०५ जेठ २०८१

डेनमार्कमा हुने नवौं युरोपेली क्षेत्रीय बैठकको सम्पूर्ण तयारी पुरा

0

बार्सिलोना। गैर आवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ। आगामी जुलाई ३० र ३१ तारिख डेनमार्कको कोपेनहेगनमा हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको हो।

“युरोपका नेपालीको अभियान: लगानी, पुनर्निर्माण र पर्यटन” भन्ने नारा सहित युरोपेली बैठक हुन लागेको हो। एनआरएनए युरोप क्षेत्रीय संयोजक तथा तयारी समितिका संयोजक कुल आचार्यले बैठकका लागि बिभिन्न क्षेत्रका उपसमितिहरुको तयारी पुरा भएको जनाएका छन्। संयोजक आचार्यले बैठकलाई सफल पार्न आफ्नो क्षेत्रबाट सहयोग पुर्याउँन सबैलाई अनुरोध गरेका छन्।

करिब सय ५० जना गैर आबासीयहरु सहभागी बन्दै,

संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलनको लागि युरोपका बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुबाट करिब २ सय ५० जनाले सहभागिता जनाउँने अनुमान गरिएको छ। तयारी समितिका सदस्य सचिव सोमनाथ सापकोटाले दिएको जानकारी अनुसार युरोपमा रहेका २७ राष्ट्रिय समन्वय परिषद मध्ये करिब २२ देखि २५ बटा देशहरुबाट सहभागि बन्ने अपेक्षा गरिएको छ।

सापकोटाका अनुसार बेलायतबाट ६० जना,जर्मनीबाट ३५ जना, बेल्जियम २० जना,स्बिजरल्याण्डबाट १३ जना,नर्बे, स्विडेन, फिनल्याण्डबाट गरी करिब १८ जनाले सहभागिता जनाउँने भएका छन्। युरोप क्षेत्रमा रहेका राष्ट्रिय समन्वय परिषदबाट हुने सहभागितालाई हेरेर २ सय ५० जनाको सहभागिता हुने बताईएको छ।

हिल्टन होटल आईसल्याण्ड अपार्टमेन्टहरु बुकीङ्

क्षेत्रीय बैठकमा सहभागी गैर आबासीय नेपालीहरुलाई डेनमार्कको हिल्टन होटलमा ५३ वटा कोठाहरु बुकिङ् गरिएको छ। थप कोठाहरु हिल्टन होटलमा नै बुक गर्न भने जटिल देखिएको छ। सहभागी हुने गैर आबासीयहरुले होटल बुकिङ् तथा रजिष्टेशन दर्ता समयमा नै नगरेका कारण हाल आएर महँगो पर्न गरेको बताईएको छ।

हिल्टन बाहेक आईसल्याण्ड होटल ,लगायत अपार्टमेन्टहरुमा समेत पाहुनालाई राख्ने ब्यबस्था गरेको आयोजकले जनाएको छ।

गैर आबासीय अभियन्ताहरुको बाक्लो उपस्थिति

युरोपेली क्षेत्रीय बैठकमा संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो,केन्द्रिय अध्यक्ष शेष घले, प्रमुख संरक्षक तथा पुर्ब अध्यक्ष जीवा लामिछाने,उपाध्यक्षहरु कुमार पन्त,भवन भट्ट, महासचिव सचिव अर्जुन कुमार श्रेष्ठ,महिला संयोजक सपिला राज भण्डारी,सह संयोजक रजनी प्रधान लगायत एनआरएन अभियन्ताहरुको बाक्लो उपस्थिति रहने भएको छ।

कार्यक्रमको उद्घाटन भने डेनमार्क स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदूत रामकाजी खड्का र एनआरएन अभियन्ताहरुले संयुक्त रुपमा गर्ने भएका छन्। यस्तै कार्यक्रममा नेपाल उद्दोग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका,महासंघका सदस्य चन्द्र प्रसाद ढकाल लगायत नेपालबाट पत्रकारहरुको पनि  सहभागिता रहने भएको छ।  

३३ हजार सय युरो प्रतिबद्दता रकम जुट्यो

यूरोपेली क्षेत्रीय बैठक सम्पन्न गर्नका लागि ३३ हजार ५ सय युरो प्रतिबद्दता रकम जुटी सकेको आयोजकले जनाएको छ। तर डेनमार्क अत्यन्त महंगो ठाउँ भएकाले करिब ६० हजार खर्च हुने अनुमान गरिएको छ।

सहभागिहरुको रजिष्टेशन शुल्कबाट बाँकी रकम जुट्ने अपेक्षा गरिएको सदस्य सचिव सापकोटाले बताए। डेनमार्कका लागि हवाई टिकट निकै महंगो भएकाले सहभागी गैर आबासीयहरुको खर्च भने यसपटक निकै बढ्ने देखिएको छ।

क्षेत्रिय बैठकका बीच डेनमार्कमा कार्यक्रम नै कार्यक्रम

संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन डेनमार्कमा हुँदै गर्दा अन्य कार्यक्रमहरुले गैर आबासीयहरु ब्यस्त हुने भएका छन्। शुक्रबार नेपाली जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको फुटबल प्रतियोगिताको फाईनल हुँदै छ। प्रतियोगितामा एनआरएनहरुको बाक्लो उपस्थिति हुने बताईएको छ। यस्तै शुक्रबार राति नै डेनमार्क स्थित नेपाली दूताबासले रात्रिभोजको आयोजना गरेको छ। क्षेत्रीय बैठक सम्पन्न पछि जुलाई २ तारिख भने ईनास डेनमार्कले नेपथ्यको कन्सर्ट पनि कोपेनहेगनमा नै गर्दै छ।

-नेपाली नेपाली डट कम

Share.

Leave A Reply