१४ वैशाख २०८१

कोटा प्रणाली सुरु, ४०२ पेट्रोलियम ट्याङ्कर भारतीय सीमामा रोकिए

0

काठमाडौँ, असोज ११ गते । नेपाल आयल निगमले मौज्दात रहेको पेट्रोलियम पदार्थको आपूर्तिलाई व्यवस्थित तुल्याउन तथा न्यायोचित वितरणका लागि आजदेखि कोटा प्रणाली सुरु गरेको छ । ठूलो सङ्ख्यामा पेट्रोलियम पदार्थ भरेका ट्याङ्करहरू भारतीय सीमा नाकामा रोकिएपछि नेपाली बजारमा बढ्दै गएको पेट्रोलियम पदार्थको अभावलाई ध्यानमा राखी निगमसँग रहेको मौज्दात इन्धनबाट कोटा प्रणालीमार्फत वितरण सुरु गरिएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता दीपक बरालका अनुसार निजी सवारी साधनतर्फ प्रतिहप्ता मोटरसाइकललाई तीन लिटर तथा चारपाङ्ग्रे सवारी साधनलाई १० लिटर पेट्रोल उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । सार्वजनिकतर्फ ट्याक्सीलाई १० लिटर, माइक्रोबसका लागि १५ लिटर, मिनीबस र स्कुलबसका लागि २० लिटर र ठूला बसका लागि पनि प्रतिहप्ता ३० लिटर इन्धन कोटा तोकिएको छ ।

सार्वजनिक सवारी साधनले जोर–बिजोर प्रणालीअनुसार चलेको दिन तेल भर्न पाउने प्रवक्ता बरालले जानकारी गराउनुभयो । वितरण प्रणालीलाई सहज बनाउँदै पेट्रोलियम पदार्थको अभावको समस्यालाई न्युनीकरण गर्नका लागि कोटा प्रणाली सुरु गरिएको उहाँले बताउनुभयो ।

एकहप्ता यता भारतीय सीमा पारी ४०२ वटा पेट्रोलियम पदार्थ भरिएका ट्याङ्कर रोकिएका कारण नेपाली बजारमा इन्धन अभाव भएकाले त्यसलाई यथाशक्य छिटो सहज तुल्याउन पहल भइरहेको निगमले जनाएको छ ।

निगमले अत्यावश्यक काम बिना निजी सवारीसाधनको प्रयोग कम गर्न र सार्वजनिक सवारीको प्रयोग गर्न आग्रहसमेत गरेको छ । इन्धनको अभावका कारण पेट्रोलपम्पमा तेल भर्न सवारी साधनको अत्यधिक चाप रहेको छ । जोर बिजोर प्रणालीका कारण सार्वजनिक सवारी साधनमा यात्रुको अत्यधिक चाप देखिएको छ । रासस

Share.

Leave A Reply