश्चात् स्विटजरल्याण्डमै काम गर्ने अवसर पाउन एकदम मुस्किल छ

कानूनी जटिलता

अधिकांश नेपाली विद्यार्थीहरु इन्टर्नशिपको कमाईले अध्ययन शुल्क तिर्ने र अध्ययनपश्चात् स्विटजरल्याण्डमै काम गर्ने योजना बनाएर आउने गरेको पाइन्छ । अध्ययन सक्नु अगावै सोचे अनुसारको कमाई नहुनाले केही विद्यार्थीहरु अध्ययन शुल्क तिर्न नसकी अन्य राष्ट्रहरु (पोर्चुगल, स्पेन आदि)मा गैर-कानूनी रुपमा पलायन भएको पनि देखिएको छ । त्यसैगरी अध्ययनपश्चात् स्विटजरल्याण्डमै काम गर्न पनि कानुनी समस्याहरु छन् ।

अध्ययन सफलतापूर्वक पुरा गरे पनि स्विटजरल्याण्डमा ‘काम गर्ने अनुमति पत्र’ र ‘बसोबास गर्ने अनुमति पत्र’ सजिलै पाईंदैन । जसले गर्दा अधिकांश नेपाली विद्यार्थीहरु अध्ययनपश्चात् नेपाल फर्किन वा अन्य तेस्रो राष्ट्र जान बाध्य हुन्छन् । यही कानूनी जटिलता र खर्चको समस्याका कारण स्विटजरल्याण्डमा कयौं विद्यार्थीहरुले दु:ख पाएका छन्।

नक्कली र ठगी गर्ने कलेजदेखि सावधान

अन्तर्राष्ट्रिय विद्यार्थीहरुकालागि संचालित अधिकांश कलेजहरु निजी क्षेत्रबाट संचालित छन् । एसियाली मूलकै केही मुनाफाखोरहरुले २-४ वटा कोठामा कलेज खोली वा ति कलेजहरुको एजेन्ट बनी नेपालबाट पनि विद्यार्थिहरु ल्याउने गरेका छन् । यस्ता कलेजहरुमा आउने विद्यार्थीहरू ठगीका कारण ज्यादै दयनीय अवस्थामा रहेका पाइएको छ।

एकातर्फ महंगो तर निम्न स्तरको र त्यो पनि अनियमित अध्यापन, अर्कोतर्फ कामको खोजीमा आइपर्ने भाषागत एवं कानूनी बाधा-अड्चन र यहाँको खर्चिलो बसाई जस्ता समस्याहरुले धुरुक्कै बनाउँछ । त्यसैले यस्ता नक्कली र ठगी गर्ने कलेज र एजेन्टदेखि सबै सावधान रहनुपर्छ ।

यसबारे थप जानकारीका लागि स्विटजरल्याण्डको शिक्षा पद्धतिबारे डा. विनय श्रेष्ठद्वारा लिखित ‘यस्तो छ स्विटजरल्याण्डमा उच्चशिक्षाको नालीबेली‘मा पढ्न सकिन्छ ।

निचोड

स्विटजरल्याण्डमा होटल र आतिथ्य सत्कार व्यवस्थापन अध्ययनका लागि प्रशस्त अवसरहरु भएपनि अध्ययन शुल्क ज्यादै महंगो र बसाई खर्चिलो भएको वास्तविकता बिर्सनु हुँदैन । वास्तवमै यस क्षेत्रमा करिअर बनाउने र स्थापित हुने आकांक्षा भएका र अध्ययन अवधिको खर्च धान्न सक्नेहरुका लागि स्विटजरल्याण्ड अवश्य पनि एक उत्तम गन्तब्य हो । कानूनी समस्याहरुका कारण अध्ययनपश्चात् स्विटजरल्याण्डमै काम गर्ने अवसर पाउन एकदम मुस्किल छ ।

स्विट्जरल्याण्डमा होटल र आतिथ्य सत्कार व्यवस्थापन अध्ययन गरेकाहरु नेपाल र नेपाल बाहिर पेशागत रुपमा स्थापित भएका थुप्रै उदाहरणहरु छन् । पेशागत लगाव, केही हासिल गर्ने उत्कट ईच्छा, अध्ययनमा उत्कृष्ट नतिजा र आवश्यकता अनुसारको भाषामा दखल भएमा अवश्य पनि नेपालमा वा नेपाल बाहिर पेशागत सफलता हात पर्छ नै । तर युरोप छिर्नैको लागि मात्र स्विटजरल्याण्डमा होटल म्यानेजमेन्ट सम्बन्धि कोर्षमा भर्ना हुँदा ठूलो धनराशी खर्च हुने र बसाई सोंचेजस्तो फलदायी नहुने देखिन्छ ।

-अनलाइन खबर

Share.

Leave A Reply